काठमाडौं / आन्दोलित पशुपति आर्यघाटका कर्मचारीहरू काममा फर्किएका छन् । सेवासुविधा वृद्धि लगायतका माग राख्दै आन्दोलित कर्मचारीहरूको मागमा पशुपति क्षेत्र विकास कोषसँग सहमति भएपछि आन्दोलन रोकिएको हो ।
पशुपति आर्यघाटस्थित घाट सेवा केन्द्रका कर्मचारीहरूले कालो ब्यानर टाँगेर बुधवार बिहानदेखि आन्दोलन थालेका थिए । ‘कामदारको माग पूरा नभएको हुँदा २०७६/०७/०६ गते बिहान ६ बजेदेखि माग पूरा नभएसम्म अनिश्चितकालसम्म शव दाह गर्ने, दाउरा बोक्ने, खाडल खन्ने कामहरू सबै बन्द रहनेछ,’ ब्यानरमा लेखिएको थियो ।
पशुपति क्षेत्र विकास कोषसँगको सहमतिपछि कर्मचारीहरूको सेवासुविधा वृद्धि भएको छ । कर्मचारीहरूले अवकाशमा पाउने रकम वृद्धि भएको छ । ३ वर्ष काम गरेर अवकाश लिनेहरूले यसअघि ५० हजार पाउने गरेकोमा अब १ लाख ५० हजार पाउने भएका छन् । यसैगरी १० वर्ष काम गरेर अवकाश पाउनेहरूले ७ लाख रुपैयाँ पाउने सहमति भएको आन्दोलनकारीका तर्फबाट वार्तामा सहजीकरण गरेका काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेश डंगोलले जानकारी दिए ।
दाहसंस्कारबापत कर्मचारीले यसअघि पाउँदै भत्ता पनि १२ सय रुपैयाँबाट बढेर १५ सय पुगेको छ । अब शवदाहबापत सेवाग्राहीले दिनुपर्ने शुल्क पनि बढेको छ । यसैगरी दाउरा र चपरीको मूल्य ४/४ सयबाट बढेर ६/६ सय पुगेको छ ।


















