वाम गठबन्धन देशको समृद्धिको लागि रहेको प्रचण्डको दाबि

207

चितवन / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समृद्धि ल्याउन वाम गठबन्धन बनाइएको जनाएका छन् । गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी चितवनले सोमबार भरतपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाललाई समृद्ध बनाउनुबाहेक गठबन्धनको अरु कुनै स्वार्थ नरहेको दाबि गरेका छन् ।

‘नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो मनसाय अरु केही छैन,’ उनले भने । साथै प्रचण्डले अहिलेको मिसन नै राष्ट्रिय एकता र समृद्धि भएको उल्लेख गरेका छन् । वस्तुस्थिति र राष्ट्रको आवश्यकतालाई आंकलन गरेर नै वाम एकता भएको औंल्याउँदै उनले अहिले देशमा उत्साह र उमंगको लहर छाएको दाबी समेत गरेका छन् ।

गठबन्धनका तर्फबाट चितवन– ३ को उम्मेदवारसमेत रहेका अध्यक्ष प्रचण्डले कांग्रेस, राप्रपाभित्रका देशलाई माया गर्ने नेता÷कार्यकर्ता पनि गठबन्धनप्रति सकारात्मक रहेको जिकिर गरेका छन् । राप्रपा (प्रजातान्त्रिक)का चितवन जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना माओवादी केन्द्रमा प्रवेश गर्नु त्यसैको उदाहरण भएको उनको भनाइ छ ।

साथै उनले देशमा नयाँ मोडलको समाजवाद ल्याउन एमाले र माओवादी एकता हुन लागेको सबैमा उद्धित गरेका छन् । दुई तिहाई बहुमत ल्याएर ८/१० वर्षभित्र समाजवाद ल्याउने प्रचण्डको जिकिर छ । प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाका गरी चितवनका ९ वटै क्षेत्र जित्ने अठोटका साथ चुनावमा होमिन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । कार्यक्रममा बोल्दै वाम गठबन्धनका तर्फबाट चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि गठबन्धन बनेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here