काठमाडौं / विप्लव नेतृत्वको नेकपाले नै बम विस्फोटका गतिविधि गरिरहेको हो भन्ने सरकारी आरोपमा यदि सत्यता छ भने विप्लव नेतृत्वको नेकपा निकै शक्तिशाली भइसकेको कुरालाई अब स्वीकार गर्न ढिला गर्नु हुँदैन । रुकुम, रोल्पामा जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’लाई निशाना बनाएर बम विस्फोट भएको घटना नसेलाउँदै पूर्वाञ्चल क्षेत्रका भोजपुर र संखुवासभामा पनि त्यस्तै प्रकृतिको घटना भएको छ । यी घटनाहरू विप्लव नेतृत्वको नेकपाले गराएको भन्दै सरकारले दमनको नीति अख्तियार गरेको छ । दमनको नीतिले थप उत्तेजना बढाउने काम गर्ने हुँदा सरकारले संयमता अपनाउन आवश्यक हुने विश्लेषकहरूले सुझाव दिएका छन् ।
भोजपुरमा गत मंगलबार एमाले नेता शेरधन राईलाई लक्षित विस्फोट गराइएको थियो भने सोही दिन संखुवासभामा ४ जना नेताहरू राजेन्द्र गौतम, इन्दिरा मिश्र, राजेन्द्र कार्की र पूर्ण राईलाई लक्षित गरी बम विस्फोट गराइएको छ । उनीहरू संखुवासभाकै धुपु भन्ने ठाउँबाट बाह्रबीसे जान लागेका थिए । बाह्रबीसेमा चुनावी सभाको आयोजना गरिएको जानकारी माओवादी केन्द्रका नेताहरूले दिएपछिसोही सभालाई सम्बोधन गर्नका लागि एमाले नेता राजेन्द्र गौतमसहित माओवादी केन्द्रका नेता तथा उम्मेदवारहरू जान लागेका थिए । सोही बेला ठूलो विस्फोटको आवाज आयो । विस्फोटबाट गाडीमा सामान्य क्षति पुगेको जनाइएको छ । घटनास्थलमा केहीबेर हेलिकप्टरबाट गस्ती पनि गरिएको थियो । प्रहरीले भने उक्त विस्फोट कसले र किन गराएको हो भन्नेबारे अझै खुलासा गरेको छैन ।

















