काठमाडौं / संसद्वादी राजनीतिक दलहरू प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राज्यको ढुकुटी रित्याएर देश दौडाहामा जुटिरहेका बेला निर्वाचनलाई बिथोल्ने अभियानका साथ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बम विस्फोटनका गतिविधिलाई तीव्र बनाउने काममा सक्रिय देखिएको छ । नेकपा माओवादीको १० वर्षे सशस्त्र युद्धबाट विकसित भएको नेपालको राजनीति संविधान निर्माणप्रक्रियापछि संविधान कार्यान्वयनको कष्टकर अभ्यासमा लागिरहेको बेला सशस्त्र युद्धबाटै निर्माण भएको जनशक्तिलाई संगठित बनाएर विप्लवको नेतृत्वमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले १० वर्षे युद्धकालका नेतृत्वकर्ता नेताहरूलाई नै निशाना बनाएर असन्तुष्टि व्यक्त गरिरहेको छ । जनयुद्ध स्थगन भएको पनि १२ वर्षे पुग्ने लागेको छ । १० वर्षे युद्धले निर्माण गरेको जनसेना विघटन गरिएको भए पनि जनतामा असन्तुष्टि व्यापक देखिन्छ । जनतामा रहेको असन्तुष्टिलाई सम्बोधन गर्न संसद्वादी दलहरू नितान्त असफल देखिएका छन् । असन्तुष्टिका नयाँ श्रृंखलाहरू थपिएका छन् । राजनीतिक पृष्ठभूमि नै नभएका व्यक्तिहरूले करोडौं लगानी गरेर पार्टीहरूमा कब्जा जमाउने वातावरण निर्माण भएको छ । यस्तो स्थितिले देश पुनः युद्धतर्पm आकर्षित देखिन थालेको छ ।
स्थानीय चुनाव सम्पन्न भएर जनप्रतिनिधिहरूबाट जनताका कामहरू हुनुपर्नेमा जनप्रतिनिधिहरूले त्यसतर्पm ध्यान दिएको पाईदैन । अब प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि जनताले के पाउलान् ? भन्ने आशंका पनि जनमानसमा व्याप्त पाइन्छ । राजनीतिक परिवर्तनले राजनीतिक निष्ठा भएका व्यक्तिहरूलाई भन्दा अराजनीतिक चरित्रका पेशेवर गुण्डाहरू, कमिशनखोरी तस्करहरू, ठेकेदारहरू, कालोबजारीमा कुख्याति कमाएका उद्योगपतिहरू, देशको पुँजी विदेशतिर पलायन गरी विश्व अर्बपतिमा दर्ज हुन पुगेका आर्थिक अपराधीहरूसमेतले राजनीतिक फाइदा लिन पाउने वर्तमान राजनीतिक परिवर्तन आम जनमानसका निम्ति आश्चर्यजनक भएको छ । राजनीतिक दलका नेताहरूले राजनीतिको अर्थ बुझ्न नसकेका हुन् अथवा बाह्य शक्तिको दवावमा यस्ता गतिविधि भइरहेका हुन् ? बुझिनसक्नु भएको छ ।
आगामी फागुन १ गते जनयुद्ध स्थगन भएको पनि १२ वर्ष पूरा हुँदैछ । तत्कालीन नेकपा माओवादीले सर्वहारा वर्गको मुक्तिका लागि भनेर सुरु गरेको जनयुद्धले २२आँै वर्ष पूरा गर्दैछ । सशस्त्र जनयुद्धका १० वर्ष र शान्तिप्रक्रियामा प्रवेश गरेको समेत १२ वर्षको अवधिलाई मूल्यांकन गर्ने हो भने देशमा कुनै पनि पक्ष सन्तोषजनक देखिंदैन । यस अवधिमा माओवादी पार्टी दर्जनौं चिरामा विभक्त भएर पुराना संसद्वादी राजनीतिक पार्टीहरूको चरित्र अवलम्बन गर्ने काममा बहुमतपक्ष लिप्त देखिन्छ । नेतृत्वपंक्तिको राजनीतिक विचलन यस्तो तीव्र गतिमा भइरहेको छ कि जसलाई अब सच्याउन सकिने अवस्था नै देखिंैन । जुन राजनीतिक विकृतिका विरुद्ध १० वर्षे सशस्त्र युद्ध भएको हो त्योभन्दा पनि विकृतिजन्य गतिविधिमा युद्धबाट आएका नेताहरू बदनाम भइरहेका छन् । यो स्थितिले पनि राजनीतिक परिवर्तनको नकारात्मक पाटोलाई संकेत गरिरहेको छ ।
युद्धबाट शान्तिप्रक्रियामा आएपछि युद्धकालीन एजेण्डाहरूलाई सम्बोधन गर्ने प्रयासतर्पm राजनीतिक दलहरूले ध्यान नपु¥याउँदा फेरि असन्तुष्टि पोखिन युद्ध सुरु हुने हो कि भन्ने आशंका पहिलेदेखि नै बढेको हो । संविधान कार्यान्वयन गर्ने नाममा हुन गइरहेको निर्वाचनका क्रममा भइरहेका बम विस्फोटका गतिविधिहरूले जनअसन्तुष्टिलाई सतहमा देखाइदिएको महसुस गर्न सकिन्छ । अझै पनि राज्यसत्तालाई बल प्रयोगको सिद्धान्तलाई नै प्राथमिकतामा राखेका पाइन्छ । रूपान्तरणका एजेण्डाहरूलाई सम्बोधन नगरेसम्म रूपान्तरणका लागि हुने आन्दोलनहरूलाई रोक्न सकिंदैन । रोक्न खोजियो भने आन्दोलनले हिंसाको बाटो अवलम्बन गर्छ भन्ने कुरा इतिहासबाटै सिद्ध भइसकेको कुरा हो । रूपान्तरणका लागि हतियार बोकेका नेताहरूले आत्मसात गरेको वर्तमान राजनीति परिपाटीलाई चुनौती दिंदै बम विस्फोट गर्नेसम्मका आन्दोलनहरू देशमा विकसित भइसकेपछि राजनीतिक दलका नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्दछ । चुनाव विगत युद्धकालमा पनि भएका हुन्, पञ्चायतकालमा भएका हुन् र प्रजातन्त्रकालका १२ वर्षमा पनि भएका हुन् । तर, कुनै चुनाव समस्या समाधानको माध्यम होइन भन्ने कुरा सम्पन्न भएका सबै चुनावहरूबाट पुष्टि भइसकेको छ । जनतामा असन्तुष्टि रहेसम्म चुनाव समस्या समाधानको बाटो बन्न सक्दैन भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको विषय हो ।
जनयुद्धको एउटा समूह जनयुद्धका कार्यभार पूरा नभएको भन्दै पुनः जनयुद्धकै लाइनमा हिँड्ने प्रयासमा छ । एउटा समूह जनयुद्धको आधारमा जनविद्रोहको लाइनलाई अंगालिरहेको छ । एउटा समूह सदन र सडकबाट बाँकी कार्यभारलाई पूरा गर्नुपर्ने मत राख्छ भने एउटा समूह त माओवादीबाट पतन हुँदै माक्र्सवादबाट पार नलाग्ने निष्कर्षसहित सिद्धान्तविनाको नयाँ शक्तिको दौडमा सामेल भइसकेको छ । माओवादीले सुरु गरेको जनयुद्धले जनताको अधिकार र राष्ट्रियतालाई प्रवद्र्धन गरेकाले केही दुःख र पीडाका बीच पनि जनतामा अधिकारप्रति सचेतना र मुलुकप्रतिको समर्पण बढेको थियो । यति मात्र होइन, अन्याय, अत्याचार र विभेदमा परेकाहरूलाई न्याय दिनेदेखि शोषक सामन्तहरूलाई कारबाहीको दायरामा ल्याएकै कारण तत्कालीन माओवादी जनयुद्धले सुरुमा सोचेभन्दा बढी सफलता हासिल गरेको थियो । जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा सुरुमा उठान गरिएका एजेण्डा र लक्ष्यभन्दा पनि माओवादी आन्दोलन जसका विरुद्ध गरिएको थियो, त्यही वर्गकै फाइदाका लागि भएको जस्तो वर्तमान अवस्थाले प्रमाणित गरिरहेको छ ।
माओवादी जनयुद्ध सुरु गर्नुपूर्व ४० बुँदे माग पेस गर्दै जनयुद्धको प्रारम्भ गर्ने दोस्रो कमाण्डर डा.बाबुराम भट्टराईको पतन र लगभग बाबुरामकै गन्तव्यमा भइरहेको प्रचण्डको पतनलाई खबरदारी गर्नुको साटो हनुमानगिरी शैलीमा समर्थन जनाउँदै माओवादीपंक्ति तीव्र राजनीतिक वैचारिक स्खलनतर्पm उन्मुख भइरहेको छ । जनयुद्धका सबै एजेण्डा पूरा भएको भन्दै अब माओवादबाट परिवर्तन सम्भव नभएको आशय व्यक्त गर्दै कम्युनिष्ट नै नरहने गरी नेताहरू परिवर्तन भइरहेका छन् । माओवादी आन्दोलनले २२आँै वर्ष पार गरिसक्दा पनि विभिन्न समूहमा रहेका टुक्रे माओवादीहरूमा माओवादी आन्दोलनप्रतिको मोह अझै कम भएको देखिँदैन । निर्वाचनलाई प्रभावित तुल्याउने गरी भइरहेका विस्फोटका गतिविधिहरू आमूल रूपान्तरणलाई सम्बोधन गरियोस् भन्ने आग्रह हो । यो यथार्थलाई बुझेर देशलाई पुनः युद्धमा जानबाट रोक्न सकारात्मक बन्नु जरुरी छ । युद्ध उन्मुख शक्तिलाई समयमै वार्ताको टेबुलमा आमन्त्रण गरी देशलाई रूपान्तरणको महाअभियानमा सहभागी हुने मौका प्रदान गर्नु सबै राजनीतिक दलहरूको हितमा हुनेछ र देशको पनि यसैमा हित हुने निश्चित छ ।
















