काठमाडौं – वीरगन्जमा पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । जिल्लामा सांसद, पत्रकार, जनप्रतिनिधि, नगर प्रमुख,सुरक्षा निकाय लगायत सबैमा संक्रमण देखिएको छ। पर्सामा अझै एकसय भन्दा बढी सकृय संक्रमित उपचारमा रहेका छन् ।
बिहीबार संक्रमण पुष्टि हुनेमा वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका ५ र वीरगन्ज कारागारमा कार्यरत ७ गरी १२ जना छन् । वीरगन्जकै नेपाल इन्भेस्टमेन्ट बैंकमा कार्यरत २८ बर्षका एक पुरुष कर्मचारी र नारायणी अस्पतालमा उपचाररत मृगौला रोगी वीरगन्ज –१० की ३५ बर्षिया महिला पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ७ वर्ष देखि ७३ वर्षसम्मका २४ जना, पर्सा जिल्लाको पकहामैनपुर गाँउपालिका २ का २७ बर्षिय एक पुरुष , पोखरिया नगरपालिका ६ का ३३ बर्षिक एक पुरुष र वीरगन्जस्थित भारतीय महावाणिज्य दुतावासमा कार्यरत ३० बर्षिय एक पुरुषसमेतमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै बाराको देवताल गाँउपालिका घर भएका ३३ बर्षका एक पुरुष, बाराकै प्रसौनी २ घर भएकी ७३ बर्षिया एक वृद्घा , रौतहट मौलापुरका २७ वर्षीय एक पुरुष र महोत्तरी जिल्ला घर भएका ३७ बर्षका एक चिकित्सकमा पनि संक्रमण पु्ष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए।
नयाँ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


















