नेपाल बहुभाषा, बहुधर्म, बहुसंस्कृति जस्तै बहुकलाले पनि सु–सज्जित छ । परम्परादेखि नै मूर्तिकलाको क्षेत्रमा साधनारत मूर्तिकारहरुले सिर्जना गरेका मूर्तिहरु नै नेपालीको कलाको पहिचान बनेको छ । काठ र ढुंगामा कुँदिएका बुट्टाहरुले विश्वका मानिसहरुको ध्यान तान्दै आईरहेको पाइन्छ । मनमोहक मूर्तिहरु किनेर लैजानु, विदेशबाटै माग गर्नु र किन्न नमिल्ने मूर्तिहरु चोरी हुनुले नेपाली परम्परागत मूर्तिको महत्व साथै त्यसको खोजलाई सजिलै भन्न सकिन्छ – हाम्रा मूर्तिहरु विश्वमा एक छन् त्यसैले लुकाएर राखेका मूर्तिहरु पनि देख्न सकिन्छ ।
विश्व समाजमा आधुनिक मूर्तिकलाको सुरुवात २० औं सताब्दि तिर भए पनि नेपालमा ठाकुर प्रसाद मैनाली भारतबाट आफ्नो अध्ययन सकेर नेपाल फर्किए पछि वि.स. २०१८ साल पछि मात्रै आधुनिक मूर्तिकला नेपालमा भित्रिएको पाइन्छ । मूर्तिकारहरुलाई आधुनिक मूर्तिको बारेमा बुझाउँदै जाने क्रमसंगै नेपालमा आधुनिक मूर्तिकला केही विस्तार हुन गयो । त्यही संघर्ष र साधनाको परिणाम हो आजको नेपाली आधुनिक मूर्तिकला । वि.स. २०१८ सालमा बहादुर भवनमा पहिलो पटक मूर्तिकला प्रदर्शनी भएको थियो । आधुनिक मूर्तिकलाका प्रणेता ठाकुर प्रसाद मैनालीका आधुनिक मूर्तिहरु भृकुटि मण्डपको बगैचा, विभिन्न दुरसंचारका कार्यालयहरु, कृषि विभाग, टिचिङ अस्पताल आदि विभिन्न ठाउँहरुमा प्रतिस्थापन गरिएका छन्।
नेपालका केही मूर्तिकारहरुले नेपाली आधुनिक मूर्तिकलालाई विश्वसामु पस्कनु पर्छ साथै आफुलाई थाहा नभएको ज्ञान विदेशी मूर्तिकारहरुसँगबाट ग्रहण गर्न जरुरी ठानी अधुनिक मूर्तिकार ओम खत्रीको संयोजकत्वमा सन् २००५ मा टेक्नोलोजिमा विश्वमा अग्र स्थानमा रहेको देश जापानसँग नेपालमा दुई देशका मूर्तिकारहरु मिलेर प्रस्तर मूर्तिकला कार्यशाला गर्ने सम्झौता भयो । त्यति बेला नेपाली आधुनिक मूर्तिकला बारे धेरै मूर्तिकारहरु नै अनभिज्ञ थिए । उक्त कार्यशालाले नेपाली आधुनिक मूर्तिकारहलाई धेरै कुरा ज्ञान हुनुको साथै मूर्ति बनाउन प्रयोग हुने विभिन्न औजारहरुको बारेमा पनि मूर्तिकारहरुले राम्रो जानकारी प्राप्त गरेका थिए ।

मूर्तिकार प्राज्ञ ओम खत्री
नेपाली ललितकलाकारहरुको अथक प्रयास र वि.स. २०६२/६३ सालको जनआन्दोलन पश्चात स्थापना भएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा मूर्तिकला विभाग बन्यो । त्यति बेला नै विभागीय प्रमुखले मूर्तिकलाको विकास र विस्तारको लागि मूर्तिकारहरुका समस्याहरु र निराकरणका उपायहरु, प्रतिष्ठानले गर्नुपर्ने कामको बारेमा अध्ययन गर्दा एउटा मूर्तिकला स्टुडियो बनाउनु पर्ने, मूर्ति निमार्णका मूख्य–मूख्य सामानहरु किन्नु पर्ने साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मूर्तिकला कार्यशाला गर्नु पर्ने भयो । विश्वको जुन सुकै देशमा पनि मूर्तिकारहरु अन्य कलाको भन्दा मात्रात्मक रुपमा कम नै हुन्छन् । त्यही परिस्थिति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राज्ञपरिषद्मा पनि भयो । नौ जनाको कार्यसमितिमा २ जना मात्रै मूर्तिकार हुँदा परिषद्का सदस्यहरुलाई मनाउन पनि केही समय लाग्यो अन्ततः प्राज्ञपरिषद्ले मूर्तिकला स्टुडियो निमार्ण गर्ने निर्णय गरी वि.स. २०६८ मा निमार्ण भयो । सोही निर्णय बमोजिम ठूला–ठूला मूर्तिहरु निमार्ण गर्न सकिने स्टुडियोको निर्माण भयो । त्यस किसिमको स्टुडियो निमार्ण हुनु नेपाली मूर्तिकारहरुको लागि एउटा गौरवको विषय हो ।
हाल धेरै क्षेत्रमा सफ्टवयसको विकासले काम गर्न सजिलो, सजिलो भएको आजको युगमा मूर्तिकारहरुले पनि यस्तै सफ्ट वयसको प्रयोग गरेका छन् । एक्काईसौं साताब्दीको सुरुदेखि नै अन्य मुलुकका मूर्तिकारहरुले यस सफ्टवयर प्रयोगमा ल्याएका छन् । माया सफ्टवयर यस्तो सफ्टवयर हो जसले आफुले चाहेको मूर्तिको आकार कसरि काट्ने, कुन ठाउँमा राख्दा राम्रो देखिन्छ, कसरी राख्दा राम्रो देखिन्छ, कुन रंगमा राम्रो देखिन्छ भन्ने पूर्व दृष्यावलोकन गर्न सकिन्छ । यही ज्ञान नेपालका केही कलाकारहरुले गर्दै आए ता पनि धेरै मूर्तिकारहरुलाई यसको बारेमा राम्ररी जनाकारी नहुनुले त्यस अवसरबाट बन्चित भएको कुरालाई मध्ये नजर गर्दै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले १५ जना मूर्तिकारहरुको सहभागीतामा २०६८ सालमा तीन दिने माया सफ्टवयर कार्यशाला गरेको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागले नेपालका विभिन्न जिल्लाहरुमा काम गरिरहेको मूर्तिकारहरुलाई काठमाडौंमा बोलाएर प्रतिष्ठान कै स्टुडियोमा पाँचदिने आवासीय सेरामिक्स कार्यशाला भएको थियो । जसले मूर्तिकारहरु बीचमा भएको खाडल सम्याउने काम भएको थियो भने मूर्तिकारहरुले आफूले जानेका कुराहरु सिकाउने र नजानेका कुराहरु सिक्ने मौका मिलेको थियो । त्यस कार्यशालाले मूर्तिकारहरुलाई एकता पनि बनायो । यसरी नै उक्त विभागले ढलोलको कार्यशाला पनि सम्पन्न गरेका थियो ।
मूर्तिकलाको विकास र विस्तारकै लागी वि.स. २०६९ सालमा हर्नामाडी–७ मकवानपुरमा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । यस कार्यशालाको आयोजना नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यपर्यटकीय पार्क हर्नामाडी र जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म संचालन भई भव्य रुपमा सम्पन्न भयो । सो कार्यशालाको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धरज्यूबाट प्रस्तरमा छिनो हतौडाको प्रहारबाट भएको थियो सोही अवसरमा सोही स्थलमा हेलीकप्टरबाट पुष्पवृष्टि गरी कार्यक्रमको समुद्घाटन रौनक र भव्यता साथ भएको थियो ।
उक्त कार्यशालाको समापन कार्यक्रममा तत्कालिन सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको उद्घाटन भएको थियो । त्यस कार्यशालामा सहभागी कलाकारहरु जापानका सुगिमोतो जुनीचिरो, इटलीका वेटीनो फ्रान्सेली, कोरीयाका सिम जुङ्ग सु फ्रान्सकी– लेतिचीया दी बजालरे ल्यू योङ्ग चिन लगाएत नेपालका १८ जना मूर्तिकारहरु क्रमशः ओम खत्री, नागेन्द्र राजभण्डारी, सुदर्शन विक्रम राणा, नरेन्द्रप्रसाद भण्डारी, राजु पिठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, बैकुण्ठमान श्रेष्ठ, शारदामान श्रेष्ठ, राजन काफ्ले, गोविन्द चौधरी, बुद्ध थारु, ओमभक्त भण्डारी, बाबुलाल वाइवा, गंगाधर सारु, पूर्णकाजी शाक्य, लक्ष्मण भूजेल, प्रकाश शाक्य, चन्द्रश्याम डंगोल र १० जना कलेजका विद्यार्थी सहयोगीहरु (एसिस्टेन्ट) ¬लगाएत स्वयम्सेवकहरु रहेका थिए ।
त्यस कार्यशाला नेपालको पहिलो अन्तराष्ट्रिय कार्यशाला भएकाले त्यती बेला सम्पूर्ण कलाकारहरु तथा सम्पूर्ण नेपालीकै ध्यान त्यसै कार्यशालामा गई रहेको थियो । आर्थिक, सामाजिक, राजनैतिक, संस्कृतिक, पर्यटन आदि सबै क्षेत्रबाट हेर्दा त्यो कार्यशाला एकदमै सफल भएको पाउन सकिन्छ । नेपाली मूर्तिकारहरुले विदेशी मूर्तिकारहरुको शिप, शैली, ज्ञान र मेसिनरी औजारहरुको बारेमा नजिकबाट सिक्ने र अनुभव गर्ने मौका मिलेको थियोे । नेपालीले विदेशी संस्कार, रहन–सहन, बानी–व्यावहार बुझ्ने मौका मिलेकोका खुसी व्यक्त गरे भने विदेशी मूर्तिकारहरु पनि नेपाली संस्कार, संस्कृति, व्यावहार,वातावरणी हाउभाव देखि मनै गद्गद् भएको कुरा व्यक्त गरेका थिए । यस अन्तराष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका कलाकारहरु सहभागी हुनुले पर्यटक संख्या अझ बढ्ने कुरामा दुई मत नै छैन् ।
यसरी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाहरु ः पोखरामा अन्तराष्ट्रिय, चितवनमा राष्ट्रिय, इटहरीमा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला गरि विभिन्न ठाउँहरुमा भएका छन् । यसै क्रममा हालसालै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागद्वारा अन्तराष्ट्रिय मूर्तिकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा सम्पन्न भयो । जहाँ ७ देशका विदेशी मूर्तिकारहरु ११ जनाका २३ वटा कलाकृतिहरु र नेपाली कलाकारहरु ४४ जनाका ८४ वटा कलाकृतिहरु प्रर्दशीत रहेका थिए ।
मूर्तिकला खर्चिलो(समय र धन), गाह्रो विधा, शारिरक तथा मानसिक शक्ति पनि धेरै चाहिने भएकोले यस क्षेत्रमा लाग्ने (संलग्न हुने) कलाकारहरु एकदमै कम छन् । त्यसमा पनि महिला कलाकार त औंलामा गन्न सकिने मात्रै रहेका छन् । सृजित मूर्तिहरुको स्टोर गर्न पनि धेरै ठाउँ लाग्ने भएकोले पनि मूर्तिकारहरु नयाँ–नयाँ सिर्जनाहरु गर्नबाट पछि हट्छन् । यही कारणले मूर्तिकला विधामा मूर्तिकारहरुको प्रतिस्प्रधा कम हुने गरेको छ ।
हाम्रो देशमा राष्ट्रिय स्तरको मूर्तिकला संग्रहालय नहुनु कला पारखीहरु र सम्पूर्ण मूर्तिकारहरुको दुःखद् पक्ष हो । यदि सरकारले यस प्रकारको संग्रहालय खोल्दा एकातर्फ रोजगारीको सिर्जना हुन्छ भने अर्को तर्फ कलाकारहरु राम्रा–राम्रा मूर्तिहरु बनाउन उत्सुक भई नयाँ–नयाँ कलाकृतिहरु सिर्जना हुन्छन् । यसले गर्दा पर्यटकहरु भ्रमण गर्ने भएकोले हाम्रो राष्ट्रिय आम्दानी वृद्धि हुन जान्छ । तसर्थ सरकारले जति सक्दो चाँडो राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको संग्रहालय र मूर्तिकारहरुलाई स्टुडियो बनाउनै पर्ने भएको छ ।
अन्त्यमा, नेपाली मूर्तिकलाको विकास र विस्तारको लागि राज्यस्तरबाट मूर्तिकारहरु सँगको छलफलमा योजनागत रुपमा कार्य गर्नु पर्ने हुन्छ । नेपाल र नेपालीको शीर उँचो राख्नको लागि हिजो पनि नेपाली मूर्तिकारहरुको योगदान महत्वपूर्ण रह्यो साथै भोलीका दिनहरुमा पनि नेपाली मूर्तिकला विश्वमा जगमगाउने नै छ ।



















