यस्ता छन् दुईतिहाइ बहुमत पाएपछि वाम गठबन्धनका योजना

152

शेरबहादुर देउवालाई राजनेता बनाउने मेरो प्रयास उनैले बुझ्न सकेनन्

तपाईंले चितवन ३ मा चुनाव जित्ने आधार केके छन् ?
नेपालमा स्थायित्व र विकास चाहिएको छ । यी दुवै कुराका लागि राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका खेलिसकेको व्यक्तिले चुनाव जित्नुपर्छ भन्ने चाहना चितवनका जनताको छ । मैले चुनाव जित्ने आधार भनेको जनताको विश्वास हो ।

चितवनवासीले विकासका सवालमा के खोजेका रहेछन् ?
मैले चुनावी कार्यक्रमका क्रममा जनताको बीचमा जाँदा सबैभन्दा धेरै बाटो पिच बनोस् भन्ने चाहना रहेको पाएँ । त्यसपछि जङ्गली जनावरले मानवीय र कृषि उत्पादनमा क्षति पु¥याएकाले त्यसको रोकथाम होस् भन्ने चाहना पछि छ । त्यसैगरी तटबन्धन निर्माणको आवश्यकता देखिएको छ । समग्रमा चितवनमा विकासका प्रचुर सम्भावना रहेकाले एसियाली मापदण्डको शहरको रूपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । कृषिमा आधुनिकीकरण र यस क्षेत्रलाई शैक्षिक र स्वस्थ्य सेवाको गन्तव्यका रूपमा विकास गर्नुपर्ने चाहना जनताको रहेको छ । शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने कुरा भइरहेको छ । चित्रवनमा राष्ट्रिय रङ्गशाला निर्माण गर्नुपर्ने छ । यसका लागि बजेट निकासा भएर काम सुरु पनि भइसकेको छ । भरतपुरमा प्रदर्शनी केन्द्र बनाउने काम पनि अगाडि बढिसकेको छ । यो सबै विकासका लागि राष्ट्रियस्तरको नेताको आवश्यकता छ भन्ने चितवनका जनताले बुझेका छन् ।

तपाईं रोल्पा, सिराहा, काठमाडौं हुँदै अहिले किन चितवनमा चुनाव लड्न आउनुभयो ?
मैले यो विषयमा जनतालाई बडो प्रष्टसँग भनिसकेको छु । तपाईको यो लोकप्रिय मिडियामार्फत पनि भन्न चाहन्छु । पहिलो पटक मैले रोल्पा र काठमाडौंबाट चुनाव लडेँ । तर मेरो चाहना चितवनबाटै चुनाव लड्ने थियो । मैले पढेलेखेको र हुर्केको ठाउँ चितवन भएकाले यहीबाट चुनाव लड्ने चाहना थियो । तर त्यसबेला विद्रोहको केन्द्र रोल्पा र देशको राजधानी काठमाडौंलाई जोड्नुपर्ने आवश्यकता थियो । यि दुई क्षेत्रको भावना नजोडिकन शान्ति प्रक्रियालाई टुग्याउन सकिँदैन थियो । दोस्रो पटक म सिराहाबाट किन उठेँ भने काठमाण्डौबाट तराई मधेश टाढा टाढा जाने खतरा पैदा भयो । विखण्डनवाद हाबी हुने हो कि वा काठमाडौंले मधेशलाई टाढा राख्यो भन्ने मनोवाद जनतामा देखिने डर थियो । बढेको दूरीलाई कसरी घटाउने भन्ने चिन्ता मलाई थियो । जनयुद्धका बेला मधेश क्षेत्रबाट १३ सय जनाको ज्यान गएको थियो । यो दायित्वलाई पूरा गर्नका लागि पनि मैले मधेशबाट चुनाव लडेको हुँ । विद्रोह र शान्तिलाई एक ठाउँमा केन्द्रित गर्नका लागि आवश्यकता अनुसार मैले चुनावी क्षेत्र रोजेको हुँ ।

तपाईंले गरेको कपितय राजनीतिक निर्णयका आधारमा चामत्कारिक नेता भन्ने गरेका छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
म परिस्थिति हेरेर गम्भीर र साहसिक निर्णय गर्छु । मैले विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणको नेतृत्व गर्ने मौका पाएँ । यी सबै काममा मलाई नेपाली जनताले सहज रूपमा स्ीवकार गरे । अब विकासको नेतृत्व पनि प्रचण्डले गरोस् भन्ने चाहना जनताले राखेका छन् । मैले पनि राष्ट्र र जनताको हितमा जतिबेला जे निर्णय गर्नुपर्छ त्यसमा साहसिक रूपमा निर्णय गरेकाले बाहिरबाट हेर्दा चमत्कारिक देखियो होला, तर वास्तवमा देश र जनताको पक्षमा लिइएको गम्भीर र साहसिक निर्णयको परिणाम हो ।

पछिल्लो समय तपाईंले कांग्रेससँगको सहकार्य छोडेर एमालेसँग मिल्नुको कारण के हो ?
तपाईंले ठीक ठाउँमा प्रश्न सोध्नुभयो । पहिलो कुरा त मैले नेपाली कांग्रेससँगको सहकार्य छोडेकै छैन । अहिले पनि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो पार्टीका मन्त्रीहरूले साथ दिइरहेका छन् । यद्यपि, देउवाजीले हाम्रा पार्टीका मन्त्रीहरूलाई विना विभागीय बनाउनुभयो । मैले छोडेको छैन । सहकार्य कायमै छ । मैले कांग्रेसलाई धोका दिएको पनि छैन । सरकार गिराउने प्रयास पनि गरिन । अब यो देशलाई विकास र समृद्धिको बाटोमा कसरी लैजान सकिन्छ भनेर मैले एमालेसँगको सहकार्यलाई उचित विकल्पको रूपमा लिएको हुँ । सैद्धान्तिक रूपमा कांग्रेससँगको एकता सम्भव थिएन । एकता हुन सक्ने कम्युनिष्ट–कम्युनिष्टबीचमा मात्रै हो । त्यसकारण मैले दूरदृष्टि नजरले हेर्दा अन्ततः एमाले, माओवादी लगायतका सबै कम्युनिष्ट एक ठाउँमा बस्ने, नेपाली कांग्रेसका पनि विभाजित भएका विजयकुमार गच्छादार, महन्थ ठाकुरलगायतका पनि एक ठाउँमा बस्ने, यसो गर्न सकियो भने मात्रै राजनीतिक स्थायित्व आउँछ भन्ने मेरो ठम्याई हो ।

देश विकासका लागि एमाले–माओवादी गठबन्धन नै अन्तिम विकल्प हो ?
पछिल्लो ७० वर्षदेखि देश भूमरीमा छ । एउटा सरकार पनि ५ वर्ष चलेको छैन । यो परिस्थितिको अन्त्य गर्नका लागि विकल्प खोजिएको हो । विचार र सिद्धान्त मिल्नेबीच एक हुन सक्यो भने राष्ट्रले स्थायित्व पाउँछ । एमालेसँग सहकार्य गर्नुअघि मैले देउवालाई यस विषयमा जानकारी गराएको थिएँ । तपाईंहरू पनि विचार मिल्नेहरू एकजुट हुनुपर्छ भनेर सल्लाह पनि दिएको हुँ । तपाईंलाई पनि मेरो शुभकामना छ । विभाजित भएका कांग्रेसलाई एकजुट गर्नुस् भनेर भनेको थिएँ ।

सरकारमा बसेर प्रतिपक्षी दलसँग हातेमालो गर्नु उचित हुन्छ र ?
स्थानीय तहको चुनावमा रोल्पा, रुकुम, कालिकोट, जाजरकोटलगायतका कपितय जिल्लामा कांग्रेसले एमालेसँग तालमेल गरेर माओवादीका उम्मेदवारलाई हराएको थियो । तर किन प्रतिपक्षसँग मिलेको भनेर कहिल्यै भनिनँ । म एमालेसँग मिल्नु गलत हो भने उहाँहरू मिल्नुचाहिँ सही हुने ? प्रदेश नम्बर २ मा माओवादी कमजोर छ भनेर कांग्रेसले स्थानीय चुनावमा तालमेल गर्न पनि मानेन । चुनावका बेला हरेक पार्टीले आफ्नो फाइदा हेर्छ । कम्युनिष्टको नेतृत्वमा सरकार बनोस् भन्ने प्रचण्डको चाहना त विल्कुल जायज र स्वभाविक हो । कांग्रेसले कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने चाहना राख्नु पनि जायज छ । दुई पार्टी सिष्टमले नै देशलाई हित गर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

तपाईंहरूको गठबन्धनले अधिनायकवाद ल्याउन खोजेको आरोप कांग्रेसले लगाएको छ नि ?
हामीले वाम लोकतान्त्रिक गठबन्धन बनाएका हौँ । वाम लोकतान्त्रिक गठबन्धन र कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनमध्ये जसले जनताको मन जित्छ, उसैले सरकारको नेतृत्व गर्छ ।

जनताको चाहना त कांग्रेस र माओवादी मिल्नुपर्छ भन्ने थियो नि ? तर तपाईंले अर्कै कदम चाल्नुभयो ।
जनताको एउटा सेक्सन त्यो थिएन त म भन्दिनँ । तर यसका लागि कांग्रेस नै तयार देखिएन । २ नम्बर प्रदेशमा भएको स्थानीय तहको चुनावमा कांग्रेस जसरी मिल्नुपथ्र्यो, त्यसरी मिलेन । त्यसबेला कांग्रेसका गम्भीरताको कमी देखियो । तर दीर्घकालिन रूपमा कम्युनिष्टहरू नै मिल्नुपर्छ भन्ने मेरो निष्कर्ष थियो । देशको स्थिरता र विकासका निम्ति विचार मिल्नेहरू नै एक हुनुपथ्र्यो ।

चितवनमा तपाईं किन कांग्रेसले समर्थन गरेको नेतासँग प्रतिस्पर्धा गर्नुभयो ?
यो कुरा तपाईंले अझै बुझ्नुभएको छैन । म कांग्रेससँग नै प्रतिस्पर्धा गर्न पाएको भए खुशी नै हुने थिएँ । समर्थन गर्ने कुरा अलग हो । अहिले यहाँका कांग्रेसका इमानदार, निष्ठावान् र लामो इतिहास बोकेका नेता कार्यकर्ताहरू राप्रपालाई भोट हाल्नुपर्ने निर्णयबाट असन्तुष्ट छन् । अब बुढेसकालमा हलो, राप्रपालाई समर्थन गर्नुपर्ने, उहाँहरूलाई कहीँकतै चित्त बुझेको छैन ।

तपाईंलाई कांग्रेसले भोट हाल्नुपर्ने कारणचाँहि के छ ?
म शान्ति सम्झौताको हस्ताक्षरकर्ता । गिरिजाबाबुले मृत्युशैयाबाट शन्ति प्रक्रिया टुंग्याउने जिम्मा तपाईंको भनेर जानुभयो । यो कुरा कांग्रस र आम जनताले थाहा पाएको कुरा हो । मैले शान्ति प्रक्रिया टुंग्याएको कुरा पनि सबैलाई थाहा छ । केही समयअघि मात्रै देउवाले संसदबाट मलाई राजनेता भन्नुभएकै हो । चितवन क्षेत्र नम्बर ३ मा पनि मलाई समर्थन गरिदिएको भए मैले पनि शेरबहादुर देउवा नेपालको राजनेता हो भन्थेँ नि । कति राम्रो हुन्थ्यो ? उहाँहरूले मलाई दिनु भएन । मलाई धेरै गुनासो छैन । तर कांग्रेसले यहाँबाट रुख चिन्हबाट नै कसैलाई चुनाव उठाएको भए मैले कांग्रेससँग नै प्रतिस्पर्धा गर्थेँ । तर उहाँहरूले हलोलाई समर्थन गरेर उल्टो बाटो हिँड्नुभयो ।

तपाईंले कांग्रेसका कार्यकर्तासँग कसरी भोट माग्नुभएको छ ?
यस्तो बेलामा हलो लिएर हिँडेपछि मैले कांग्रेसका कार्यकर्तालाई विपिको सिद्धान्तका आधारमा मलाई समर्थन गर्नुपर्छ है भनेको छु । कांग्रेसका कार्यकर्ताले हसिया हथौडामा भोट हाल्नुपर्छ भनेको छु । तर पार्टीले त राप्रपालाई भोट हाल्न लगाएको छ । तर चिनवन राप्रपाका अध्यक्ष नै सयौँ कार्यकर्ता लिएर हामीतिरै आइसक्नुभएको छ । त्यसैले अब हलो पनि सग्लो छैन । कांग्रेसका कार्यकर्ता हलो बोक्नुपर्दा रुँदै हिँडेका छन् । विपिले भन्नुभएको थियो, एक मुठी माटो लिनुहोस्, छातीमा राख्नुहोस्, अन्तरआत्माको आवाज सुन्नुहोस्, जे ठीक लाग्छ त्यही गर्नुहोस् । अहिले मैले पनि यही भनेको छु ।

वाम गठबन्धनले बहुमत ल्याएर सकार बनायो भने कांग्रेसँगको सम्बन्ध कस्तो हुन्छ ?
भोली कम्युनिष्टहरू एउटै भएपछि पनि कांग्रेससँग सहकार्य गर्नुपर्छ भन्ने मलाई लाग्छ । कांग्रेससँगको सहकार्य अब सदाको लागि सकियो भन्ने पनि होइन । कांग्रेस पनि देश विकासका लागि पछाडि फर्किने होइन, अगाडि नै बढ्नुपर्छ ।
कांग्रेस सभापति देउवाले त कम्युनिष्ट शासन आयो भने जनताले रुन पनि पाउँदैनन् भनेर भन्नुभएको छ नि ?
यो विषयमा म देउवाकै भाषामा जवाफ दिन चाहन्नँ । थुप्रै उद्योग कलकारखाना कौडीको मूल्यमा बेचेर जनतालाई रुवाइयो । हामी त्यसो गर्दैनौँ । विकास निर्माण भएन, हामी त्यसो गर्दैनाँै । कांग्रेसले रुन मात्रै पा¥यो । हामी हसाउँछौँ भन्न पनि सकिन्छ, तर हामी त्यसो भन्दैनौँ । देउवाले भनेको कुरा निराधार छ ।

वाम गठबन्धनले बहुमत ल्याउने आधार के छ ?
त्यो त ७० मा भएको संविधानसभाको चुनाव र यही वर्ष भएको स्थानीय तहको चुनावको तथ्यांकले नै स्पष्ट पार्छ । अर्को वाम गठबन्धनभित्र देशैभरि एकता छाएको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा के भयो होला भनेर ओली र मबीचमा लामो कुराकानी भयो । हामीलाई दुई तिहाइभन्दा धेरै भोट आइसकेको हाम्रो निष्कर्ष छ ।

दोस्रो चरणको चुनावको नतिजा कस्तो आउला ?
हाम्रो लक्ष्य त दुई तिहाइ बहुमत ल्याउने नै हो ।

बहुमत आएन भने के गर्नुहुन्छ ?
बहुमत आएन भने पनि स्वीकार गरिन्छ । जनताले हामीलाई पराजित ग¥यो भने पनि लोकतन्त्रको खेललाई मान्छौँ ।
तपार्इं र केपी शर्मा ओलीबीचमा चिसोपन छ कि छैन ?
हामी द्वन्द्ववादी भए पनि परिस्थिति र देशको आवश्यकताअनुसार चल्ने नेता हौँ । अहिले सम्बन्ध राम्रो छ । हामी मिलेर देश बनाउनुपर्छ भन्ने नै छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here