काठमाडौं/ आजदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि बैठक बोलाउन रामचन्द्र पौडेलपक्षको व्यापक दवाव बढेपछि आजदेखि बैठक बस्ने भएको छ । निर्वाचनमा पराजय हुनुको कारणबारे प्रधानमन्त्री देउवालाई पार्टी बैठकमा र्याखर्याख पार्ने योजनामा पौडेलपक्ष तयारीका साथ जुटेको छ ।
आजदेखि सुरु हुने बैठकमा कोइराला परिवारका तीन नेताले कोइरालाको ‘विरासत’ फर्काउने उद्घोषसमेत गरेका छन् । कांग्रेस महामन्त्री डा.शशांक कोइराला, सुुजाता कोइराला र डा.शेखर कोइरालाबीच गम्भीर छलफल भएको बुझिएको छ । कोइराला परिवारको विरासत फर्काएरै छोड्ने दृढता तीन कोइराला नेताहरूले गरेका छन् ।
कांग्रेस महामन्त्री शशांक कोइरालाको टोखास्थित निवासमा पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका यी तीन नेताले अहिले आएर पार्टीमा सशक्त ढंगले प्रस्तुत हुने अठोट लिएका छन् । गत मंगलबार नेत्री सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले छलफल गरेका थिए ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको सुजाता कोइरालाले जनधारणालाई जानकारी गराउनुभयो । आज हुने बैठकमा चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई नेपाली कांग्रेसको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । (- जनधारणा साप्ताहिक)


















