एकातिर सत्ताको खेल, अर्काेतिर युद्धको तयारी

195
Maoist leaders Mohan Baidya and Netra Bikram Chand. THT file photo.

काठमाडौं/ वाम गठबन्धनको नाममा एमाले र माके पार्टी एकीकरणमा पदीय भागबण्डा मिलाउादै गरिरहेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले देशमा परिवर्तनका लागि बन्दुक उठाउने उद्घोष संयुक्त रूपमा गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रूपमा आयोजना गरेको जनयुद्धको २३औं दिवसको ऐतिहासिक समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मुलुकमा क्रान्ति आवश्यक र सम्भव रहेको भन्दै त्यसका लागि छरिएर रहेका क्रान्तिकारीहरूलाई एकीकृत र ध्रुवीकृत गर्नुपर्ने र नयाा ढंगले बन्दुक उठाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र युद्धलाई जनयुद्ध प्रारम्भ वर्ष मान्दै २३औं जनयुद्ध दिवस मनाइएको छ । नेकपा (माओवादी केन्द्र)ले पनि आफ्नो पार्टी कार्यालय जनयुद्ध दिवस मनायो । सो कार्यक्रममा आमन्त्रण गरिएका एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका भए पनि प्रचण्डले जनयुद्धलाई एमाले पार्टीले स्वीकार गरिसकेको दावी पनि गर्नुभयो । एमाले पार्टीले जनयुद्धलाई स्वीकार गरेको छ वा माओवादी केन्द्रले संसदवादलाई स्वीकार गरेको छ भन्ने कुरा व्यवहारबाट देखिने विषय भए पनि प्रचण्डको दावी आफ्नै किसिमको रहेको छ ।


यता मोहन वैद्य ‘किरण’ले कम्युनिष्ट आन्दोलनमा देखा परेको वैचारिक विचलनमाथि प्रहार गर्दै क्रान्तिकारीहरूले एकता र ध्रुवीकरणका लागि जड्ता र अहम्ता त्याग्न तयार हुनुपर्नेमा जोड दिनुभएको छ । विज्ञान र प्रविधिको विकास, विश्व तथा नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासबाट शिक्षा लिएर छलफल र बहसका बीचबाट राजनीतिक तथा फौजी कार्यदिशाको थप विकास गरी अगाडि बढ्नुपर्ने आवश्यकतामा वैद्यले जोड दिनुभएको छ । विज्ञान प्रविधिले विस्थापित गरेका मजदुरहरू सर्वहारावर्गीय क्रान्तिका रिजर्भ सेना भएको भन्दै महासचिव किरणले विज्ञान प्रविधि मुख्य कुरा नभएर मुख्य कुरा मान्छे भएकाले प्रविधिले मान्छेलाई होइन, मान्छेले प्रविधिलाई चलाउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्यले एकातिर नवउदारवादी अर्थनीति र संसदवादीहरू बीचको सत्ताको खिचातानी र अर्कोतिर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बढ्दो समस्याका कारण क्रान्ति अपरिहार्य हुने भन्दै सर्वहारावर्गीय क्रान्तिले मात्रै समस्याहरूको वास्तविक समस्या समाधान गर्ने विचार व्यक्त गर्नुभएको छ । उहााले जोड दिंदै भन्नुभयो– ‘क्रान्तिका लागि अब युवाहरू सशक्त रूपमा उठ्नुपर्ने बेला आएको छ । युवाहरू बन्दुक बोक्न तयार हुनुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुदर्शन ओलीले सशस्त्र क्रान्तिविना परिवर्तन सम्भव नरहेको विचार व्यक्त गर्नुभएको छ । क्रान्तिका निम्ति क्रान्तिकारीहरूबीचको एकता तथा ध्रुवीकरण अपरिहार्य रहेको भन्दै नेता ओलीले क्रान्तिकारीहरूलाई एकताबद्ध बनाउने गरी कार्यदिशामाथि बहस गर्न आफ्नो पार्टी तयार रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भर्खरै मात्र माओवादी केन्द्र परित्याग गरेका नेता लोकेन्द्र विष्टले प्रचण्डमा खाराको कारबाहीदेखि नै विचलन देखापरेको दावी गर्दै प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय गराउने अन्तिम तयारी गरिरहेकोप्रति दु:ख व्यक्त गर्नुभयो । प्रचण्डको ओलीकरण भएपछि क्रान्तिकारीहरूका लागि मैदान खाली रहेको भन्दै विष्टले छरिएर रहेका सबै क्रान्तिकारीहरू एकजुट भएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु पर्ने र त्यसको लागि कमरेड किरणले पहलकदमी लिनुपर्ने विचार पनि उहााले व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रको एमालेकरणका विरुद्ध विद्रोह गरिरहेका नेता गोपाल किरातीले जनताको गणतन्त्रका लागि फेरि क्रान्ति आवश्यक रहेकोमा जोड दिनुभयो । अर्का नेता विश्वभक्त दुलाल आहुतीले माओवादी केन्द्र वैचारिक रूपमा विघटित र विसर्जित अवस्थामा पुगेको भन्दै भुमण्डलीकृत साम्राज्यवादका विरुद्ध सर्वहारावर्गीय क्रान्तिलाई अगाडि बढाउन कार्यदिशामाथि पर्याप्त बहस गरेर क्रान्तिकारीहरू एकताबद्ध भएर क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले अध्यक्षता गरेको उक्त कार्यक्रमको सञ्चालन नेकपाका पोलिटब्यूरो सदस्य उमा भूजेलले गर्नुभएको थियो । सम्बोधनको बीच बीचमा सामना साास्कृतिक परिवारका कलाकारहरूले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गर्दै स्रोता तथा दर्शकहरूका तर्फबाट तालीको स्वागत पाएका थिए ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here