बजाउनै परेपछि एमाले नामको बडे नगडा किन नबजाउने ?

295

चन्द्रप्रकाश बानियाा
तत्कालीन राजा ज्ञानेन्द्रको राज्यारोहणको अवसरमा दाम चढाएर स्वस्तिको विलक्षण भावमुद्रामा प्रस्तुत एमाले महासचिव माधव नेपालको तस्वीर नेपाली समाजमा निकै चर्चित रहेको थियो । निन्दा आलोचनाको विषय पनि बन्यो/बनाइयो । सिंगो एमालेलाई बदनाम गर्ने र घाटा पुर्‍याउने कारण बन्यो । संविधानसभाको पहिलो निर्वाचनमा कमसेकम माधव नेपालको व्यक्तिगत पराजयमा त्यसले ठूलै भूमिका निर्वाह पनि गर्‍यो सायद ! घटना डेढ दशक पुरानो भैसक्यो । पुरानो मात्रै होइन, अप्रसाङ्गिक भयो भन्दा फरक पर्दैन । जति नै चर्चित भए पनि कुनै घटनाविशेष नेपालीहरूको स्मृतिमा लामो समयसम्म टिक्दैन । सायद नेपालीहरूको स्मरणशक्ति निकै कमजोर छ । त्यसैले हामी सबैको दिमागबाट अब त्यो घटना अस्ताइसक्यो । त्यसको धमिलो छाया पनि बााकी छैन । त्यसलाई सम्झिरहरनु पर्ने कारण पनि छैन र मौसम बेमौसममा कोट्याइरहनुका कुनै अर्थ र औचित्य पनि छैन ।

 
शंका उपशंकाको बीच दुई वामपार्टी एमाले–माकेबीच पार्टी एकीकरणको समझदारीमा हस्ताक्षर भइसकेको छ । कमसेकम एकीकरणको प्रारम्भिक आधार तयार गरिएको छ । ट्रयाक खुलेपछि उन्नत सडक निर्माण हुने आशा गर्न सकिन्छ । निश्चय नै, पार्टी एकीकरण निकट भविष्यमै निर्विघ्न सम्पन्न हुनेछ । एउटै पार्टीको सरकार बन्नु स्थिर सरकारको एकमात्र शर्त हो भने नेपाली मतदाताहरूको चाहना त्यही हो । एउटै पार्टी बनेर पनि नेपाली कााग्रेसको पदचिह्न पछ्याएछ भने त्यो जनताको विश्वास सदाका लागि टुट्ने कारण बन्नेछ । यतिखेर सबभन्दा बढी दुवै पार्टीका भूईंतहका कार्यकर्ता उत्साहित बनेको देखिन्छ । तिनीहरूको खुसीमा ग्रहण लाग्ने कारण बन्नेछ । पूर्णबहुमतको स्थिर सरकारले मुलुकलाई समृद्धिको दिशातिर अघि बढाउनेछ र निर्वाचनको बेला जनतासाग गरिएको वाचाकबोलहरू पूरा हुनेछन् भन्ने विश्वास नेताकार्यकर्ताहरूमा पलाएको छ । दुई पार्टीको मिलनबाट अलिकता नोक्सान सहनुपर्ने सम्भावना उपल्लो तहमा उक्लिएका नेतागणले हो । तिनले पनि मुटुमा ढुङ्गो राखेरै भए पनि हाास्ने अभ्यास गर्नेछन् । उमेरले नेटो नकाट्दासम्म ‘एकदिन त कसो नआउला’ भनेर पालो कुर्नेछन् । आम जनता र मतदाताले हेर्ने भनेको पााच वर्षको काम हो । मूल्याङ्कनमा गतिलो नम्बर आएछ भने फेरि म्याद थपिदेलान् । कामगराई चित्तबुझ्दो नलागे हली फेर्लान् । दु:खको कुरा के हो भने नेपाली मतदातासाग त्यतिबेला पनि छान्नका लागि धेरै विकल्प उपलब्ध हुनेछैनन् । ‘खाए पनि उही कोदोको रोटी, नखाए पनि उही कोदाको रोटो’ भनेजस्तै कि नेकाा कि नेकपा ! रोजीछााटी होइन, संसारका सबैजस्तो मुुलुकहरूको अभ्यासमा रहेको संसदीय प्रणालीमा जस्तै ‘यो वा त्यो’ बाहेक रोज्नलाई अर्को र तेस्रो विकल्प रहने छैन । त्यतिबेलाको परिस्थिति पनि उही ‘खाए खा, नखाए घिच’ भनेजस्तो रहनेछ ।

 
दुई पार्टीको प्रस्तावित एकीकरण किन हो कुन्नी नेपाली जनतालाई असाध्यै रुचेको देखियो । लोकको स्पष्ट चाहना दुई पार्टीको एकीकरण होस् भन्ने थियो । लोकतन्त्रमा लोकको सम्मान हुने नै भो । पार्टी एकीकरण गर्ने समझदारी गरेर लोकको मर्यादा राखिदिएकोमा दुवै पार्टीको शीर्ष नेतृत्वप्रति नेपाली जनमत कृतकृत्य रहेको छ । हुादैन कि भन्ने आशंकारूपी कालो बादल पन्छियो । लोकचिन्ता समाप्त भयो । अघिल्लो हप्तासम्म हुादैन कि भनेजस्तो परिस्थिति देखिन्थ्यो । त्यस्तो सम्भावनाको कल्पनाले नेपालीहरूलाई दु:खित र विस्मित बनाएको थियो । दु:ख यसअर्थमा कि अहिलेसम्मको अभ्यासमा राजनीतिक दलहरू भनेका देश र जनतालाई केही दिने होइन, मतदाताबाट राज्यदोहनको प्रमाणपत्र लिने मात्रै हुन् भन्ने कुरा स्थापित भएको थियो । कम्युनिष्ट पार्टीकै नामबाट आधा दर्जनभन्दा बढी जोगीहरू कमण्डलु थाप्न आइपुग्थे । कसलाई दिनु कसलाई छोड्नु ? सबैको झोली एकैसाथ भरिदिने सामथ्र्य मतदाताहरूसाग थिएन । सबैलाई नपुग्ने, एउटालाई दिादा बााकीको आासु श्राप लाग्ने डर ! जनताको त्यही दु:ख निवारण गर्ने उपायको रूपमा एकमुष्ट मतदान गर्न नपाइने भो कि भनेर नेपाली मतदाताहरू दु:खित हुनुपर्ने अवस्था उपस्थित भएको थियो ।
हुनै आाटेको पार्टीएकीकरण बीचैमा खिचोलिने भन्ने हल्लामा नेपालीहरूलाई आश्चर्य लाग्ने कारण पनि थियो । एकताको प्रयत्न भङ्ग हुने कारण ‘जनताको बुहदलीय जनवादको’ अस्तित्व रहने कि नरहने भन्ने विषय बनेको थियो रे भन्ने बजार हल्ला व्यापक बनेको थियो । त्यसका निमित्त मरिहत्ते हाल्नु भनेको मरिसकेको लोग्नेको लास उठाउन दिन्न भनेर जिद्दी गर्ने श्रीमतीको हठजस्तै थियो । प्रारम्भमै उठाइएको माधव नेपालको प्रसङ्गलाई यहाा जोड्नु उपयुक्त होला जस्तो लाग्छ । राजाको पाउमा दाम चढाउन माधव नेपाललाई उनको व्यक्तिगत संस्कारले बाध्य बनाएको थिएन । उनी त्यतिखेर एमालेका सर्वशक्तिमान् महासचिव थिए । उनलाई दरबारमा उपस्थित गराएको उनको पार्टीले हो । पार्टीको नीति, सिद्धान्त र कार्यनीतिद्वारा नेपाल परिचालित भएका थिए । त्यतिखेरसम्म मदन भण्डारीको जनवादी क्रान्तिको कार्यक्रम ‘जबज’लाई एमालेले सिद्धान्तको पगडी भिडाइसकेको थियो । छैटौं महाधिवेशनबाट पारित एमालेको आधिकारिक दस्तावेजमा गणतन्त्र भन्ने शब्दले स्थान गुमाइसकेको थियो । त्यतिखेर समाजले उसलाई दिएको ‘भाइ कााग्रेस’ भन्ने नाम सार्थक हुनेगरी कााग्रेसले अङ्गीकार गरेको संवैधानिक राजतन्त्रको लाइनमा एमाले दरिइसकेको थियो । त्यसैले नयाा राजाको राज्यारोहण, राज्याभिषेकमा मात्रै होइन, पास्नी र न्वारानमा समेतमा दाम चढाउन पार्टीको नेता उपस्थित हुनैपथ्र्यो । माधव नेपालको ठाउामा अर्को कुनै बहादुर वा प्रसाद भएको हुन्थ्यो भने पनि उसले निर्वाह गर्ने भूमिका दुरुस्त त्यस्तै हुन्थ्यो । राजाको पाउमा दाम चढाउनु गल्ती थियो भने त्यो व्यक्तिगत रूपमा माधव नेपालको गल्ती थिएन । त्यो त जबजले अघि सारेको कार्यनीतिमै रहेको खोट थियो । पार्टीनीतिको कमजोरी थियो ।

 
यतिखेर एमालेका छोटेबडे नेताहरू सबैले जबजको अलि बढ्तै बखान गर्ने गरेको सुनिन्छ । एमालेको नीतिमा देश चलेको छ रे ! माकेलगायतका अन्य पार्टीहरू उसैको लाइनमा लामबद्ध हुन आइपुगे रे ! देशको राजनीति जबजमय बन्यो रे ! नेताहरूको त्यस्तो दाबी रत्नपार्कमा बसेर ‘सबै रोगको एउटै औषधि’ भनेर सिलाजित मिश्रित कच्चीचक्कीहरूको प्याकेट बेच्ने चटकीको भन्दा फरक हो भन्न सकिन्न । देशमा आएको पछिल्लो राजनीतिक हुरीले देशमा राजतन्त्रको अन्तकाल निम्तियो, गणतन्त्र स्थापित भयो, समावेशी लोकतन्त्रको अभ्यास सुरु भयो, धर्मनिरपेक्षता स्थापित भयो, संघीयता लागू भैसक्यो, आंशिक रूपमा नै किन नहोस् समानुपातिक प्रतिनिधित्व र सहभागिताको अभ्यास राज्यका सबै अङ्गमा हुन थाल्यो । ती सबै नयाा कुराहरूलाई नयाा संविधानले संस्थागत गरिसक्यो । जबजको कार्यक्रममा कहाा थिए यी कुराहरू ? अहा, त्यस्तो परिकल्पनासम्म पनि जबजले गरेको थिएन । यो विषयमा एमाले आफै लतारिएर आइपुगेको हो । नढााटिकन भन्ने हो भने कााग्रेसको पछि लागेर यहाासम्मको यात्रा तय गरेको हो । मुलुकको राजनीतिले जबज र उसका अनुयायीहरूलाई कोशौं पछि छोडेर अगाडि बढिसकेको थियो । ‘मामाको घोडी, मेरो ही ही’ भनेजस्तो ‘मामाको धनमा फुपुको श्राद्ध’ गर्ने पण्डागिरीको अवसर मात्र एमालेले पाएको हो ।

 
हो, पछिल्ला दुईवटै निर्वाचनमा नेपाली जनताले एमालेलाई भोट दिए । तर एमालेको नीतिसिद्धान्त मन पराएर पनि होइन, नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेका कारणले पनि होइन, त्यो मत नेपाली कााग्रेस र माकेप्रतिको अरुचिको प्रदर्शन मात्र थियो । न हिजो मुलुक हााकेको थियो, न भविष्यको लागि कुनै भरपर्दो मार्गदर्शन गर्ने कार्यक्रम नै छ । मुलुकले परिवर्तनको नयाा चरणमा फड्को मारिसक्दा समेत सैद्धान्तिक दृष्टिले एमाले त पचासको दशकतिरको मानसिकतामै थियो । हो, संविधान निर्माणमा उसको हिस्सेदारी थियो, अवश्य । तर अर्काको योजनामा बन्दै गरेको घर निर्माणमा सघाउन आएको विनाज्यालाको मजदुरजस्तो मात्र थियो एमाले ! ‘टपर्टुइयाा पनि हुन्छ मूर्खमध्ये प्रतीष्ठित:’ भनेझैं हामी गोज्याङ्ग्रा नेपालीहरूको बुद्धि भुट्न ऊ सफल भयो । देश निर्माणको अभियानलाई घर निर्माणको उद्यमजस्तै मान्ने हो भने शिल्पी कालीगढलाई छोडेर मसला इाट्टा ओसारपसार गर्ने सहयोगी ज्यामीलाई घरनिर्माणको जिम्मा लगाउने मूर्खता हामीले गरेका छैनौं भन्ने आधार छजस्तो लाग्दैन । गुण हेरेर होइन, मुहार हेरेर दुलही छानेझैं एमालेलाई रोज्दा भित्र जति ठूलो खोक्रो हुन्छ, त्यति ठूलो आवाज निस्कन्छ भन्ने सिद्धान्तमा मादल मृदङ्ग बन्छन् भन्ने कुरा नेपाली मतदाताहरूको ध्यान नपुगेकै हो । एमाले भनेको मृदङ्ग मात्रै होइन, बसन्तपुर दरबार स्क्वाएरको ठूलो नगडाजस्तै हो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here