प्रेमको शक्ति र विवाहको आवश्यकता

30

–मिलन आफन्त
“दुई आत्माको मिलन प्रेम हो , प्रेममा आत्माले आत्मालाई नै देख्नु पर्दछ । आत्माको आवाज सुन्नु पर्दछ , मनन पनि गर्नु पर्दछ । तब मात्र हाम्रो आत्माले प्रेमको मिठो अनुभूति प्राप्त गर्नेछ । मानव जिवनमा विवाहको अत्यन्तै आवश्यकता छ ”
–विश्व प्रेमी (शिशिर )
”प्रेम”शब्द आफैमा अनेकार्थक छ, किनकी व्यक्ति समान त्यहाँको संस्कृति ,भाषाहरुको कारणबाट अर्थ वा बुझाईमा फरक हुन सक्छ । यसलाई प्रयोग गर्दा पर्यायबाची रुपमा माया, ममता , लभ जस्ता शब्द प्रयोग गरिन्छन् तर जे –जस्तो शब्दको प्रयोग र अर्थ लागे पनि एक प्राणीले अर्काे प्राणी प्रति गरिने अन्तरात्मादेखि निक्लिएको सामिप्यता , दयाको भाव प्रेम हो । दुई अक्षरले बनेको ‘प्रेम’शब्दको शक्ति असिमित छ । प्रेम विनाको संसार कल्पना पनि गर्न सकिदैन ।
धर्तीमा मानवको उत्पत्ति देखिनै मानव जीवनमा सबैभन्दा आवश्यक र शक्तिशाली प्रेमलाई नै मानिएको छ । पृथ्वी भरी मानव लगायत जति पनि जीवजन्तु छन् , ती सबै प्रेमका लागि जिउँदछन् । प्रेम मानव अनुभव,अनुभुति सँग सम्बन्धित छ र यो मस्तिष्कको एउटा जटिल प्रक्रियाको हिस्सा हो । मस्तिष्कले प्रेमको परमानन्द, अधिकार र एकोहोरो धुन उत्पन्न गर्छ । साँचो अर्थमा भन्ने हो भने प्रेम सम्बन्ध धेरै सँग हुने गर्दछ । जस्तो कि बुवा– छोरीको प्रेम, छोरा –आमा बिचको प्रेम , दाजु –बैनी बिचको प्रेम, दिदि– भाईको प्रेम , गुरुआमा विद्यार्थीको प्रेम आदी तर पनि वर्तमान विश्वमा प्रेमी प्रेमिका बिचको प्रेम , श्रीमान–श्रीमती बिचको प्रेम ,नर र नारी बिचको प्रेम र पुरुष–महिला बिचको प्रेम जे भने पनि दुई विपरित लिङ्गीको आपसी प्रेमलाई धेरै नै महत्व दिइएको पाइन्छ । रोमान्टीक प्रेम नै आधारित रहेर अधिकाश पुस्तक, चलचित्र, उपन्यास,कथा,कविता कोरिएको छ तसर्थपनि प्रेम भन्ने वितिक्कै हामीलाई पनि नर र नारी बीचको प्रेम भन्ने महसुस हुन्छ ।
रोमान्टिक प्रेम समाजशास्त्रमा मात्र सिमित छैन । मानव विकासक्रम , प्लाङ्कटन देखि बोन जोभी सम्मको विकासक्रममा बाँदरहरुले एक अर्का प्रति भावनात्मक रुपमा जोडिने क्षमताको विकास गरे । यही भावनात्मक सम्बन्धलाई आधुनिक मानवले प्रेमको रुपमा वर्णन गर्न थाल्यो । जब मानबको अभ्युदय भयो , जीवनलाई सहज बनाउन प्रेमको विजारोपण गरियो । इतिहाँस देखि वर्तमान सम्म प्रेमको महत्व दिन प्रतिदिन बढ्दै गईरहेको छ । प्रेम नै सबै सभ्यता ,धर्म र समाजको जननी हो । वास्तबमा भन्ने हो भने प्रेम ले नै वैवाहिक सम्बन्धलाई निरन्तरता दिन संभव हुन्छ । दाम्पत्य जीवन आनन्दमय होस् । विवादरहित होस् र जीवन पर्यन्त एक अर्कामा माया बसिरहोस भन्ने चाहाना सबैको हुन्छ । तसर्थ पनि वैवाहिक जीवनको सफलताको मुल साँचो नै प्रेम हो । जहाँ प्रेम छ , त्यहाँ नै जीवनको मुल्य छ तसर्थ पनि प्रेमलाई असिमित शक्तिको पर्याय भनिएको हो ।
शताब्दीऔ अघि देखिनै पुरुष र महिला बिच विवाहको व्यवस्था गरिुएको थियो । विवाह समारोहको पहिलो प्रमाण मेसो पोटा मियामा इ.पु २३५० को भेटिएको छ । यसको मतलब विवाह संस्थाको सुरुवात त्यहि मितिबाट भएको भन्ने होइन ।बरु त्यस मितीको प्रमाण चाँही भेटिएको भन्ने हो । यसरी विवाह संस्था आजसम्म प्राप्त प्रमाणको आधारमा करिब चारहजार तिनसय पचास वर्ष पुरानो देखिन्छ । मानव शास्त्रीहरुले त्यस अघिको हजारौँ वर्षमा विवाह अभ्यास रहेको र उनीहरु लचिलो सामुहिक संगठनको अधिनस्त बस्ने गरेको उल्लेख गरेको पाइन्छ ।
पुरुष र महिलाले एक आपसमा सुख, दुःखका भावनाहरु साट्न , जीवन आनन्ददायका साथ बिताउन विवाहको ब्यवस्था गरिएको हो । नारी र पुरुष एक अर्काको साथ बिना जीवन बिताउन असम्भव नै छ । आफुलाई मनपर्ने , भावना मिलेका युवा युवति बिच विवाह हुदा ईश्वर पनि खुसी हुने कुरा बताईएको छ । श्रीमान , श्रीमती बिचको प्रेम ईश्वरको उपहार हो । विवाह अब क्रियामा सिमित छैन । यो संस्थाका रुपमा उपस्थित छ । जसको स्वामित्व परिवार सक्ता , सामाजिक ,आर्थिक,कानुनी ,धार्मिक , संँस्कृतिक ,परम्पराबादी सक्ताले ग्रहण गरेका छन् ।
विवाह गरे पछि महिला पुरुषको घर जाने हुदा विवाहपछि पुरुष महिला माथि हाबी हुने गरेको पनि कदाकदा देखिन्छ तसर्थ श्रीमान छनौट गर्दा आफ्नो भावनाको कदर गर्ने र आफ्नो पेशालाई सम्मान गर्ने वर छान्नु पर्नेमा महिलाहरु अझबढी सचेत हुनुपर्ने देखिन्छ, त्यसोत यस्तै नियम पुरुषमा पनि लागु हुन्छ भन्नुको तात्पर्य पुरुषले पनि आफुलाई माया गर्ने श्रीमती रोज्नु पर्दछ । नारी र पुरुष भनेको एक रथका दुई पाङग्रा हुन । तसर्थ पनि नारी र पुरुषको अधिकारको विषयमा पनि हामी सचेत हुनु पर्दछ । नारी र पुरुष लाई समान अधिकार दिनु पर्दछ । विवाह अघि नै महिला आफ्नो खुट्टामा उभिने हुनुपर्दछ । महिलाका अभिवावकहरुले आफ्नो सन्तानलाई विवाह अघिनै आवश्यक शिक्षा –दिक्षा दिनु पर्दछ । छोरीलाई दाईजो दिनु भन्दा पनि अंशको नै ब्यवस्था गर्ने हो भने यो समाजमा महिलाको अवस्था मजबुद हुनेमा कुनै शंका छैन । तसर्थ यस विषयमा सरकारले पनि उचित ब्यवस्था वा कानुन निर्माण गर्नु आजको आवश्यकता हो । जीवन साथी बिच योग्यता र स्वाभिमानलाई सकारात्मक समर्थन पनि दिनु पर्दछ । एक अर्काको तारिफ गर्नु पर्दछ । उपहारको आदान प्रदान गर्नु पर्दछ । तबमात्र विवाह टिकाउ हुनेमा कुनै शंका छैन । अन्तमा , मानव जीवनमा विवाहको अत्यन्त आवश्यकता छ र प्रेम शक्तिको बलमा मात्र विवाह स्थायी हुन सक्छ भन्दा अत्यक्ति नहोला ,…………. धन्यवाद ।
मितिः २०७८÷५ वैशाख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here