कर्नाली प्रदेशमा समृद्धि ल्याउने कार्यक्रम

253

 डा. दीपेन्द्र रोकाया
१. नामाकरण र राजधानी सम्बन्धमाः
६ नं. प्रदेश सरकारले आफ्नो प्रदेशको नाम कर्नाली र त्यसको राजधानी सुर्खेत भनेर घोषणा गरिसकेको छ । प्रदेशको नामका सम्बन्धमा अधिकांशले स्वागत गरेको पाइयो भने केहीले अबदेखि कर्नालीको मान्ठ भइयो भनी हिनताबोध गर्न खोजेजस्तो पनि पाइयो । यसमा यो कुरा स्पष्ट हुन जरुरी छ कि कर्नाली भनेको सभ्यताको नाम हो । कर्नाली नदी कैलाशको दक्षिण भागबाट आएको र सोही जलाधारले निर्माण गरेको सभ्यता हो । भलै जनसंख्याको उठवस बढी मैदानी भागमा भयो र तिनले आफ्नो अनुकुलतामा गंगा सभ्यता भनी प्रचार गरेको पाइन्छ । यसको वास्तविक नामाकरण गर्ने विषय नै कर्नाली हुन्थ्यो र भयो । नामाकरणका विषयमा ६ नं. प्रदेश सरकारलाई बधाई दिनैपर्छ ।
यससँगै स्थायी राजधानी सुर्खेत घोषणा भयो । यससम्बन्धमा जुम्लाका केही साथीहरूको फरक धारणा उहिलेदेखि रहँदै आएको थियो र छ । यो धारणालाई थप टेवा दिदै प्रकाश रोकायाजस्ता साथीहरूले आफ्नो फरक तर्क सार्वजनिक गरेको पाइयो । ६ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले निर्वाचनमा होमिदा आफु प्रदेशको मुख्यमन्त्री र जुम्लालाई प्रदेश राजधानी बनाउने प्रमुख एजेण्डाका साथ प्रस्तुत हुनु भएको रहेछ । यो पंक्तिकार जुम्ला बजारमा पुग्दा निर्वाचन सम्पन्न भई सकेको थियो, नरेश जी लगायतका साथीहरूसँग भेट भयो । त्यतिबेला पनि उहाँ त्यही भनाई सुनाइरहनु भएको थियो । मैले त्यतिबेला नै भनेको थिएँ कि भोली यही एजेण्डाले तपाईलाई अप्ठेरो पार्न सक्छ, त्यसैले विजयको घोषणा हुँदा सकभर स्थायी र त्यही भएन भने गृष्मकालीन राजधानी बनाउन सकिने तर्क सुनाउँदा उपर्युक्त हुने धारणा सुनाएको थिएँ । उहाँले विजय हुने वित्तिकै त्यही अनुसार सम्बोधन गरेको समाचार सुनेको हुँ ।
नरेशजीले मुख्यमन्त्री हुन पाउनु भएन । तर कर्नालीकै अर्का योद्धा महेन्द्र बहादुर शाही मुख्यमन्त्री हुनुभयो । जेहोस् यी कर्नालीका योद्धाहरूले पैकेलाको रूपमा काम गर्ने बेला आएको छ । यतिबेला नरेशजीले जुम्ला राजधानी हुने कुराको सर्मथन पाउनु भएन । तर यसले गर्दा कतिपयले उहाँलाई सस्तो लोकप्रियताको लागि बोल्ने मान्छेको रूपमा सामाजिक सञ्जालमा लेखेको पाइन्छ । यतिबेला कर्नालीका साथीहरूले उत्तेजित हुनपर्ने अवस्था छैन । स्वर्ग क्षेत्र हिमाली भागमै छ । त्यहाँसम्म आउजाउ गर्न सहज मार्ग बनाउँदै जाऔ, सबैलाई अपनत्व दिने आधार निर्माण गर्दै जाऔ, त्यसपछि भौतिक संरचना छैन भनी पन्छिने ठाउँ रहने छैन ।

२. वालवालिकालाई लगानी, युवालाई रोजगार र वृद्धवृद्धालाई सम्मानको कार्यक्रम लागु होस्ः
केही समयअघि यो पंक्तिकार कर्नालीको एकीकृत सुरक्षित बस्ती विकास सम्बन्धी अध्ययन गर्न कर्नालीका चार जिल्ला हुम्ला, मुगु, जुम्ला र कालिकोट गएको थियो । त्यसभन्दा पहिले आम निर्वाचनको समयमा यस पंक्तिकार पनि निर्वाचनमा होम्मिने सोचका साथ प्रस्तुत भएको थियो । तर खुराफाती राजनीतिक धमिराहरूले अगाडि बढ्न दिएनन् । तरपनि म निराश छैन । हामीले गर्ने राजनीतिले मानव जीवनको आवश्यकता पुर्ति गर्ने सवाल पहिलो प्राथमिकतामा पर्नुपर्ने हुन्छ । यसैले भोलिका कर्णधार भनेका वालवालिका हुन्, उनीहरूलाई लगानी गर्नपर्ने देखेको छु । वर्तमान समाजलाई अगाडि बढाउने भनेको युवा पंक्तिले हो, उनीहरूलाई रोजगारी दिन सके उनीहरूसँग रहेको संसार हल्लाउने तागत उपयोग गरी विकास र सम्बृद्धिको यात्रा अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ । यही प्रकारले समाजमा जसरी महिला र दलितले आफुलाई दोस्रो दर्जाको नागरिक ठान्ने अवस्थालाई उठाउन समावेशी सिद्धान्त अपनाएजस्तै समाजका सल्लाहकार वृद्धवृद्धाहरूलाई सम्मान गर्न सके प्रेरणादायी ज्ञान, सीपका कुरा पाइने देखेको छु । मैले उनीहरूको ज्ञान र सीप उपयोग गर्नलाई समाजका थिङ्क ट्याङ्कका रूपमा स्वीकार्न सकिने आधारहरू देखी रहेको छु ।
यसैले वालवालिकालाई लगानी, युवालाई रोजगार र वृद्धवृद्धालाई सम्मानको कार्यक्रम प्रयोगमा ल्याउनपर्नेमा जोड दिदै आएको छु । यस विषयलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्नाली प्रदेशमा लागु गर्न सकिने जानकारी दिनु भएको छ । आशा छ, सामाजिक रूपमा यस कार्यक्रम र भौतिक पूर्वाधारका रूपमा सडक, ऊर्जा, सञ्चार र एकीकृत सुरक्षित बस्ती विकास गर्न सकेमा लेखेर राख्नुहोस्, कर्नाली प्रदेशले काँचुली फेर्नेछ ।

३. अनुभवका आधारमा विकास र सम्बृद्धि भन्ने कुराः
अहिलेसम्म देखिएका तथ्यहरूबाट मानव विकास सुचकांक, भौतिक पूर्वाधार तथा सामाजिक विकास सुचकांकका आधारमा कर्नाली प्रदेश सबैभन्दा पछाडि छ । भौगोलिक विकटता पनि उस्तै छ । प्रायःले यहाँको विकासलाई असम्भव देखेका छन् । यो वैज्ञानिक युगमा इच्छाशक्ति भयो भने असम्भव भन्ने कुरा केही छैन । यसैले कर्नाली प्रदेशको आत्मगत र वस्तुगत अवस्थालाई गहिरो गरी अध्ययन गर्नै पर्नेछ । यहाँको दिगो विकास होस् भन्ने हेतुले स्रोतको पहिचान गर्ने, परिचालन गर्ने व्यवस्थापकीय ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न सकिएको खण्डमा कर्नालीले विकास र सम्बृद्धि चाहना पूरा गर्न आइतवार पर्खेर बस्न पर्ने छैन ।
अनुभवहरूले के देखाउँदछ भने विकास सडक भएर सबै ठाउँमा पुग्ने गर्दछ । खुर्खेत–हिल्सा कर्नाली लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा एक वर्षभित्रै सम्पन्न गराउन सकेमा यसले उत्तरको छिमेकी देश चीनलाई मात्र होइन, पूर्वी युरोपसम्मको पहुँच प्राप्त हुनेछ । यस्तैगरी गमगढी–नाग्चेलाग्ना, दुनै–मोरिम्ला सडक मार्ग निर्माण हुनपर्छ । सिंगो कर्नाली प्रदेशलाई चाहिएको त केवलकार नै हो । तर त्यसका लागि ऊर्जा क्षेत्रको विकास हुन पर्दछ । किनकि हाम्रो भूगोलमा भूक्षयको डर निकै गुणा बढी छ । विज्ञहरूका अध्ययनहरूले यस प्रदेशमा २१ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने देखिएकै छ, माथिल्लो कर्नाली, तिला, नलसिंहगाडजस्ता परियोजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाकै रूपमा सम्पन्न गराइयो भने कर्नाली प्रदेशका हरेक नागरिक जन्मदैका लखपति र करोडपति हुने आधार बन्नेवाला छन् ।

 
प्रदेश सरकारले आगामी वर्षलाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरिसकेको छ । यो धुवाँ नआउने उद्योगका रूपमा चिनिएको पर्यटन उद्योग मार्फत् आम्दानीका स्रोतहरू विश्वभरबाट संकलन गर्न सकिने सम्भावनाहरू देखिएका छन् । हाम्रै जस्तो अवस्थामा रहेको भूटानले दैनिक २०० डलर खर्च गर्ने पर्यटक भित्र्याउने गर्दछ, हामीले ६५ डलर खर्च गर्ने लक्ष्यका साथ अघि बढ्न परेको राष्ट्रिय अवस्थामा केही सुधार ल्याउने आधार बनाउन सकिन्छ । यसका लागि आवश्यक पूर्वाधार तथा जोखिम ब्यवस्थापनका विषयमा योजनाबद्ध रूपमा हरेक गाउँ पर्यटकहरूको रोजाईको गाउँ बनाउन लाग्नै पर्दछ । यसका साथै, कर्नालीको जडिबुटी, फलफुल र अर्गानिक अन्नले औषधिको रूप पाउने गरी उत्पादनमा जोड दिऔ । यसो भयो भने अहिले कामका लागि कोरिया र अरवतिर गई हरेकाहरू कर्नालीमा कामका लागि आउने वातावरण बन्ने छ । यस्ता सवालहरू समाचार बनाएर आमसञ्चार माध्यमबाट फैलाउन त सकियोस् !

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here