नारी दिवस : इतिहास र वर्तमान

516

राज्यलक्ष्मी शाक्य 
आज मार्च ८, अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । विश्वभर नै महिलासम्बन्धी विभिन्न गोष्ठी, कार्यक्रम गरी महिला हक अधिकारका बारेमा यस दिवसमा चर्चा गर्ने गरिन्छ । महिला दिवस कसरी सुरु भयो त ? यसबारे विभिन्न धारणा र तथ्य पाइन्छ । फरकफरक देशमा सुरु भएको महिला आन्दोलनपश्चात् भएका सभासम्मेलनले मार्च ८ लाई अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको पाइन्छ । यस दिवसका अवसरमा मार्च महिनाभर महिलासम्बन्धी विभिन्न कार्यक्रमहरू हुने गर्दछ ।
नारी दिवसको इतिहास अर्थात् सुरुवातको कुरा गर्नुपर्दा सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रूपमा मान्ने गरिएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन ।
१९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई दिनमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्याे जब कि ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । हालका दिनहरूमा संसारभरका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् ।
यी त भए महिला दिवस सुरुवातको इतिहास । हाल त विश्वभ नै यो दिवस धूमधामका साथ मनाइन्छ । तर, बाँकी विश्वलाई छोडेर हाम्रो नेपालमा हेर्ने हो भने महिलाहरूको अवस्थामा पछिल्लो समय केही सुधार आइरहेको छ । राजनीतिलगायत राज्यका प्रमुख निकायहरूमा महिलालाई अवसर सृजना गरिएको छ । यद्यपि, धेरै स्थानमा कोटा सिष्टमका कारण महिलाहरू पछाडि समेत परेका छन् । जस्तै : हालै भएको स्थानीय निर्वाचनमा प्रमुख र उपप्रमुखमा एक जना महिला हुनैपर्ने बाध्यताका कारण अधिकांश महिलाहरूलाई स्थानीय निकायको उपप्रमुखमा सीमित गरिएको छ । जब कि प्रमुखका लागि उठेका पदमा धेरैजसो महिलाहरू विजयी भएका छन् । यो तथ्यले महिलाहरू पनि कार्यकारी भूमिका निर्वाह गर्न सक्षम छन्, पुरुषहरूसँग प्रतिस्पर्धा गर्न सक्छन् भन्ने तथ्यलाई स्पष्ट पार्दछ । तर, राजनीतिमा जस्तै अन्य स्थानमा पनि कोटाको सिष्टमका कारण केही असर देखिएको छ । मेरो भनाइको अर्थ कोटा प्रणालीको विरोध मात्र गर्नु होइन, तर महिलालाई कोटा सृजना गरेर थन्क्याउने होइन, उनीहरूलाई प्रतिस्पर्धा गर्नसक्ने बनाउनेतर्फ राज्यले ध्यान दिनुपर्छ ।
नारी दिवसमा सहरकेन्द्रित कार्यक्रम भयो भन्ने धेरै पहिलेदेखिको गुनासो हो र त्यो अहिलेसम्म पनि कायम छ । सहरमा भन्दा ग्रामीण भेकका महिलाहरू अझै पनि विभिन्न समस्याका कारण पीडित छन् । सामाजिक, पारिवारिक तथा शारीरिक समस्याका कारण उनीहरूको अवस्था दयनीय छ । त्यसकारण पनि ग्रामीण महिलाकेन्द्रित कार्यक्रम गर्न यस क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको ध्यान दिन आवश्यक छ ।             [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here