चार कम्युनिष्ट पार्टीहरू एकता नजिक

266

काठमाडौं । दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतामा अलमल भइरहँदा मुलुकमा अन्य कम्युनिष्ट पार्टीहरूबीच भने एकता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच एकता हुने भएको हो ।

 
यी पार्टीका शीर्ष नेताहरूको गत शुक्रबार बसेको संयुक्त बैठकले पार्टी एकताको आधार तयार पार्न थप छलफल र बहस अगाडि बढाउने निर्णय गरेको छ । क्रान्तिकारी ध्रुवीकरणको आवश्यकता भएको भन्दै चारै पार्टीका नेताहरू पार्टी एकता गर्न सहमत भएका छन् । बैठकपछि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रेस नोट जारी गरी पार्टी एकताको आधार तयार पार्न छलफल र बहस गर्दै जाने र संयुक्त रूपमा आन्दोलनमा जाने सहमति भएको उल्लेख गरेका छन् । आन्दोलनका कार्यक्रम ठोस गर्न अर्को बैठक बस्ने सिंहले जनाएका छन् ।

 
बैठकपछि जारी प्रेस नोटमा ‘चार पार्टी– नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), ‘विप्लव नेतृत्वको’ नेपाल कम्युनिष्ट पार्टी र ‘ऋषि कट्टेल नेतृत्वको’ नेपाल कम्युनिष्ट पार्टीको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा पार्टी एकताका लागि आधार तयार पार्न छलफल र बहस गर्दै जाने र सहमति भएका विषयमा संयुक्त आन्दोलन गर्ने ठेगान भएको छ । आन्दोलनका ठोस कार्यक्रम बनाउन अर्काे बैठक बस्ने निर्णय भएको छ’ भनी उल्लेख गरिएको छ । शीर्ष नेताहरूले एमाले र माओवादी केन्द्रबीच भएको एकता प्रक्रियालाई दक्षिणपन्थी ध्रुवीकरण भएको दाबी गर्दै आफूहरूले क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाएको दावी गरेका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here