–निमकान्त पाण्डे
नेदेख्नेहरुलाई के थाहा ?
मेरी आमा कस्ती थिइन् ?
नभोग्नेहरुलाई के थाहा ?
मेरी आमा कस्ती थिइन् ?
उनी रुपकी धनी थिइन्
उनी मनकी खानी थिइन् ।
विद्रोही स्वभावकी थिइन् ।
परोपकारी भावनाकी थिइन् ।
साँच्चै मेरी आमा अचम्मकी थिइन् ।
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ?
उनी अनपढ थिइन् ।
तर मेरो शिक्षाको स्रोत बनिन् ।
धनले निर्धन भएपनि, मनले धेरै धनी थिइन् ।
मेरो लालन, पालनका निम्ति उनी निकै धनी बनिन् ।
साँच्चै मेरी आमा अचम्मकी थिइन् ।
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ।
विपन्नहरुकी परोपकारी उनी
सम्पन्नहरुकी भिकारी पनि बनिन्
धेरै धेरैको उद्धार गरिन् उनले
कसै कसैसँग विद्रोह पनि गरिन् ।
सााच्चै मेरी आमा अचम्मकी थिइन्
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ?
सोझा पतिकी एक पत्नी हुन् मेरी आमा
तीन छोरा र तीन छोरीकी आमा हुन् मेरी आमा
नाबालक एक छोरी गुमाइन्
एउटा बिर्सनै नसक्ने जेठो छोरा गुमाइन्
रोइन्, कराइन्
आखिर, दुई छोरा र दुई छोरीमै चित्त बुझाइन्
साच्चै मेरी आमा अचम्मकी थिइन्
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ?
उनको विद्रोही सवभाव अलि चर्कै थियो ।
उनको चाहना पनि अलि अर्कै थियो ।
साम्यवादको परिकल्पना जस्तो उनको चाहना
चाहना पुरा नहुँदै आमा विदा भईन् ।
साच्चै मेरी आमा अचम्मकी थिइन्
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ?
सधै गुगाफाटाको अभावमा कराउने मेरी आमा
घाँटीमा लगाउने गहनाका लागि रुने मेरी आमा
उमेर बढ्दै जाँदा बच्चा जस्तै भइन् ।
पूर्णताको अनुभव गर्न नपाइ
शिवरात्रीको मध्यरातमा विलिन भइन्
साच्चै मेरी आमा अचम्मकी थिइन्
नदेख्नेहरुलाई के थाहा ?
नभोग्नेहरुलाई के थाहा ?
उनी कस्ती थिइन्, कस्ती थिइन् ?
(२०६२ फागुन २५ गते, आमाको निधन भएको ११औं दिन)















