नर्भिकले २५औं वार्षिकोत्सवको अवसरमा गर्‍यो रु २५ लाख सहयोग

381

काठमाडो । नर्भिक इन्टरनेशनल हस्पिटलले गत शनिबार बैशाख १ गते आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ । नर्भिकले आफ्नो २५औं बार्षिकोत्सवको अवसरमा प्रथम सगरमाथा आरोहण गर्न तयार रहेका महिला पत्रकार समूहलाई रु २५लाख सहयोग गरेको छ । समारोहमा नर्भिकको झण्डोत्तोलन र नर्भिक गानको प्रस्तुतिका साथ सगरमाथा आरोही प्रथम महिला पत्रकार समूहलाई आर्थिक सहयोग वापत रु २५ लाखको चेक हस्तान्तरण गरियो । प्रथम सगरमाथा आरोहण महिला पत्रकार समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई नर्भिक इन्टरनेशनल हस्पिटलका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले उक्त चेक हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा आरोहण टोलीकी नेतृ बुद्धाचार्यले भनिन्– ‘हाम्रो आरोहण सफल पार्न हजारौंको हात भएको भए पनि नर्भिकको साथ, स्नेह, प्रोत्साहन र आशीर्वाद अतुलनीय र अवर्णनीय हुनेछ ।’ पत्रकारितामा कलम चलाउँदै गर्दा सगरमाथा आरोहणको एक झिल्को उत्पत्ति भएता पनि अब उक्त झिल्को ज्वालामा परिणत हुने पनि उनले अठोट गरेकी छिन् ।
त्यस्तै नर्भिक हस्पिटलले का.म.पा वडा नं. ११ का नागरिकलाई स्वास्थ्य सेवामा नर्भिकद्वाारा पु¥याइने विशेष सहुलियत सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेको छ । सहमति पत्रमा नर्भिकका तर्फवाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह र वडा नं. ११ का तर्फबाट वडा अध्यक्ष हिरालाल तण्डुकारले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षर लगतै समारोहका प्रमुख अतिथि पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले केही प्रतिनिधि वडाबासीहरुलाई विशेष सहुलियत कार्ड प्रदान गर्नुभएको थियो । सहमति अनुसार वडा नं. ११ का सम्पूर्ण नागरिकहरूले नर्भिकद्वारा प्रदान गरिने स्वास्थ्य सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्ने छन् र जेष्ठ नागरिकहरुलाई विना प्रतिक्षा लाइनमा लाग्न नपर्ने गरी प्राथमिकताका साथ सेवा प्रदान गरिने छ ।

सो अवसरमा नर्भिकका सद्भावनादूतद्वयका तर्फवाट बरिष्ठ कलाकार हरिवंश आचार्यले नर्भिक नेपाली स्वास्थ्यसेवाको आस्थापुञ्ज भएको, यसले हजारौं नेपालीलाई स्तरीय स्वास्थ्य सेवाको खोजीमा भौतारिनुबाट जोगाएको, अरबौंको धनराशी विदेशिनबाट पनि जोगाएको र राष्ट्रकै स्वास्थ्य सुधार्न लागि परेको आफ्नो अनुभव सुनाउनु भयो । कार्यक्रममा नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्पिटललाई आजको अवस्थामा पु¥याउन डाक्टरहरु र कर्मचारी वर्गले पु¥याएको अतुलनीय योगदान, तिनको लगनशीलता र कर्तव्य परायणताप्रति उच्च सम्मान व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि सांसद प्रकाशमान सिंहले नेपाली निजी क्षेत्र फष्टाउनु र त्यसले देशलाई टेवा दिनुको एउटै कारण विगतका सरकारले अङ्गालेको उदार अर्थतन्त्र भएको भन्दै नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गरेकोमा नर्भिकको मुक्त कण्ठले प्रशंसा गर्नु भयो । सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष बसन्त चौधरीले २५ शैयाबाट सुरु भएको एक सानो स्वास्थ्य संस्थाले २५ औं बसन्त पार गर्दै एक सुनौलो इतिहास बनाएको अवसरमा वडा नं. ११ मात्रै नभएर राष्ट्रका तमाम जेष्ठ नागरिकहरुलाई आफूले सम्मान गर्न चाहेको आफ्नो धारणा राख्नु भयो । सोही अनुुसार अब उप्रान्त ७५ बर्ष माथिका सबै जेष्ठ नागरिकलाई स–सम्मान, बिना लाइन स्वास्थ्यसेवा पु¥याइने, सेवामा सहुलियत प्रदान गर्ने र हस्पिटललाई आजको स्तरसम्म पु¥याउने कर्मठ कर्मचारीहरुलाई एक महिनाको पारिश्रमिक बोनसस्वरुप प्रदान गर्ने चौधरीले उद्घोष गर्नु भयो । सगरमाथा आरोही महिला पत्रकार समूहको आरोहण सफलताको कामना गर्दै सफल आरोहण पश्चात् यो टोलीको स्वागत गर्न आफू आतुर रहेको धारणा पनि राख्नु भयो । अर्को औपचारीक समारोहको कार्यक्रम यही वैशाख ८ गते शनिबार गर्ने तय भएको हस्पिटलले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here