संसदीय कम्युनिष्ट पटमूर्खवादीहरू

168

हुकुमबहादुर सिंह
नेपालमा संसदवादी र संशोधनवादी कम्युनिष्टहरूको वर्चश्व एकदम बढेर गएको छ । परिणाम सर्वहारावर्गीय राज्यसत्ताको झण्डालाई निरन्तर उठाउने महान् काम अहिले ओझेलमा परेको छ । यद्यपि नेपालमा क्रान्तिकारी कम्युनिष्टहरूको केही पक्ष भने अझै सर्वहारावर्गीय क्रान्तिको सम्भावना जीवितै रहेकोमा विश्वास गुमाइसकेका छैनन् । उनीहरूले सर्वहारावर्गीय राज्यसत्ताको झण्डालाई निरन्तर उठाउने महान् कामको जिम्मेवारी लिन कसम खाएका छन् । नेपालमा अहिले पनि सर्वहारावर्गीय क्रान्तिका दुईवटा बाधक तत्वहरू यथावत छन, प्रथम साम्राज्यवादी शक्ति (नेपालको सन्दर्भमा भारतीय विस्तारवादको दमन र उत्पीडनबाट मुक्ति) र द्वितीय नेपालमा २०६२÷०६३ पछि स्थापित दलाल तथा नोकरशाही बुर्जुवावर्गको राज्यसत्ताका विरुद्ध जनवादी गणतन्त्रको स्थापनाका लागि नेपाली जनताको सशस्त्र विद्रोहको तैयारीको आवश्यकता छ । तर अहिले नेपालमा संसदवादी र संशोधनवादी कम्युनिष्टहरूको नेतृत्व गर्ने पंक्तिमा एमाले(एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेकपा(माओवादी केन्द्र) देखिएका छन् । नामैबाट यी दुवैलाई नेपाली जनताले कम्युनिष्ट भनेर गत निर्वाचनमा मत दिएर सरकारमा पठाएका छन् । तर साँचो अर्थमा ती कम्युनिष्ट होइनन् भन्ने कुरा स्वयम् उनीहरूले पनि मान्दै आएका छौं भनेर भनिरहेका अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका महान् गुरुहरू– माक्र्स र एङ्गेल्सका निम्न भनाइहरूबाटै स्पष्ट हुन्छ । माक्र्स र एङ्गेल्सले सन् १८४७ मा भन्नुभएका निम्न भनाईहरू अहिले पनि यी ‘कम्युनिष्टहरू’का लागि सत्य सावित देखिन्छन् । जसमा उहाँहरूले भन्नुभएको छः ‘उनीहरूले (सर्वहाराहरूले ले) बुर्जुवा क्रान्तिमा भाग लिन सक्छन् र लिनै पर्दछ किनभने यो मजदुर क्रान्तिको पूर्वबेला हो । तर मजदुरहरूले एकक्षणका लागि पनि बुर्जुवा क्रान्तिलाई आफ्नो अन्तिम उद्देश्य ठान्नुहुंदैन् ।’ यति स्पष्टसित मुक्तिका लागि सर्वहाराहरूले रोज्ने अघिल्लो मार्ग के हो भन्नेवारे भनिएका उहाँहरूका कुराहरूलाई नसुन्ने तर आफूलाई अझै उहाँहरूको चेला हौं भनेर भन्ने यी विरोधाभाषेहरूलाई के भन्ने ? अझ अचम्म त माकेका साथीहरूले आफूलाई एमालेभन्दा बढ्ता क्रान्तिकारी देखाउने कोसिस गर्न छाडेका छैनन् जबकिउनीहरू निसर्त एमालेमा विलय हुने भनिरहेका छन् । सन् १८४७ जुनबेलामा बुर्जुवावर्गको प्रगतिशील चरित्र थियो । त्यसबेलामा पनि माक्र्स र एङ्गेल्सले स्पष्टसित ‘तर मजदुरहरूले एकक्षणका लागि पनि बुर्जुवा क्रान्तिलाई आफ्नो अन्तिम उद्देश्य ठान्नुहुंदैन’ भनेर भनेको कुरालाई बिर्सेर मजदुरहरूलाई क्रान्तिको निरन्तरताको आवश्यकता छैन अब त यही संसदी यव्यवस्था जो प्रतिक्रियावादी बनेको छ, त्यसमै रमाउने भन्दैछन् । र अहिले नेपालका यी आफूलाई माक्र्सवादी–लेनिनवादी र माओवादी भन्नेहरू दलाल तथा नोकरशाही बुर्जुवावर्गको राज्यसत्तालाई कसरी दीर्घकालसम्मका लागि जीवनदान दिन सकिन्छ भनेर कसरत गरिरहेका छन् । त्यति मात्रै नभई त्यसलाई जनताका बीचबाट स्वीकृत लिन एमाले र माकेले पार्टी एकताको नाटक मञ्चन गर्दैछन् । नामले एमाले भने पनि वामाओवादी भने पनि र भोली एकता पछि नेकपा कम्युनिष्ट पार्टी जे भने पनि माक्र्सको उक्ति सापटी लिने हो भने यिनीहरू सही मानेमा ‘संसदीय पटमूर्खवादी’हरू हुन् । यी संसदहरूका वामपन्थी प्रतिनिधिहरूलाई यो रोग–संसदीय पटमूर्खवादीको रोगले आक्रमण गरेको छ, जुन भविश्यमा एउटा माहामारी भएर नेपाली कम्युनिष्ट आन्दोलनमा भित्रिने सम्भावना बलियो छ । नेपाली संसदहरूका यी एकीकृत वामपन्थी प्रतिनिधिहरू जसलाई माक्र्स र एङ्गेल्सले विश्वको सन्दर्भमा ‘संसदीय पटमूर्खवादी’हरू भन्नुभएको थियो, भारतीय विस्तारवादसित नेपालको राष्ट्रियता र सार्वभौमिकतासित सौदावाजी गर्न पनि पछि पर्नेवाला छैनन् भन्ने भर्खरै केपी ओलीको दिल्ली भ्रमणमा मोदीसित गोप्य भेटघाटमा भएका गरिएका अनौपचारिक सहमतिका बुँदाहरू बाहिर आएपछि मात्रै स्पष्ट हुने नै छ, जसरी केहीवर्ष अघि गिरिजाले टनकपुरबारे गरेको राष्ट्रघात गरेका थिए, त्यसैको पुनरावृत्ति शिवाय अरु के होला र ?

[email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here