काठमाडाैं । अब नेपाल टेलिकमका फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरू ग्राहक सेवा नम्बर १ सय ९८ बाट परिवर्तन गर्न सकिने भएकाे छ।
नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १ सय ९८ मा डायल गरी फाइबर टु द होम (FTTH) जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका FTTH सेवाका प्याकेजहरू परिवर्तन समेत गर्न सक्ने सुविधा टेलिकमले ल्याएको हाे।
टेलिकमका अनुसार यसैगरी सोही ग्राहक सेवा नम्बर १ सय ९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NtTV) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका आधारभूत तथा प्रिमियम प्याकेज खरिद गर्न पनि सकिने छ।
ग्राहकले १ सय ९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू सब्सक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्नेछन्।
यस सेवा सञ्चालनसँगै FTTH सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएकाे टेलिकमले जनाएकाे छ।


















