नयाँ सन्देश

150

 डा. दीपेन्द्र रोकाया
यो वर्षको शुरुको दिन कर्नालीवासीका लागि विशेष दिन बन्न गयो । प्रधानमन्त्री केपी शर्मा ओलीले रारा तालको छेउमा बसेर ५० मिनेट लामो सम्बोधन देशवासीका नाममा गर्नुभयो । उहाँले पाँच वर्षभित्रै देशले मुहार फेरिन्छ भनी ठोकुवा गर्नुभयो । यसै सम्बोधनका क्रममा कर्नालीको जडीबुटी, जलस्रोत, खानी, पर्यटनको प्रचुर सम्भावनालाई प्रदेश सरकारले पूरै उपयोग गर्नुपर्ने र त्यसमा संघीय सरकारबाट गर्नुपर्ने आवश्यकीय सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँको कथन थियो, ‘विगतका दिनहरूमा रोग, भोग र जाडोले मर्नु परे पनि अब कोही कसैले पनि त्यसरी मर्नु पर्ने अवस्था आउन दिइँदैन ।’
नेपालमा देखिएका समस्या समाधान गर्न सरकार सक्षम रहेको जानकारी दिँदै निर्वाचनबाट जनताले आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेकाले नेपाल बनाउने अठोट सुनाउनुभयो । नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सम्बन्ध राख्ने बताउनुभयो । अब नेपालका युवाले विदेशिन नपर्ने अवस्था सिर्जना गर्ने र देशभित्र रहेको भ्रष्टाचारलाई सम्झौताहीन तरिकाले कानुनी र संरचनागत सुधार गरिने जानकारी दिनुभयो ।
अब कोही पनि बालबालिका विद्यालय बाहिर नरहोस् भनी मुगुकै थिन्ले साङ तामाङलाई विद्यालयमा भर्ना गर्नुभयो । कर्नालीका अरु जिल्ला डोल्पा पुग्नुभयो । त्यहाँको वस्तुस्थिति बुझ्नुभयो । त्यसपछि हुम्ला पनि पुग्नुभयो । हुम्लाबाट चीन जोड्ने हिल्सा नाकाको हवाई अवलोकन गरी सिमकोटमा भन्नुभयो, ‘कर्नाली प्रदेश र हुम्ला जिल्ला यसअघि पछाडि परेका भए पनि अब भने विकास र समृद्धितर्फ लाग्छन् ।’ उहाँले स्थानीय जनताको माग पनि सुन्नुभएको थियो ।
२०७४ लाई विदा गर्दै कर्नाली प्रदेश सरकारले रारा तालको छेउमा मन्त्रिपरिषद् बैठक सम्पन्न गरेको थियो । कर्नाली प्रदेशको विकासको ढोका खोल्न कुनै कसर बाँकी नराख्ने इच्छाशक्ति र प्रतिबद्धता प्रदेश सरकारका निर्णयहरूबाट थाहा हुन्छ । यसखालको उच्चस्तरीय गतिविधिबाट थाहा हुन्छ कि कर्नाली प्रदेश सरकारले आफ्नो समयलाई सदुपयोग गरिरहेको छ । सरकारसँग इच्छाशक्ति, ऊर्जा र सपना भएको बेला आम नागरिकबाट साथ, सहयोग हुनु पर्दछ ।
हुन त नेपाली समाजमा सकारात्मक धारणा निर्माण गर्न निकै पापड पेल्नु पर्दछ । तर यो सकारात्मक परिवेश निर्माण गर्ने आधार विन्दु बनेको छ । मान्छेहरूलाई लाग्दछ कि, संसारै उज्यालो बनाउने सूर्य पनि अस्ताउन मात्र पश्चिम पुग्दछ । यो प्रकृतिको नियम हो । यस नियमलाई फेर्न सकिँदैन तर राज्यसत्ताको प्रवृत्तिलाई रूपान्तरण गर्न सकिन्छ । सरकारबाट भएको यो सम्बोधन तथा प्रतिबद्धता पनि यसै रूपमा बुझ्न सक्नु पर्दछ ।
मधेशले मधेशमा आगो बालेर, विभिन्न वितन्डा मच्चाएर मात्र स्थापित भयो । कर्नालीले जनयुद्ध, जनआन्दोलनमा संघीय राज्य व्यवस्थाका लागि लडाइँ लड्यो । निर्णायक तहमा नेतृत्व नहुनुको परिणाम कर्नालीले अहिलेसम्म संवैधानिक तथा कूटनीतिक क्षेत्रमा प्रवेश नै गर्न पाएन । कर्नालीलाई छुटाएर गर्ने विकासले यो देश कहाँ पुग्छ र ? यसैले भन्नै परेको छ कि कर्नाली पछि पारिएको क्षतिपूर्तिसहित कर्नालीले विकास र समृद्धिको अवसर पाउनु पर्दछ ।
हामी सबैले विकास र सम्वृद्धि चाहेका छौं । विकास सडक भएर सबै ठाउँमा पुग्ने गर्दछ । खुर्खेत–हिल्सा कर्नाली लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा रात दिन नभनी एक वर्षभित्र सम्पन्न गराउनु पर्दछ । यसैगरी सुरक्षित एकीकृत घनाबस्ती निर्माण गर्नेतर्फ केन्द्रित हुन पर्दछ । भोलीका कर्णधारहरूलाई लगानी गरी ७० प्रतिशत प्राविधिक तथा ३० प्रतिशत सैद्धान्तिक शिक्षा दिन आवासीय विद्यालयको व्यवस्था गर्न पर्दछ । अहिले हजारको लगानीले ५ वर्षमा लखपति र १० वर्षमा करोडपति बन्न सकिने कृषि, फलफूल तथा जडिबुटीको खेती गराउन लगाउनु पर्दछ । यसका साथै इतिहासका साक्षी वृद्धवृद्धालाई सामाजिक भत्ताको मात्र नभई सम्मान गर्ने आधार बनाउन सके कर्नाली सभ्यताले नयाँ इतिहास बनाउने छ ।
यसका लागि आम जनताले देख्ने सरकार भनेकै स्थानीय कर्मचारीहरू हुन् । स्थानीय सरकारी अड्डामा रहेका कर्मचारीहरूमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताजस्तै क्रियाशीलता देखिएन भने लोकतन्त्र जनतासम्म पुग्न सक्तैन । यसो भएकाले जनताको चाहनाबमोजिम राजनीतिक सम्बोधन हुन सक्छ तर त्यहीअनुरूप कर्मचारी प्रशासनमा जागरण ल्याउन पनि आवश्यक छ । किनकि कर्नालीमा जाने कर्मचारीले आफ्नो बढुवाको नम्वरका लागि मात्र हो भन्ने बुझेका छन् भन्दा फरक पर्दैन । जनताको सेवा गर्ने ऐतिहासिक अवसर पाइएको छ भन्ने अवधारणा कर्मचारीहरूको बीचमा पनि स्थापित गर्न आवश्यक छ । यसो भयो भने कर्नालीको विकास बजेटले जहाज चढेर तलमाथि गरी विल मिलाएर सकिने परिपाटी बसी रहने छैन । यसतर्फ सरकार चनाखो हुन पर्छ ।
प्रधानमन्त्रीको सम्बोधन सुन्दै गर्दा मैले बरोबर याद गरिरहेको कुरा हो– हुम्लाका माननीय छक्कबहादुर लामाले भन्ने गर्नुहुन्छ, राजा महेन्द्रले रारा पुगेपछि मुगाली भोटेसँग ‘तिम्रो राजा को हो ?’ भनी सोध्दा सोझो मुगालीले ‘हाम्रो राजा दलाई लामा हो’ भनेका कारण हिमाली जिल्ला विदेशीका लागि प्रतिबन्धित हुन पुगेका थिए । यसैले नेपाल सरकारले दुर्गम विकास समिति गठन ग¥यो । हुन त परिस्थिति त्यो ठाउँबाट माथि उठिसकेको छ । यसैले कर्नालीले हरेक विषयलाई नयाँ ढंगले सकारात्मक तरिकाबाट बुझ्ने र बुझाउने बेला आएको छ । नयाँ वर्ष २०७५ का दिन प्रधानमन्त्रीको रारा सम्बोधनको नयाँ महत्व छ, यसलाई कर्नाली प्रदेशले सदुपयोग गर्न सक्नु पर्दछ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here