चन्द्रप्रकाश बानियाँ
विश्राम सधैं आरामदायक हुँदैन । हस्पिटलका बेडमा पल्टेर आराम गर्नुपर्ने बाध्यताका दिनहरू सबैका लागि कष्टकर हुने गर्छन् । प्रतिकूल परिस्थितिवश हातपाउ खुम्च्याएर जिउनुपर्ने निष्क्रिय जिन्दगी मानिसहरूका लागि बोझिलो बन्छ । मानिस डिप्रेसनको शिकार बन्नसक्छ र आत्महन्ता भावनाको विकास हुन्छ भन्छन् मनेविज्ञानवेत्ताहरू ! निको हुँदैन भन्ने जान्दाजान्दै पनि मृत्युलाई पर्खनुपर्ने पट्यारालाग्दो जीवन बाच्न विवश हुन्छन् भनिन्छ अर्बुदजस्तो असाध्य रोगका विरामीहरू ! सम्भवतः हामी नेपालीहरूलाई पनि नियतिले त्यस्तै विवशतापूर्ण क्षणहरूतिर डो¥याइरहेको छ कि भन्ने आशंका उब्जन थालेको छ । जीवन धान्ने समस्याले नेपालीहरूलाई काकाकुल बनाइसकेको छ । समृद्धिको गफ हाँक्ने नेता र राजनीतिक दलहरूको भने खाँचो छैन । तर सबैका मुखका थुतुरी मात्र हुन् । कसैसँग मुलुकलाई सही दिशामा डो¥याउने नीतियोजना भएको देखिँदैन । विश्वासिलो आधार कसैले दिन सकेका होइनन । एकातिर बाबुरामहरू कुर्लन्छन्, अर्कोतिर ओलीहरू ‘भूई न भाँडामा’ भन्न मिल्नेगरी बुर्कुसी मारिरहेकै छन् । दुवैथरीको भाका एउटै भए पनि चिन्तन फरक छ, दृष्टिकोण फरक छ, बुझाइ फरक छ, समाधान फरक छ, गन्तव्य पहिल्याउने अनुमानहरू फरक छन् । गति फरक छ, चेष्टा पनि फरक छ । ‘काग कराउँदै गर्छ पिना पनि सुक्दै गर्छ’ भनेजस्तै नेताहरू कराउँदै गरे पनि नेपाली मतदाता भने अलमलमा परेनन् । अर्थात् ‘यता जाउँ कि उता जाउँ’को अन्यमनस्कता मतदातामा देखिएन । निर्धक्क भएर ओलीमार्गमा भरोसा प्रकट गरिदिए, अभिभारा सुम्पे । बाबुरामहरू कराउँदै गर्दा नेपाली मतदाताहरू ओली डक्ट्रिनको पछि लाम लागिसकेका थिए । जे देखेर पछ्याए पनि पछ्याए । बुझेर कुदे पनि कुदे, नबुझेरै कुदे पनि कुदे । कमसेकम पाँच वर्षका लागि यताउता चल्मलाउने ठाउँ अब बाँकी रहेन । होस् कि नहोस् होला कि भनेर आशा गर्नुको विकल्प रहेन । जे होला भनेर आशा गरिएको हो त्यो नभएपछि निराशा हात लाग्नु स्वाभाविक हो । समय नतुरिँदै लक्षण नकारात्मक देखिन थाल्यो भने बाँकी अवधि कटाउनु कम्तिको अत्यास ठहरिँदैन । त्यस्तो दिन नआओस् भनेर पशुपतिनाथसँग प्रार्थना गर्न सकिन्छ, नेतालाई भन्न सकिन्न । त्यस्तो अवसर नै मिल्दैन । अवसर मिले पनि जनताको आवाज नेताहरूको कान बतास लाग्दैन । त्यस्तो परम्परा हामीकहाँ विकास भएकै छैन ।
बिहानले दिनको संकेत गर्छ । तर तथ्य के पनि हो भने संकेत देखेर गर्नु के ? दिन बदल्ने सामथ्र्य मानिससँग हुदैन । बिहानैदेखि बादलले आकाश छोप्न थाल्यो भने बिस्कुन सुकाउने काम विलम्बित भैछोड्छ । विहानको लक्षण हेरेर दिनको नियति बदल्न सकिँदैन । बादललाई सरापेर दिन बिताउनुको विकल्प रहँदैन । जति पट्यारलाग्दो भए पनि भोलिको उज्यालो दिनको प्रतीक्षा गर्नैपर्छ । हुन त नयाँ सरकारको हनीमून पिरियड समाप्त भैसकेको छैन । संसदीय परम्परामा यो अवधिलाई चुप लागेर रमिता हेरिदिनुपर्ने समय हो भनिन्छ । त्यो नियम विपक्षीलाई लाग्ने हो । सत्ताका समर्थक पक्षधरहरूले लक्षण राम्रो देखिएन है भनेर सचेत गराउनु कर्तव्य नै मानिनुपर्ने हो । नेपालीहरूमा त्यस्तो चेत पलाएको देखिदैन । जाउँला बैकुन्ठैमा, नाच्दै, गाउँदै, बजाउँदै भनेर मादल मुजुरा ठोक्दै जमिनमा थचारिरहने भजने संस्कृतिको नसाले हामीलाई छोडेको छैन । सरकारका पाइलाहरू कतातिर लक्षित छन् भनेर हेक्का राख्नुपर्ने, सचेत गराउनुपर्ने आवश्यकता सरकारका समर्थक शुभचिन्तकहरूले देखेकै छैनन् । अतिविश्वासले मानिसलाई डुबाउन पनि सक्छ । हे भगवान, नेपालीहरूलाई डुब्नबाट जोगाउ भन्नुको विकल्प पो के छ र ?
प्रधानमन्त्रीको पछिल्लो सफल भारत भ्रमणले रेल र पानीजहाजको सुनौला सपना देखायो । सपना देख्नु अपराध होइन । अनावश्यक भन्न पनि मिल्दैन । जिन्दगीभर पापकर्ममा डुबेको मानिसले पनि मरेपछि स्वर्गवासको कल्पना गर्न पाउँछ । रेल चढ्ने र पानीजहाज कुदाउने नेपालीहरूको जातै होइन, कर्ममै छैन भन्न मिल्दैन । भौतिक उन्नतिको शिखरमा पुगेका हाम्रा छिमेकीहरू पनि हामै्र जातिभाईहरू नै त हुन् । उनीहरूमा जस्तै हामीभित्र पनि सुख वैभवको सपना छ । आज नभए भोली त होला कि भनेर आशा गर्न पाइन्छ । कुरो कति मात्रै हो भने भोलि खिर खाउँला त्यसैले आज भोकै बसौैं भन्ने खालको आश्वासनमा रमाउनु भने मुर्खता होइन भन्न मिल्दैन । भोलिको लागि सुस्वादु भोजनको लोभ देखाउनेले आजका लागि रुखासुखा नै किन नहोस् भोजनको प्रबन्ध गर्नुपर्ने आवश्यकता बोध गरेन भने त्यसलाई व्यवहारवादी चिन्तन भन्न मिल्छजस्तो लाग्दैन । उदाहरणको लागि प्रधानमन्त्रीको भारत भ्रमणको एउटा प्रसंग उठाउँ । दुईदेशीय सीमा निकट भारतले निर्माण गरेका बाँध सडकजस्ता संरचनाहरूका कारणले बर्खायाममा नेपालका दर्जनौं गाउँहरू डुबानमा पर्छन् । हजारौं बिगाघाको बालीनाली नष्ट हुनेगर्छ । त्यो सानु तर ज्वलन्त समस्याको बारेमा भारतीय पक्षसँग कस्तो वार्ता भयो, कस्तो सम्झौता भयो वा कस्तो समझदारी गरियो भनेर जान्ने बुझ्ने उत्कण्ठा नेपालीहरूमा हुने नै भो । भ्रमणबाट फर्केका प्रधानमन्त्रीले भरोसालाग्दो जवाफ दिनुपर्ने आवश्यकता देखेजस्तो लागेन । अनधिकृत रूपमा बनेका बाँधहरू भत्काउनुपर्ने आवश्यकता थियो, प्रधानमन्त्रीले भने कोशी उच्चबाँध निर्माणगर्ने सम्भmौता गरेर फर्केका हुन् भने राम्रो हुँदै छ भनेर कसरी भरोसा गर्ने ? तेल भर्न भारत छिरेका नेपाली ट्यांकरहरू उतै अडकिएका छन् । तिनले निकास पाउने कुरा थाति राखेर गंगामा जहाज चलाउने सपना बोकेर फर्कने प्रधानमन्त्रीको तिलस्मी सोचले परिणाममा नेपाललाई रसातालमा धकेल्ने छैन भनेर कसरी विश्वास गर्ने ? आकाशको तारा गन्ने लोभमा घरको छतमा विनासुरमा कुद्ने मानिस जमिनमा पछारिने कुरा स्वाभाविक परिणति हुन्छ नै ।
राराकिनारबाट भाषण ठोकेर सुर्खेत झरेका प्रधानमन्त्रीले ‘समृद्धिको यात्रा कर्णालीबाट सुरु भएको’ उदघोष गरिदिए ! प्रधानमन्त्रीले जप्ने गरेको समृद्धिको परिभाषा के हो भन्ने कुरा कतैबाट खुलेजस्तो लाग्दैन । भारत जाँदा त्यतैबाट समृद्धिको यात्रा सुरु भएको थियो । कर्णाली पुग्दा उतैबाट समृद्धिको अभियान सुरु भएछ ! प्रधानमन्त्रीको पाइलो जहाँ पर्छ त्यहीँ समृद्धिको फसल लाग्ने हो कि कसो ? कथाको राजा मिदासले प्राप्त गरेको गोल्डेन टचको वरदानजस्तो समृद्धि फलाउने विशिष्ट शक्ति हाम्रो प्रधानमन्त्रीको पाउमा छ भनेर कसरी पत्याउनु ? उनका पाउमा गोरखनाथको समृद्धिको दही पोखिएको पो हो कि ? समृद्धि भनेको भगिरथ राजाको पदचाप पछयाउँदै कैलासबाट सगरपुत्रहरूको चिहानसम्म लुरुलुरु आउने भागिरथी गङ्गाजस्तै हो कि ? होइन भने कुन बाटो हिँडाएर मुलुकलाई कति समयमा कुन गन्तव्यमा पु¥याउने हो भनेर सरकारले योजना बनाएजस्तो देखिँदैन । गफ गरेरै समृद्धि आइदिने भैदिएका भए पञ्चायतले पनि विकासको मूल फुटाउने कुरा गरेकै थियो । गणतन्त्रको लागि नेपालीहरूले किन रगत पसिना बगाउनु पथ्र्यो र ?
बोल्नुपर्ने कुरा त हाम्रा प्रधानमन्त्रीले अघिल्लो कार्यकालमै बोलिसकेका हुन् । अब थप्नुपर्ने जरुरत छजस्तो लाग्दैन । कार्यान्वयनमा एकोहोरिएर लाग्नुपर्ने बेला हो यो । नानीदेखि लागेको बानी नत्याग्ने हो भने प्रमको बोलीको के तौल बाँकी रहला र ? उसै पनि मरेपछि स्वर्गीय सुखभोगको कल्पनामा रमाउने संस्कृतिमा अभ्यस्त छौं हामीहरू ! सपना देखाउनेले देखाउँदै गर्लान्, पत्याउनेहरू रमाउँदै गरौंला तर आफ्नो काँधमा रहेको देशको सपना पूरा गर्ने अभिभारा नेतृत्वले बिर्सिदियो भने भावी पुस्ताको जीवन अन्धकारमा धकेलिने छ । नेताहरूमा जिम्मेवारीबोध विस्मृतिको गर्भमा बिलाइसक्यो भन्नु हतारो होला । नयाँ सरकारले पहिलो बजेट बनाउँदै छ । आशा गरौं, आगामी बजेट यथार्थको धरातलमा उभिएर प्रकट हुनेछ । गँजडी गफ धेरै सुनियो । तिलस्मी सपनाहरू धेरै देखियो । अब त सुन्दर सपना सजाएर राख्ने ठाउँ पनि नेपालीहरूका साँघुरा झुपडीहरूमा बाँकी छैन । आशा गरौं, नेताहरूले बोलीमा लगाम लगाउने छन् । धर्तीमा टेकेर हिँड्न सिक्ने छन् । असम्भव सपनाको खेतिगर्ने प्रवृत्तिबाट मुक्त हुनेछन् । रेलमार्ग वा जलमार्ग होइन, कमसेकम सडकमार्गहरू राम्रो बन्नेछन् । किनकि गोरटा, डोरेटा र घोरेटाहरूबाट नेपालीहरूको काम चल्न अब छोडिसकेको छ । अब पनि केही हुदैन भनेर निराशा व्यक्त गर्नु नपरोस्, यिनले पनि गफ दिनु बाहेक केही गर्ने भएनन् भनेर गुनासो गर्नु नपरोस् । कहिले पाँचवर्ष बित्ला र यिनको चङगुलबाट मुलुकले मुक्ति पाउला भनेर व्यग्रतापूवृक दिन गन्न नपरोस् । त्यस्तो क्षण नेपालीहरूका लागि सबभन्दा कष्टकर ठहर्नेछ किनकि अर्को आशालाग्दो विकल्प पनि दूर क्षितिजसम्म कतै देखिएको छैन ।
(- जनधारणा साप्ताहिक)
















