देवकी तिमल्सिना ‘समीक्षा’
मैले धेरै लामो समयदेखि सिक्किमका बारेमा सुनेकी थिएँ । पुग्न पाएको थिइनँ । संयोग जुट्नु पर्दो रहेछ, पुगिदो रहेछ । जब मैले तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनमा भाग लिन पाएँ । सिक्किमको बारेमा भनेको, सुनेको र देखेकोमा निकै फरकपन पाएँ ।
वि.सं. २०७४ चैत ८ गते काठमाडौबाट पूर्वतिर लाग्यौ । सूर्य जता उदाउँछ, त्यतैतिर हाम्रो गन्तब्य थियो । सिन्धुली खुर्कोटको सडक खण्डमा पहिलो पटक गुड्न पाएँ । मेरो जिन्दगी यो सडक बन्नुअघि यिनै घुम्तीहरूमा कति घुमेका छन् कति ? आजभोलि मान्छेहरू सहजै सेल्फी डाँडो, सिन्धुलीगढी सहजै आउजाउ गर्ने गर्दछन् । उतिबेला त्यो अवस्था थिएन । आफ्नै आँखाले यस्तो देख्दा एकातिर रमाइलो लाग्छ, अर्कातिर पीडा बोध हुने गर्दछ । किनकि यो राजनीतिले कोल्टो फेरेपछि यस्तै हुने रहेछ ।
मध्ये दिनबाट तराईको मैदानी भागमा गाडी तीब्र गतीमा गुड्दै थियो । मेरो दिमागमा विगतका दिनहरूमा आउजाउ गरेको गाउँठाउँ तथा चुरे पहाड आँखा अगाडि आउन थाले । जनताको न्यानो माया पाएका दिनहरू स्मरणीय त छन् नै । त्यसभन्दा बढी पीडा हामी जिउँदा सहिदहरूले खेप्न परिरहेको छ । यसैले कवि भूपिले मरेर जानेहरू हो बाँचेर त हेर बाँच्न कति गाह्रो छ भनी प्रश्न गर्नु भएको रहेछ झै लाग्दछ । मैले सिन्धुलीका होनहार योद्धाहरू विशाल, कुमार, पिकेहरू सम्झँदै गर्दा लाहान नकट्दासम्म यस्तै यस्तै कुरा सम्झन पुगेँ । मेरो जीवनसंगीसँग नाता कस्ने दिन उहाँले सँधै आजको जस्तो हुँदैन भनेजस्तै आज हामीले पालेको आर्दश, देखेको सपनाभन्दा भिन्न अवस्थामा बाँच्न परिरहेको छ ।
छोडौ, यो भावनाको कुरा । साँझपख हामी झापाको विर्तामोडको मितेरी कान्तिपुर गेष्ट हाउसमा जम्मा हुँदा करिव ६० जना भयौ । झापामा श्रष्टाहरूको भेटघाटले साहित्यिक माहौल जम्दै गयो । मेची पुल तरेपछि छिमेकी देशमा पाइला टेकेको जानकारी पाइयो । तर आफुलाई आफ्नै देशमा छुजस्तो लागिरहेको थियो ।
हामीलाई दार्जलिङ शाखाका साथीहरूले सिलीगुढीमा स्वागत गर्नुभयो । त्यसपछि हामी सिक्किम सरकारले पठाएका तीन गाडीमा बसेर लस्करै गयौ । रमाउँदै र जिज्ञासा राख्दै । नयाँ गन्तब्यको जिज्ञासा पनि बेग्ला बेग्लै हुन्छन् ।
रम्फु पुग्यौ । हातमा फुल, दियो सहित टिकाको थाली बोकेका पण्डितसहितको स्वागतार्थ उभिएको लाइन देखियो । वा ! हामीले उहिले आन्दोलनका बेला आफ्नो नेतृत्व गणलाई स्वागत गर्दाको क्षण झै । लस्करै उभिएकाहरूले स्वागत गरे । गुलाफको फुल दिनुभयो । टिका र खादा लगाउँदै सगुन दिनु भयो । स्थानीय सरकार, साहित्यकार र स्थानीय महिला सुरक्षाकर्मीको न्यानोपन पाइयो । भब्य र सभ्य स्वागत पायौ । जान पर्ने टाढा नै थियो । पानी दर्केर प¥यो । दर्केर पानी परेको लय र संगीतसँगै हामी रमाएका थियौ । टिस्टा खोला पुग्दा ऐतिहासिक सन्दर्भले नछुने कुरै भएन । यो त हाम्रो पहिलेको सिमा रेखा होइन र ? साथीहरूले जिज्ञासा राख्न थाले । देशको विगत र हाल यहाँ पनि सम्झन प¥यो ।
रात छिपिसकेको थियो, सिक्किमको राजधानी गान्तोक पुगियो । तर हामीलाई गान्तोकभन्दा निकै माथि रहेको अर्थात् गान्तोकको कैलाश भन्न सुहाउने डाँडामा पु¥याइयो । सिक्कम शाखाले स्वागत ग¥यो । परिचय भयो । साँस्कृतिक कार्यक्रम देखाइयो । बस्ने, खाने व्यवस्थासहित पुरै कार्यक्रमको जानकारी प्राप्त भयो ।
निर्धारित कार्यक्रमको उद्घाटन भारत वर्षको पहिलो विधानसभाको अध्यक्ष कलावती राईले गर्नुभयो । त्यो कार्यक्रमको संयोजन सिक्किम सरकारका मन्त्री तुल्सीदेवी राईले गर्नु भएको थियो । अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, उपाध्यक्ष तथा नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकाली लगायतको विशेष उपस्थितिमा कार्यक्रमको उद्घाटन भएको थियो ।
सम्मेलनले साहित्यकार इन्द्रबहादुर राई लगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै शुरु भएको कार्यक्रममा सिक्किम शाखाकी अध्यक्ष डा. पुष्प शर्माले स्वागत मन्तव्य राख्नुभयो । माउण्ट जायन विद्यालयका विद्यार्थीले स्वागत गीत सुनाए । आत्मीयताको रौनक बढ्दै गयो ।
प्रमुख अतिथि सिक्किमकै मन्त्री कलावती राई हुनुहुन्थ्यो । उहाँको सम्बोधनले हामी सबैलाई प्रभावित बनायो । ‘साहित्य भनेको मनको पीडा रहेछ, त्यो ओकल्दा बुट्टा भरियो भने साहित्य बन्ने रहेछ’ भन्दै जाँदा उहाँले आफ्नो वाल्यकालमा पु¥याउनुभयो । नुनको भारी खेपेको, भरियाहरूको जिन्दगी तथा तेलको पैचो माग्दा जमिन्दारले लगाएको बचन सुनेर भावुक बन्यौ हामी ।
सिक्किममा प्रजातन्त्र ल्याउन जेलनेल बस्न परेको, आफ्नो कालमा ५० रूपैयाको मासिक तलब खाने जमाना फेरिएर अहिले महिलाले डल्लै ५० प्रतिशत अधिकार पाएको उहाँको तुलनात्मक अनुभव अझ रोचक थियो । ‘छोरीहरूले विदेशमा पढ्न जान ७५ प्रतिशत अवसर दिइएको मात्र छैन, सम्पूर्ण सरकारी कामकाज आमाको नामबाट हुन्छ’ उहाँले भनीरहँदा हाम्रो ध्यान निकै आर्कर्षित भएको थियो ।
उहाँको भाषण आफ्नै वेगमा गइरहेको थियो, आफुले वर्गीय, लिङ्गीय, क्षेत्रीय उत्पीडनको बिरुद्ध जेलनेल बस्न परेको, विगत साढे दुई दशकको राजनीतिक जीवनमा विरक्तिन परेको आफ्नै वाध्यताहरूमाथि डुब्दै थिएँ । आफुले कुनै अवसर नपाए पनि चित्त बुझाउन बाध्य भएँ, हामीले लडेर स्थापित गरेका मुद्दाका कारण नेपालमा पहिलो पटक महिलाले महलामैत्री अधिकार संवैधानिक रूपमा पाएका छन् ।
सिक्किमका मन्त्री तुल्सीदेवी राईले ज्ञानको कुनै लिंग, क्षेत्र र वर्ग नहुने बताउँदै राजनीतिक इच्छाशक्तिले सिक्किम मुक्त भएको दावी गर्नुभयो । उहाँहरूको सरलता, भावुकताबाट निकै प्रभावित भएँ । नेताहरू जनशैलीमा प्रस्तुत हुन्छन् भने तिनको महत्व बेग्लै हुन्छ ।
यस सम्मेलनमा सिक्किम शाखाको तर्फबाट सविता तामाङ र नेपाल शाखाबाट लिला लुइटेलले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रहरू महिला साहित्यकारहरूलाई देश विदेशमा कसरी स्थापित गर्न सकिन्छ ? भनी केन्द्रित भएका थिए । ती कार्यपत्रमाथि प्रा. ज्ञानु अधिकारी र डा. सावित्री कक्षपति मल्लले टिप्पणी गर्नुभयो । हो, साहित्य समाजको ऐना । तर त्यही ऐना देखाउनका लागि महिलाहरूले पुरुषहरूबाट साथ पाउँदा र नपाउँदा वा पहुँच स्थापित गर्न निकै धेरै पापड पेल्न परिरहेको व्यवहारिक तर्क वितर्कको चिन्तनमननहरू सुनियो ।
डा. कविता लामाले सहजीकरण गरेको ‘नेपाली साहित्यको विश्वब्यापीकरण अभियानमा महिला साहित्यकारको भूमिका’ का सन्दर्भमा सानु घिमिरे (अष्टेलिया), सुमन वर्षा घिमिरे (नेपाल), डा. रेणु थापा ‘सोलु’ (नेपाल), लतिका जोशी (भारत) र दुर्गा रिसाल (अमेरिका) ले आ–आफ्ना भनाई राख्नु भएको थियो । उहाँहरूले नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गरी विश्व साहित्यमा पु¥याउन सकेमा मात्र त्यसको विश्वब्यापीकरण गर्न सहज हुने र त्यसका लागि सचेत रूपमा संस्थागत पहलकदमी लिन आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
उमा सुवेदीले सहजीकरण गरेको ‘महिला लेखनमा चुनौति र अवसर’ विषयमा सन्ध्या पहाडि (नेपाल), मुन्नु गौतम (भारत), बाबा बस्नेत (नेपाल), डा. शान्ति माया गिरी (नेपाल) र सुस्मा ओमाता (जापान) ले आफ्नो विचार राख्नुभयो । लेखन आफैमा चुनौति हो, तर त्यसको प्रकाशन, प्रचार प्रसार र प्रेरणा भनौ वा सकारात्मक समीक्षा अझ महत्वको विषय हो । यस विषयको अन्तरक्रियाले आफ्नो लेखन, चुनौति र अवसरका बारेमा आत्म समीक्षा गर्ने आधार बनायो । म मेरो आफ्नै लेखन, वातावरण र संसारका विषयमा हराउन पुगेँ ।
त्यसपछि विश्व काब्य गोष्ठी भयो । साहित्यको रौनक बढ्यो । सबैले आफ्ना दिलहरू पोखिरहेका थिए । रचनामा कस्तो तागत हुन्छ, त्यहाँ देखा पर्दै गयो । रचनामा बाँच्ने आधार यस्तैमा स्थापित भएर हुने न हो ।
साँझ सिक्किम सरकारले आयोजना गरेको रात्रीभोजमा सहभागी भयौ, गान्तोक होटल टासीदेलेमा । यो मेरो पहिलो विदेशी सरकारको पाहुना छाक थियो ।
०००
साहित्यिक माहौलले ऊर्जा थप्दै गएको थियो । कार्यक्रममा सहभागी श्रष्टाहरूले आफ्ना पुस्तकहरूको प्रर्दशनी गरे । मैले मेरो जीवन संगी डा. दीपेन्द्र रोकायाद्धारा लिखित पुस्तक नाफाको जिन्दगी प्रर्दशनीमा प्रस्तुत गरेँ । किनकि यसमा मेरा पनि साझा भोगाईहरू छन् । आजका दिनसम्म मैले आफ्नै नाममा पुस्तक प्रकाशित गरिसकेको छैन । यसमा मेरा केही प्राविधिक पक्षले काम गरेको छ । यस्तो बेला आएर रचनाको महत्व बोध हुने रहेछ । त्यसमा चित्रकलाको समेत प्रर्दशनी भएको थियो ।
माहौल हिजोभन्दा आज अझ भब्य हुँदै थियो । एकातिर पञ्चेबाजा, अर्कातिर फुलमाला लिएर बसेका सिक्किमका साहित्यकारहरूको बाक्लो सहभागिता रहेको थियो । वातावरण निकै उत्साहित थियो । खासमा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ त्यस दिनको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँको आगमनसँगै भब्य स्वागत भयो । दिप प्रज्वलन, सरस्वती बन्दना भयो । सिक्किमको चर्चित झाँकीहरू प्रस्तुत गरियो । याक नाच देखाउँदा सबै जनामा नयाँपन देखा प¥यो । विभिन्न भाषिक नृत्यहरू पनि देखाइयो ।
कार्यक्रमको औचित्यका सम्बन्धमा संगठनका केन्द्रीय अध्यक्ष पदम वि.क.ले प्रकास पार्दै गर्दा यस सम्मेलनको उचाई बढिरहेको आभास हुन्थ्यो । विभिन्न श्रष्टाहरूको पुस्तकलाई सामुहिक रूपमा विमोचन भयो । त्यसपछि मुख्यमन्त्री पवन चाम्लिङलाई अभिनन्दन गरियो । भवन भट्ट सर्वोकृष्ट महिला साहित्यकारको पुरस्कार गिता खत्री र विशिष्ट सम्मान कविता पौडेल (नेपाल) र डा. शान्ति क्षेत्री (भारत), डायस्पोरा सम्मान सकुन्तला ज्ञवाली (अमेरिका), प्रमिला शर्मा (अमेरिका), नवरत्न पुरस्कार विन्ध्या सुब्बा (भारत) र प्रशंशा पत्र सिक्किम शाखालाई दिइएको थियो ।
कार्यक्रमको आर्कषण बढ्दै गयो । प्रायःलाई थाहा छ, सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ राजनीतिज्ञका साथै साहित्यकार पनि हुनुहुन्छ । उहाँले आफ्नो भाषणमा राजनीति र साहित्यलाई जोडेर भन्नुभयो– ‘विश्वमा राजनीति ठुलो जिम्मेवारी हो भने साहित्य जीवनको आास दिने र समय सापेक्ष रहने आधार हो ।’
‘रामायणले आर्दश सिकाउँदछ, तर तपाईहरू सिताजस्तो आत्महत्या गर्ने अवस्थामा नपुग्नुहोस्’ कवि चाम्लिङको यो तर्क गजब लाग्यो हामी नेपाली महिला साहित्यकारहरूलाई । यो तर्क महिलालाई बर्बादीबाट बचाउने आधार पनि हो ।
‘आजको युग ज्ञान र बुद्धिको युग हो । मानव जातिको विकास भनेकै नारी जातिको विकासको पनि विकास हो । तर मानव समाजमा नारीहरूलाई सबभन्दा बढी अन्याय भएको छ भने मानव विकासको सबभन्दा नराम्रो पक्ष भनेको नारी जातिलाई जिउँदो वस्तुको रूपमा प्रयोग गर्नु हो ।’ उहाँले आफु ‘पुरुष हुँ तर मभित्र नारी शक्ति छ र करुणामय माया पनि छ । पुरुषविना महिला अधुरो, महिलाविना पुरुष अधुरो, तर महिलाविना संसार अधुरो हुन्छ’ भन्दा सबैले ताली बजाएर समर्थन जनाएपछि वातावरण थप उल्लासमय बनेको थियो ।
नेपालको कन्या दानलाई गाडी र जमीनको संज्ञा दिदै नारी कुनै किनबेचको सामान बनाइनु हुँदैन भन्दै मुख्यमन्त्री चाम्लिङले हरेक नारीले पुरुष सरह अंश पाउनुपर्ने कुरा अघि सार्दै सिक्किममा सबै आमाहरूको नाममा डल्लै अधिकार दिएको बताउनुभयो । उहाँले यसो भनीरहँदा हामीले स्थापित गर्न चाहेको कुरा कम्युनिष्ट नै चाहिदो रहेनछ त भन्ने जस्तो पनि भयो । किनकि नेपालमा कम्युनिष्टहरूले सरकारको नेतृत्व गरेका छन्, महिला नै संवैधानिक क्षेत्रका प्रमुख स्थानमा पुगेका छन्, तर सिक्किमको जति महिला अधिकार स्थापित भएको पाइदैन ।
कवि पवन चाम्लिङका भाषणले मान्छेको चुनौति मान्छेसँग होइन, समकालीन ज्ञान, विज्ञान र प्रविधिसँग रहन पर्नेमा केन्द्रित गराएको थियो । यसबाट समानता र सम्मानको मुल्य बढ्छ भन्ने उहाँको धारणा थाहा पायौ ।
नेपाली साहित्य अराजकतावादमा फसेकोमा गहिरो चिन्ता सिक्किममा पनि भइरहेको थियो । विश्व काब्य गोष्ठीमा यस्तै भावहरू छताछुल्ल भएका थिए । सहभागीहरूले आफ्नो रचनाको वाचन गरे । विश्व साहित्यमा नारी हस्ताक्षर बढाउन उत्प्रेरणा दिदै सिक्किम घोषणा–पत्र जारी भयो ।
औपचारिक कार्यक्रमको समापनपछि हामीलाई अन्तर्राष्ट्रिय साहित्य समाजको सिक्किम शाखाले तथागतस्थल, राभाङ्ला, साम्डुक्ची र सिद्धेश्वरधाम (चारधाम) को भ्रमण गराई मेची पुलसम्म पु¥यायो । सारमा सिक्किम यात्राबाट नारी छाप बोकेर फर्कन पाइयो ।
(- जनधारणा साप्ताहिक)













