आखिरमा एमाले र माकेले पुँजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरोलाई अगाडि ल्याए

206

हुकुमबहादुर सिंह

नेपालमा संसद्वादी र संशोधनवादी कम्युनिष्टहरूले यो वर्षको लेनिन दिवस मनाएनन्, उनीहरूले राष्ट्रिय सभाहलमा नेकपाको स्थापना दिवस मात्रै मनाए । लेनिनको फोटो राख्न पनि उनीहरू (संशोधनवादका नयाँ जोगी माके र संशोधनवादको पुरानो जोगी एमाले) बीचमा विवाद देखियो । यसमा संशोधनवादको पुरानो जोगी एमालेको नै सिद्धान्ततः विजय नै देखियो । यद्यपि नेपालमा विद्यमान अन्य माक्र्सवादी लेनिनवादी माओवादी कम्युनिष्टहरूले आ–आफ्नो हिसाबले लेनिनको १४८औं लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस मनाए ।
अहिले नेपालमा संसद्वादी र संशोधनवादी कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भएको छ । तर नामबाट मात्रै यी कम्युनिष्ट हुन् । सिद्धान्त, विचार र राजनीतिका हिसाबले ती कम्युनिष्ट होइनन् भन्ने कुरा स्वयम् उनीहरूले पनि भन्दै आएका छन्, व्यवहारमा पुष्टि र पुनर्पुष्टि गर्दै आएका छन् । विश्व कम्युनिष्ट आन्दोलनमा जुन बेलादेखि माक्र्सवादको खोल ओढेर माक्र्सवादविरोधी धाराको रूपमा संशोधनवादको उदय भयो, त्यसै बेलादेखि त्यसकाविरुद्ध निरन्तर संघर्ष पनि चल्दै आएको छ र नेपाली कम्युनिष्ट आन्दोलनबारे पनि सत्य हो । लेनिनको सम्पूर्ण राजनीतिक जीवनकालभरि माक्र्सवाद र संशोधनवादबीच गहन वादविवाद र संघर्ष चलेको इतिहास छ । यस दौरानमा लेनिनले माक्र्सवादको रक्षा मात्रै गर्नु भएन अपितु यसको खजानामा महत्वपूर्ण प्रस्थापनाहरू पनि थप्नुभयो, जसलाई आज हामी माक्र्सवाद लेनिनवाद भन्दछौं । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा भएका विकास क्रममा समय समयमा नयाँ अनुहारमा देखापरेका बन्र्सटीनहरू, काट्स्कीहरू, ख्रुश्चेभ, ब्रेझनेभ, ल्युशाओचीहरू, नानारूपी अवसरवादीहरूको विरुद्धको संघर्षमा माक्र्सवादको अजेयता र जीवन्तता पुष्टि हुँदै आएको छ । तर अहिले नेपालमा संशोधनवादीहरू संशदवादको आहालमा रमाई रमाई सत्ता स्वाद लिँदै छन् र तत्काललाई हेर्दा उनीहरूको बोलबाला देखिन्छ । यो त्यस बेलासम्म देखिने छ, जुनबेलासम्म नेपालका सच्चा कम्युनिष्टहरूले नेपाली जनताका बीचमा अवसरवाद र संशोधनवादको वास्तविक सार र रूपलाई उदङ्ग्याउन सफलहुने छैनन् ।

 
लेनिनको सुप्रसिद्ध कृति ‘राज्य र क्रान्ति’मा भन्नु भएका निम्न भनाइहरू अहिले नेपालका यी नामधारी कम्युनिष्टहरूलाई पनि लागू हुन्छ, जसमा उहाँले भन्नु भएको छ, ‘अहिले माक्र्सको शिक्षाको सम्बन्धमा जुन कुरो घटिरहेको छ, त्यही कुरो इतिहासको क्रममा क्रान्तिकारी विचारकहरू र मुक्तिको लागि संघर्षरत उत्पीडित वर्गहरूका नेताहरूका शिक्षाको सम्वन्धमा बारम्बार घट्ने गरेको छ । महान् क्रान्तिकारीहरूको जीवनकाल माथिका वर्गहरूले उनीहरूलाई निरन्तर रूपमा लखेट्ने र हैरान पार्ने काम गरेका छन् र उनीहरूका शिक्षाहरूप्रति अत्यधिक जंगली दुर्भावना, अत्यधिक भयानक घृणा र निन्दा तथा बद्नामीका अत्यधिक विवेकहीन अभियानहरूका साथ व्यवहार गर्ने गरेका छन् । उनीहरूको मृत्युपछि उनीहरूलाई निर्दोष पवित्र मूर्तिमा फेर्न, उनीहरूलाई सन्त बनाउन र उत्पीडित वर्गहरूको सान्त्वनाका लागि र तिनीहरूलाई छकाउने उद्देश्यले प्रयत्नहरू ग्रिरहन्छन् र त्यसका साथै, क्रान्तिकारी शिक्षाको सारतत्वलाई मेटाउन, त्यसको क्रान्तिकारी धारलाई भुत्ते पार्न र त्यसको अशिष्टीकरण गर्न खोजिन्छ । वर्तमान समयमा पुंजीपति वर्ग र मजदुर वर्गीय आन्दोलनभित्रका अवसरवादीहरू माक्र्सवादको चिरफार गर्नमा एकसाथ लागेका छन् । उनीहरू माक्र्सवादी शिक्षाको क्रान्तिकारी आत्मालाई पन्छाउछन्, हटाउँछन् र बंग्याउछन् उनीहरू पुँजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरोलाई अगाडि सार्छन् र त्यसको प्रशंसा गर्दछन् ।

 
लेनिनले करीब डेढ सय वर्ष अगाडि भनेका उल्लेखित कुरा नेपालमा आखिरमा यही वैशाख ९ गते राष्ट्रिय सभाहलमा एमाले र माकेले पुंजीपति वर्गलाई मान्य हुने वा मान्य देखिने कुरोलाई अगाडि ल्याएर देखाइदिए । पुंजीपतिवर्गलाई मान्य हुने वा मान्य देखिने कुरो भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरूलाई उनीहरूले देख्न नपर्ने ठाउँमा मिल्काउने हो, जुन काम एमालेले उसको पार्टी कार्यालयमा साम्राज्यवादका प्रतिनिधिहरूको उपस्थितिलाई सहज बनाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओका फोटाहरूलाई उनीहरूले नदेख्ने ठाउँमा थन्काएको थियो र यसलाई उसले पहिलेदेखि गर्दै आएको थियो । अब यो पुँजीपतिवर्गलाई मान्य हुने वा मान्य देखिने कुरो गर्नु माकेको लागि नौलो थियो तर एमालेसितको मायाप्रितिलाई गहन र बलियो, कसिलो बनाउन ऊ पनि त्यसो गर्न तम्सिएको छ । उसले यसको सुरुवात एमालेसित विलयसँगै गर्दै छ । वैशाख ९ गते राष्ट्रिय सभाहलमा भएको घटना माकेका लागि पहिलो हो । माकेभित्रका क्रान्तिकारी दिल र दिमागहरूले यस्तो कम्युनिष्टको नाममा भएको बद्नामीलाई कति समयसम्म टुलुटुलु हेरेर बस्ने हुन्, सबैको आँखा अब त्यतातिर सोझिएका छन् । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here