१२९औं मई दिवसको ऐतिहासिक महत्व

256

हुकुमबहादुर सिंह
नेपाल र विश्वभरका क्रान्तिकारी कम्युनिस्टहरूका लागि यो १२९औं मे दिवस विशेष उल्लेखनीय र उल्लासमय छ, किनभने यो वर्ष यो दिवसको ठीक पाँच दिनमा मे ५ पर्छ जुन कार्ल माक्र्सको जन्म दिन हो । र, यो साल उहाँ जन्मेको २०० वर्ष पुग्दछ । यो कार्ल माक्र्सको २०० वर्षको जन्मोत्सव हो भने उहाँ र उहाँका अनन्य मित्र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रको पहिलो अङ्क प्रकाशनको १७०औं महोत्सव पनि हो । कम्युनिस्ट घोषणापत्र यस्तो जीवित हतियार हो, जसको शक्ति र सार्थकता झन्झन् चम्किलो बन्दै गएको छ । कम्युनिस्ट घोषणापत्रमा उल्लेखित निम्न भनाइहरू, ‘हरेक समाजको इतिहास भनेको वर्गसङ्घषको इतिहास हो ।’ ‘समग्र समाज दुईटा ठूला शत्रु क्याम्प, दुईटा ठूला एक अर्काका विरोधी वर्गहरू ः पुँजीपति र सर्वहारामा विभाजित छ ।’ ‘आधुनिक राज्यको राजनीतिक शक्ति केवल एउटा समिति हो, जसले सम्पूर्ण पुँजीपति वर्गको प्रशासकीय कार्यहरू गर्दछ ।’ यस्तो व्यवस्थाले लगातार संकट उत्पादन गर्दछ । यस्तो संकटको समाधान पुँजीपति वर्गबाट सम्भव छैन । यिनीहरूको काम त झन् झन् पछि नयाँनयाँ संकटको उत्पादन हो । पुँजीपति वर्गको यस्तो संकटबाट दीर्घकालीन मुक्ति गर्ने शक्ति भनेको सर्वहारा वर्ग नै हो । पुँजीपति वर्गको विरुद्ध लाग्ने क्रान्तिकारी शक्ति भनेको सर्वहारावर्ग नै हो । अन्य शक्तिहरू, निम्न पुँजीपति, मध्यमवर्ग, राष्ट्रिय पुँजीपति वर्ग आदि सबै यसका मित्र शक्तिहरू हुन सक्छन् । तर यिनीहरूले उनीहरूका वर्गीय चरित्रका कारण नेतृत्वदायी वर्ग हुन सक्दैनन् । अहिले आफूलाई अब्बल क्रान्तिकारी भन्नेहरू केहीले सर्वहारावर्गलाई बाहिर राखेर मध्यमवर्गको नेतृत्वमा क्रान्तिको कुरा गर्दै छन् । तर तिनीहरूमा कम्युनिस्ट घोषणापत्रको सामान्य ज्ञान पनि पाइँदैन वा तिनीहरू जानीबुझी सर्वहारावर्गीय क्रान्तिलाई ओझेलमा पार्न चाहन्छन् र घुमाई फिराई क्रान्तिको आवरणमा पुँजीपति वर्गको सेवा गर्न चाहन्छन् ।

 
मे दिवस भनेको पुँजीपति वर्गको सत्तामाथि सर्वहारा वर्गको सत्ता स्थापनाका लागि संघर्षको अभियान हो । यसमा कम्युनिस्टहरूको नेतृत्वको महत्वपूर्ण स्थान र भूमिका रहन्छ । हुन त अहिले नेपालमा र विश्वभरि क्रान्तिकारी कम्युनिस्टहरू र दलाल पुँजीपति वर्गका राजनीतिक दलहरू दुवैले मे दिवस मनाउने गर्दछन् । ती दुईले मनाउने मे दिसको लक्ष्य र उद्देश्यमा काफी अन्तर छ । क्रान्तिकारी कम्युनिस्टहरूले मे दिवसमार्फत सर्वहारावर्गलाई कम्युनिस्ट सिद्धान्त, विचार र कार्यदिशाले प्रशिक्षित गर्दै दलाल पुँजीपति वर्गको राज्यसत्तामाथि कब्जा गर्ने राणनीति र कार्यनीतिको विकास गर्दछ भने दलाल पुँजीपति वर्गका राजनीतिक दलहरूको काम के कसरी हुन्छ, मजदुरवर्गलाई सम्भावित क्रान्तिबाट कसरी टाढा राख्न सकिन्छ, त्यसका लागि काम गर्ने हो । नेपालको वर्तमान सन्दर्भमा नेपाली कांग्रेस, एमाले, माके आदिले एउटै काम गरिरहेका छन् त्यो भनेको नेपालका मजदुर किसान सुकुम्वासी आदिलाई विभिन्न प्रलोभनमा क्रान्तिबाट टाढा राख्ने हो ताकि उनीहरूको शासन जो एक दिन ध्वस्त हुनेछ, त्यसको जीवनलाई केही दिन पर घचेट्ने प्रयास हो ।

 
माक्र्सको समयको पुँजीवाद लेनिनको समयमा आइपुग्दा त्यसको रूप साम्राज्यवाद बन्यो, जो लगातार संकटपूर्ण अवस्थाबाट गुज्रिँदै यहाँसम्म आएको छ । माक्र्सवादी–लेनिनवादी–माओवादीहरूको वर्तमान जिम्मेवारी भनेको क्रान्तिकारीहरूको बीचको एकता हो । र माक्र्सवाद–लेनिनवाद–माओवाद नै वर्तमानको माक्र्सवाद हो र यो विश्व सर्वहारावर्गको मुक्तिका लागि नेतृत्वदायी संगठन हो र यसको बलियो आधार यिनीहरूको बीचको एकता नै हो । माक्र्सले १७० वर्ष पहिले आह्वान गरेको ‘विश्वभरका सर्वहारावर्ग एक हौं’ अहिले त्यसको आवश्यकता झन् बढेको छ । त्यसैले सबै देशका सर्वहारावर्गहरू एक हौं, यो सर्वहारावर्गको अन्तर्राष्ट्रवादी नारा हो भने देशभित्रका सबै सर्वहारावर्गको एकता यसको अभिन्न अंग हो । अनि हामी भन्न सक्छौं, ‘भविष्यको साम्यवाद हाम्रा हातमा छ ।’ यसका लागि १२९औं मई दिवसको उपलक्ष्यमा एक साथ भनौं, ‘नेपालका क्रान्तिकारी माक्र्सवादी–लेनिनवनदी–माओवादी एक हौं । संशोधनवादलाई नेपालको धर्तीबाट निमिट्यान्न पार्न कम्मर कसेर लागौं ।’ [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here