काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तर्पmबाट गम्भीर विषयमा पनि छलफल हुने संकेत एक मन्त्रीले गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धिबारे छलफल हुने जानकारी दिएका छन् ।
काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने पनि जानकारी गराए । विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरूपमा हेरिएको उनको भनाइ छ ।
मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरूपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराए । नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिक रूपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
फरक प्रसंगमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको भन्दै उनले भने, ‘यसलाई सफल पारेरै छाड्नुपर्छ, हामीबीच धेरै कुरा मिलिसकेका छन्, अब थोरै विषयमा सहमति हुन बाँकी छ, छिट्टै एकता हुन्छ ।’
पूर्वराजदूत एवं परराष्ट्रविद् डा.शंकर शर्माले विगतमा दुवै देशबीच केही उतारचढावका सम्बन्ध रहेको भए पनि अहिले सम्बन्ध सुधारको बाटोमा रहेकाले नेपालले आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।
(- जनधारणा साप्ताहिक)
















