मन्त्रिपरिषद्को निर्णय सच्याइएकोमा चिकित्सक संघको स्वागत

175

काठमाडौं । नेपाल चिकित्सक संघले मन्त्रिपपरिषदले असोज २ गते गरेको निर्णयलाई सच्याएर सार्वजनिक गरेको भन्दै त्यसको स्वागत गरेको छ। तर, ‘जेल विथआउट बेल’ (धरौटीबिना जेल चलान गर्ने व्यवस्था) र यसअघि भएको सम्झौता कार्यान्वयनमा सरकार नबोलेको भन्दै आन्दोल यथावत राखेको छ।

शुक्रबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको छ। पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको विज्ञप्तिमा ‘सञ्चार माध्यमले लेखेकै भरमा आन्दोलित भएको’ भन्ने शब्दप्रति आपत्ति जनाइएको छ। डाक्टरहरुले सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बोलेको भिडियो हेरेर आन्दोलन गरेको बताएका छन्।

पत्रकार सम्मेलनपछि संघका महासचिव डा लोचन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषदको विज्ञप्तिमा उल्लेख गरिएको– विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर चिकित्सकहरु आन्दोलित भएको भन्ने वाक्यांशप्रति संघ घोर आपत्ति प्रकट गर्छ। तथापि नेपाल सकारको सच्चिएर आएको निर्णयलाई सकारात्मक रुपमा लिइएको जानकारी गराउँछु।’

संघले शुक्रबारदेखि देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द आह्वान गरेको थियो। सम्मेलनमा पहिलो दिनको बन्द कार्यक्रम पूर्ण सफल भएको बताइएको छ। अन्य मागका सम्बन्धमा कुनै कदम अगाडि नबढाइएको भन्दै संघले बन्द कार्यक्रमलाई अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता दिन आफ्ना सम्पूर्ण शाखा कार्यालय, नेपालभरिका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सूचित गरेको छ।

आन्दोलनका कार्यक्रमका क्रममा हुन सक्ने कुनै पनि घटनामा नेपाल सरकार पूर्ण जिम्मेवार हुने संघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here