ओलीलाई सत्तामा पुर्‍याउनकै लागि थियो नाकाबन्दी ?

200

काठमाडौं / संविधानसभाबाट संविधान जारी भएपछि भारतबाट सुरु भएको नेपालविरुद्धको नाकाबन्दी भारतको मात्र नभएर नेपालका नेताहरूको समेत योजनामा भएको रहस्य खुल्दै जान थालेको छ । ०७२ असोज ३ मा नयाँ संविधान जारी गरेपछि सुरु भएको नेपाल भारतबीचको तिक्तताले नाकाबन्दीसम्मको अवस्था सिर्जना गरेको जस्तो देखिएको थियो । नेपालले ७० वर्षदेखिको जनताको चाहना पूरा गर्न आफ्नै जनप्रतिनिधिले लेखेको संविधान जारी गरेको भनिए पनि त्यो संविधान पनि नेपालको हितमा बनाउन नसकिएको कुरा पटक–पटकका संशोधन प्रयासबाट पुष्टि भइसकेको छ । नेपाली पक्षबाट भारतीय पक्षसँग तिक्तता साध्नुपर्ने कुनै कारण थिएन, तथापि भारतले भने त्यसलाई बदलाको रूपमा लिँदै नाकाबन्दीसम्मको अवस्थामा उत्रिएको जस्तो देखिए पनि त्यो नाकाबन्दी भारतको दीर्घकालीन योजनाको एउटा पाटो मात्र भएको विश्लेषकहरूले दावी गर्न थालेका छन् ।
तत्कालीन अवस्थामा भारतले नाकाबन्दी लगाएपछि वर्तमान प्रधानमन्त्री केपी ओली त्यसको विरोधमा खरो उत्रिएका थिए । त्यतिबेला उनले अडान देखाएकाले जनताको पनि उनलाई साथ मिलेको थियो । ओलीलाई वर्तमान सत्ताको बागडोर सम्हाल्ने वातावरण त्यही नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडानले नै बनाइदिएको हो । तर, हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री ओलीले देखाएको आशक्ति र भक्तिभावले भने त्यतिबेलाको नाकाबन्दी र ओलीको भूमिका माथि पनि प्रश्नचिन्ह उठाएको छ । धेरै विश्लेषकहरूले नाकाबन्दीजस्तो अमानवीय काममा ओलीको समेत भूमिका रहेको दावी गरिरहेका छन् । विशेष गरी नेपाली जनतामा नाकाबन्दीका कारण भारतीय प्रधानमन्त्रीप्रतिको नकारात्मक भाव यथावत रहेकै अवस्थामा ओलीले मोदीको खातिरदारीका लागि जे–जस्ता क्रियाकलाप देखाए त्यसले साँच्चिकै ओलीमाथि आशंकाको अवस्था पैदा गरिदिएको छ ।
०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीभन्दा पहिले वर्तमान प्रधानमन्त्री ओली भारतीय कित्ताका व्यक्तिका रूपमा परिचित थिए । महाकाली सन्धिका बेला ओलीकै जोडबलले सन्धि हुने अवस्था आएपछि एमाले पार्टी दुई टुक्रा समेत भएको थियो । भारतीय एजेन्डालाई नेपालमा स्थापित गर्न पहल गर्दै आएका भनी आरोपित ओलीले नाकाबन्दीका बेला अडान देखाएपछि कतिपयले यसमा आश्चर्य मानेका थिए । चीनसँगको सम्बन्धमा समेत केही विस्तारको पहल गरेपछि उनी धुरन्धर राष्ट्रवादी बन्न पुगेका थिए । तर मोदीको हालैको नेपाल भ्रमणपछि भने ओलीमाथि जनताले गरिरहेको विश्वासमा पानी फेर्ने काम भएको छ । अर्थात ओलीले नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी र आमजनताको समेत मनोबल गिर्ने गरी मोदीको खातिरदारी गरेको आरोप सर्वत्र लागिरहेको छ । ओलीले मोदीलाई नागरिक अभिनन्दन गर्नेदेखि तराईमा आयोजना गरिएको कार्यक्रममा नेपालको झण्डा बिगार्ने, विखण्डनकारीलाई कार्यक्रममा खुल्लमखुला आफ्ना माग राख्ने वातावरण सिर्जना गर्नेसम्मका काम गरेको भनी आलोचना सुरु भएको छ । ती कामहरूमा ओलीको संलग्नता नभए पनि देशको प्रधानमन्त्रीका हैसियतले सबैखालका कमजोरीहरूको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने हुन्छ ।
मोदीको आगमनका बेला नाकाबन्दीको विरोध गर्नेहरूलाई प्रहरी दमन तीव्र भयो । ओली सरकारले तराईमा मोदीलाई स्वागत गर्न आयोजना गरिएको कार्यक्रममा ‘स्वतन्त्र मधेस’को माग गर्ने समूहलाई भने छुट दिइयो, यत्ति मात्र होइन दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले कुटनीतिक मर्यादा विपरीत नेपालभित्रको आन्तरिक मामिलालाई मोदीका सामु राख्दासमेत ओली सरकार मौन देखियो ।
ओलीले हाल देखाएको लम्पसारवादी गतिविधिले नाकाबन्दीका बेला उनले देखाएको अडान नक्कली थियो भन्ने कुरा पुष्टि गरेको छ । हाम्रा आन्तरिक विषयलाई आफै समाधान गर्न सक्षम छौँ भन्ने ओलीले नाकाबन्दीकै बीचमा भारतमा सम्मानसहितको भ्रमण गरेका थिए । एकातिर भारतीय नाकाबन्दीका कारण नेपाली जनता दैनिक उपभोग्य वस्तुको अभावमा पीडा भोगिरहेका थिए भने अर्काेतर्फ नेपालका प्रधानमन्त्री ओलीलाई भारतले खातिरदारीसहित सम्मान गरिरहेको थियो । यदि ओलीले नेपाल र नेपाली जनताको पक्षमै काम गरिरहेका थिए भने नेपाली जनतामाथि मानवीय अपराध गरिरहेको भारतले त्यही देशका प्रधानमन्त्रीमाथि कसरी खातिरदारी गर्न सक्यो भन्ने खालका प्रश्न पनि विश्लेषकहरूले उठाएका छन् । त्यतिबेला प्रधानमन्त्री ओलीले अडान देखाएको भनेर बुझेका जनताले त्यो खातिरदारीलाई पनि भारत ओलीसँग झुकेको रूपमा बुझेका छन् । भारतीय प्रधानमन्त्रीको भ्रमण हुनुभन्दा पहिलेसम्म पनि जनतामा ओलीप्रतिको आदर उत्तिकै थियो । तर भारतीय प्रधानमन्त्री मोदीले जनताले ओलीमाथि गरिरहेको विश्वासलाई यसरी गलत साबित गर्न सफल भए कि ओलीको भारतप्रतिको भक्तिभाव यथावत छ भन्ने कुरा उनले नेपाल भ्रमणका बेला पुष्टि गराउन सफल भएको पनि विश्लेषकहरूले ठहर गरेका छन् ।
नेपालप्रतिको व्यवहारका कारण भारतीय प्रधानमन्त्री मोदी जति नै आलोचित भएपनि उनले नेपाली जनतामाझ राष्ट्रवादी भनिएका ओलीको वास्तविकता छताछुल्ल पारेर भने राम्रो काम गरेको चर्चा पनि सुन्न थालिएको छ । मोदीको भ्रमण नभएको भए नेपाली जनता अझै लामो समयसम्म पनि ओलीप्रतिको भ्रममा परिरहन सक्थे । यस सवालमा मोदीको भ्रमणलाई सकारात्मक नै मान्नु पर्ने विश्लेषकहरूको मत रहेको छ ।
जब मुलुकको नेतृत्व गरिरहेको व्यक्तिले नै जनतामा भ्रम छरेर आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ भने त्यसमा छिमेकीलाई मात्र दोष लगाउनुको कुनै अर्थ हुँदैन । अहिलेको अवस्था हेर्दा वर्तमान प्रधानमन्त्री ओलीलाई जबरजस्ती राष्ट्रवादी बनाएर सत्तामा पु¥याउने र आफू अनुकुल फाइदा लिने हेतुले नै भारतले नाकाबन्दीको चाल चलेको पुष्टि हुन्छ । लामो समयसम्म ओलीलाई राष्ट्रवादीका रूपमा देखाउँदा त्यसको असर आफैलाई पर्ने ठानेर नै मोदीले ओलीको वास्तविकतालाई बाहिर ल्याएको हुन सक्ने विश्लेषण पनि विश्लेषकहरूको रहेको छ ।
ओलीको भारत भ्रमणका बेला पानीजहाज ल्याउने बहानामा कोशी उच्चबाँध भारतको जिम्मा लगाउने काम भएको पनि चर्चा छ । यसको खण्डन सरकारका तर्पmबाट भएको छैन । पानीजहाज अहिलेको नेपालको आवश्यकता हो या होइन ? प्रश्न एक ठाउँमा छ, तर त्यसको असर नेपालका झण्डै २२ जिल्लाले सधैंभरि झेल्नुपर्ने निश्चित छ । अर्थात नेपाली भूमि डुबानमा पारेर भारतले नेपालको पानी भारततिर लैजाने छ । पानीजहाज देखाएर जनतालाई भ्रममा पार्ने बाहेक त्यसको खासै ठूलो अर्थ रहने देखिंदैन । मोदीको नेपाल भ्रमणका बेला अरुण– तेस्रो भारतलाई जिम्मा लगाएर ओलीले महाकाली सन्धिकै शैलीमा भन्न थालेका छन्, ‘अबको केही वर्षमा अरुण तेस्रोबाट विद्युत उत्पादन हुनेछ र त्यो भारतलाई बेच्न सकिने छ ।’ जबकी नेपालले त्यसबाट पाउने फाइदा निकै कम छ । आफ्ना नदीनाला आफै सदुपयोग गर्ने भन्दै आएका प्रधानमन्त्री ओलीको यो कदमले उनी मुलुकलाई कता लैजाँदै छन् भन्ने प्रश्न खडा गरेको छ ।
ओलीले गरेको सबैभन्दा घातक निर्णय भनेको भारतीय प्रधानमन्त्री मोदीलाई जस्केलाबाट छिराउनु र नेपाली सेनालगायतका सुरक्षा निकाय कमजोर छन् भन्ने देखाउन हतियारबन्द भारतीय सुरक्षाकर्मीलाई नेपालमा मार्चपास गर्न दिनु रहेको आरोप विश्लेषकहरूले लगाएका छन् । भारत तथा बेलायतको सेनामा समेत उच्च मनोवलसहित काम गर्ने नेपाली गोर्खा सैनिक हुँदाहुँदै ओलीले नेपाली सेनामाथि अविश्वास गर्दै भारतीय सैनिक भिœयाउने अनुमति दिएपछि यसको आलोचना स्वाभाविक हो । नेपाली सेनाले पटक–पटक हामी जस्तोसुकै सुरक्षा प्रत्याभूति दिन तयार छाँै भन्दा पनि नेपाली सेनामाथि विश्वास गरिएको छैन । नेपाली सेनालाई भारतीय प्रधानमन्त्रीको आगमनमा रातो कार्पेट बिछ्याउनका लागि मात्र प्रयोग गरियो । यसले एउटा स्वतन्त्र देशको सेनाको मनोबलमा कस्तो असर पर्छ ? यसबारेमा ओलीको अनभिज्ञता भन्न सकिंदैन । तर उनले जानेरै सुरक्षाकर्मीको मनोबल कमजोर बनाउने काम किन गरे ? यो गम्भीर प्रश्न ओलीका सामु उठेको छ ।
अर्काेतर्फ भारतले आफ्नो स्वार्थका लागि प्रयोग गर्दैआएको दुई नम्बर प्रदेश अब संघीय प्रणालीअन्तर्गत छुट्टै राज्य बनिसकेको अवस्था छ । नेपालमा बार्गेनिङ टुलको रूपमा तराईलाई प्रयोग गर्दै आएको भारतले यसपटक जस्केलाबाट छिरेर तराईलाई अस्थिर बनाउनका लागि दीर्घकालीन रणनीतिको विजारोपण गर्न सफल भएको छ । वि.सं.२००७ मा भारतीय नेता बल्लभभाई पटेलले नेपाललाई भारतमा गाभ्नुपर्ने विचार राखेका थिए । सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले तराइलाई भारतमा गाभ्ने योजना नै बनाएकी थिइन् । मिसन रअका लेखक आर के यादवले आफ्नो पुस्तकमा उक्त कुरा पुष्टि गरेका छन् ।
इन्दिरा गान्धीले चुनाव नहारेको भए सम्भवतः नेपालको तराई क्षेत्र भारतमा गाभिइसकेको हुन्थ्यो । सन् १९७७ मा गान्धीले विपी कोइरालालाई नेपालको परराष्ट्र र रक्षा भारतको जिम्मा लगाउन आग्रह गरेकी थिइन् । जसरी भूटानलाई भारतले संरक्षित राज्यका रूपमा राखेको छ, नेपाललाई पनि त्यसरी नै राख्ने लक्ष्य भारतले बनाएको थियो । त्यसयता पनि पटक–पटक भारतीय नेताहरूले सिंगो नेपाल वा तराईलाई भारतमा गाभ्नुपर्ने मत राख्दै आएका छन् ।
०७२ को भारतीय नाकाबन्दी र हालै मोदीको नेपाल भ्रमणका बेला भारतीय जनता पार्टीका सांसद कृति आजादले पुनः तराईलाई भारतमा गाभ्नुपर्ने माग गरेपछि मोदीको नियतमा बदनियत प्रष्ट भएको छ । आजादकै भनाइलाई बल पुग्ने गरी दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले नेपालको मामिलालाई भारतीय प्रधानमन्त्रीसँग प्रस्तुत गरे । भारतीय प्रधानमन्त्रीले उक्त विषयमा केही नबोले पनि मौन समर्थन गरेको बुझिन्छ । सोही कार्यक्रममा हजारौँको संख्यामा नेपालका सुरक्षाकर्मी खटिए पनि स्वतन्त्र मधेशको माग राख्ने समूहले खुल्लमखुल्ला आफ्ना झण्डा तथा माग प्रदर्शन गरे । जबकि राजधानीमा एउटा दलले आफ्नो पार्टी कार्यालयमा नाकाबन्दी बिर्सिएका छैनौँ भन्दा प्रहरी हस्तक्षेप भएको छ । एकातर्फ मुलुक टुक्र्याउने माग राख्दै सार्वजनिक कार्यक्रममा व्यानर तथा माग राख्दा त्यसलाई बेवास्ता गर्ने र अर्काेतर्फ सार्वजनिक कार्यक्रममा नभएर पार्टीको कार्यालयमा भारतीय प्रधानमन्त्रीप्रति जनताले व्यक्त गरिरहेको वास्तविक धारणा राख्दा प्रहरी हस्तक्षेप हुनु संयोग मान्न सकिंदैन । बरु ओलीका पछिल्लो गतिविधिले राष्ट्रवादको आवरणमा नेपालमा भारतीय स्वार्थ स्थापित गराउन खोजेको प्रष्टै देखिन्छ । त्यसैले घातक राष्ट्रवादप्रति नेपाली जनता सचेत बन्नुपर्ने अवस्था विकसित भएको छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here