नेपाली कांग्रेस किन गम्भीर बन्न सकेन ?

226

बालकृष्णको रिहाइ खतरा कि सुषमा स्वराजको भनाइ खतरा ?

काठमाडौं / देशभित्र यतिबेला निकै चर्चाका पात्र बालकृष्ण ढुंगेल बनेका छन् । नेपाली जनताको ढाडै सेक्ने गरी ८ खर्ब राजस्व असुल्ने तयारी वाम सरकारले गरिरहेको छ । यसतर्पm प्रतिपक्षको नजर पुगेको छैन । त्यसैगरी भर्खरै जनकपुरमा गरिएको भारतीय सेनाको ताण्डव नृत्य र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्तुतिमा गरिएको सरकारी लम्पसार कुन उद्देश्यका लागि थियो भन्ने कुरा छर्लङ पार्दै भारतीय विदेशमन्त्री सुषमा स्वराजले सार्वजनिक गरिसक्दा पनि सबैभन्दा खतरा बालकृष्ण ढुंगेललाई नै देख्ने मूर्खता प्रमुख प्रतिपक्षीले गरिरहेको छ । यो अवस्थाले देशको राष्ट्रिय स्वाधीनताभन्दा बालकृष्णको रिहाइ महत्वको विषय बनाएको देखिन्छ ।

 

गत वैशाख २८ र २९ मा जनकपुरबाट सुरु गरेको नेपाल भ्रमणका बेला नरेन्द्र मोदीको भ्रमणको उद्देश्यलाई लिएर विभिन्न आशंका व्यक्त गरिएका थिए । एउटा मुलुकको सरकार प्रमुखले अर्काे स्वतन्त्र मुलुकको भ्रमण गर्दा सिधै राजधानीमा उत्रनुपर्ने अन्तर्राष्ट्रिय अभ्यासको उल्लंघन गर्दै जस्केलाबाट छिर्ने प्रयास भएपछि आशंका उठ्नु स्वाभाविक थियो । तथापि मोदीको भ्रमणमा धार्मिक तिर्थाटनबाहेक अन्य कुनै उद्देश्य नभएको भन्दै पटक–पटक प्रष्ट पार्न खोजिएपछि उनी धार्मिक उद्देश्यले नै जनकपुरको भ्रमण गरेका होलान् भन्नेमा विश्वास गरिएको थिएन ।

 

मोदीको भ्रमणका बेला भारतीय दूतावासले नेपालको स्वरूप बिग्रिएको झण्डा राख्नु, उनको स्वागतका लागि तराईका नागरिकलाई जबर्जस्ती मैदानमा उतार्नु तथा उनको स्वागतका बेला स्वतन्त्र मधेशको माग गर्ने सिके राउत समूहले झण्डा तथा व्यानरसहित प्रचारमा उत्रनु र त्यसको नियन्त्रणका लागि प्रयास नहुनुले कहीँ ‘दालमा कालो छ’ भन्ने संकेत गरेकै थियो । भूकम्पबाट थलिएको नेपालमा नाकाबन्दी गरेर मानवीय अपराध गरेका मोदीलाई जबर्जस्ती नागरिक अभिनन्दन गर्ने तथा प्रदेश प्रमुखले मोदीलाई आफ्नै सरकार प्रमुखलाई सरह आन्तरिक विषयमा ब्रिफिङ गर्नुले पनि मोदीको भ्रमण धार्मिक उद्देश्यले मात्र थिएन भन्ने त्यतिबेलै स्पष्ट भएको थियो ।

 

मोदीको क्याबिनेटकी महत्वपूर्ण मन्त्री अर्थात विदेश मन्त्री सुषमा स्वराजले गत सोमबार नयाँदिल्लीमा आयोजना गरेको वार्षिक पत्रकार सम्मेलनमा मोदीको नेपाल भ्रमणको उद्देश्य पुष्टि गरेकी छिन् । उनले जनकपुरमा मोदीको स्वागतमा पुगेका नागरिकलाई प्रवासी भारतीय मात्र भनेकी छैनन्, उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौँ भारतीयलाई सम्बोधन गरेको खुलासा गराएकी छिन् । पत्रकार सम्मेलनमा उनले यसभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले अन्य मुलुकमा गएर भारतीय समुदायसँग यस किसिमले सम्बोधन नगरेको दाबीसमेत गरेकी छिन् ।

 

बिशुद्ध धार्मिक प्रयोजनबाट गरिएको भनिएको भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका विषयमा विदेश मन्त्री स्वराजले दिएको अभिव्यक्तिले मोदीको उद्देश्य मधेशीहरूमा आफ्नो प्रभाव विस्तारका लागि नै थियो भन्ने पुष्टि भएको छ ।
मोदीको भ्रमणका बेला नेपालबाट मात्र नभएर भारतबाट पनि ट्रकका ट्रक मानिसहरूलाई जनकपुरमा उतारिएको थियो । एकातर्फ धार्मिक प्रयोजनका नाममा जस्केलाबाट छिर्ने प्रयास गर्नु र अर्काेतर्फ भारतीय नागरिकलाई समेत जनकपुरमा उतार्नु सामान्य विषय होइन । यस्तो किन गरियो भन्ने विषयमा नेपाली सेनाको हालै सम्पन्न पृतनापतिको बैठकमा पनि प्रश्न उठेको छ । सैन्य स्रोतका अनुसार पृतनापतिहरूले यस विषयलाई गम्भीरताका साथ उठाएका थिए ।
तराई मधेश र मधेशीहरूलाई हेर्ने दृष्टिकोणमा भारतीय जलप लगाउने प्रवृत्ति स्वराजबाट पहिलो पटक सुरु भएको भने होइन । यसअघि नेपालमा मधेश आन्दोलन चर्किरहेका बेला भारतका गृहमन्त्री राजनाथ सिंहले पनि नेपालमा बस्ने भारतीयको सुरक्षाका विषयमा भारत सरकारको ध्यानाकर्षण भएको भन्दै मधेशमा बस्नेहरू भारतीय भएको दावी गरेका थिए । भारतीय गृहमन्त्री सिंहको उक्त भनाइ सहितको समाचार इन्डिया टुडेले ३१ अगष्ट ०१५ मा पियुस श्रीवास्तवको बाइलाइनमा प्रकाशित गरेका थिए । उक्त समाचारमा मधेशीहरू भारतीय भएको र केही वर्ष पहिले नेपालमा बसाइसराइ गरेर गएको उल्लेख गरिएको छ । उक्त समाचारमा कतिपय भारतीयले नेपाली नागरिकता लिएको र धेरैजसो अहिले पनि राष्ट्रियताविहीन रहेकोसमेत उल्लेख छ ।

 

नेपालको तराई भूभागलाई भारतमा गाभ्ने तथा तराईमा रहेका नागरिकहरू भारतीय रहेको भन्ने विषय भारतको उच्च तहमा पुगेका व्यक्तिहरूले पटक–पटक दोहो¥याउने गरेका छन् । जबकि नेपाली पक्षले भारतबाट अवैध रूपमा बसाइ सरेर नेपालमा आउनेहरूमाथि बन्देज लगाउने विषय उठाउँदा भने तराइमा बस्नेलाई भारतीय भनिएको भन्दै विवाद हुने गरेको छ । भारतीय विदेश मन्त्री स्वराजले आफूले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति विवादमा आएपछि उनले आफूबाट गल्ती भएको स्वीकार गरेकी छिनु । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेकी छिन् । उनले भनेकी छिन्, ‘यो मेरोतर्फबाट गल्ती भएको छ यसका लागि माफी माग्छु ।’ तथापि उनले जनकपुरका जनतालाई किन भारतीय भनेर सम्बोधन गरेँ भन्ने विषयमा एक शब्द पनि उल्लेख गरेकी छैनन् ।
स्वराजको भनाइलाई नेपालको परराष्ट्र मन्त्रालयले दूभाग्यपूर्ण भनेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस विषयमा भारतीय विदेश मन्त्रालयले क्षमायाचना गरेको जनाएको छ । मन्त्रालयले उक्त विषयमा नेपाली जनताले सामाजिक सञ्जालमा देखाएको चासोप्रति आभार व्यक्त गरेको छ । देशभित्र भइरहेको विदेशी हस्तक्षेपकारी गतिविधिको यस्तो नांगो क्रियाकलापबारे एक शब्द उच्चरण गर्न नसक्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे किन पो चासो राख्ला र भन्ने प्रतिक्रिया जनसाधारणले पनि उठाउन थालेका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here