काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले देशव्यापी रूपमा दमन र धरपकड गरेको भन्दै नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना आक्रामक कार्यक्रमहरू जारी राखेको छ । विभिन्न जिल्लाहरूमा स्थानीय निकायका निर्वाचित पदाधिकारीहरूले कमिशनखोरी कामहरू गरेको भन्दै त्यस्तो काम गर्ने हरूलाई कालोमोसो दल्ने अभियानलाई नेकपाले सक्रिय बनाएको छ । यसैक्रममा आज असार ७ गते रसुवा जिल्ला बन्दको घोषणा गरिएको छ । जेठ २९ गते नेकपा निकट अखिल (क्रान्तिकारी) रसुवाको नवौं जिल्ला सम्मेलनमा प्रहरी हस्तक्षेप गरी आफ्ना पाँच विद्यार्थी नेतालाई गिरफ्तार गरेको विरोधमा बन्द घोषणा गरिएको हो ।
नेकपा रसुवाका इन्चार्ज राजमान तामाङले एक विज्ञप्ति जारी गर्दै जिल्ला बन्दको घोषणा गरेका छन् । विज्ञप्तिमा भनिएको छ– ‘शान्तिपूर्ण ढंगले हिडडुल गर्न पाउने, भेला सम्मेलन गर्न पाउने आफैले निर्माण गरेको संवैधानिक व्यवस्थाको समेत धज्जी उडाएर अखिल (क्रान्तिकारी)को जिल्ला सम्मेलनमा प्रहरी हस्तक्षेप गरी पाँच विद्यार्थी नेतालाई गिरफ्तार गरेको छ । राष्ट्रियता, जनताको अधिकार र जनजीविकाको पक्षमा संघर्षको मोर्चामा अविचलित नेता–कार्यकर्ताहरू माथि गरिएको यसप्रकारको गैरन्यायिक गिरफ्तारी, उत्तरगया र कालिका गाउँपालिकाका केही वस्तीहरूमा चलाइएका फौजी अप्रेसन लगायत राज्य आतंकको बिरुद्ध आगामी असार ७ गते रसुवा बन्दको घोषणा गरिएको यो विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।’ नेकपाले बन्दको कार्यक्रमलाई सहयोग र सद्भावसहित ऐक्यबद्धता जाहेर गर्न पत्रकार, मानवअधिकारकर्मी, बुद्धिजीवी, यातायात व्यवसायी र रसुवाली जनतालाई अनुरोध गरेको छ ।
विज्ञप्तिमा– आफ्ना स्थानीय नेताहरू बद्री अधिकारी, इश्वर पाण्डे, रसुवाली कवि, सेजन चन्द र नवीन घिमिरेलाई ६ दिन भित्र बिना सर्त रिहाइ गरी रसुवामा चलाइरहेको राज्य आतंक बन्द नगरे यो भन्दा उच्चस्तरको संघर्षको कार्यक्रम मार्फत प्रतिरोध गरिने चेतावनीसमेत दिइएको छ ।
यसैबीच नेकपाका कार्यकर्ताले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई कालोमोसो दलेर कारबाही गरेका छन् ।
अध्यक्ष पाण्डेलाई आफूले लगेको फाइल हेर्न लगाएर कालोमोसो दलिएको थियो । अध्यक्ष पाण्डेले स्थानीय तहमा चर्को कर लगाएको, कमिशन लिएर प्राकृतिक स्रोत (ढुंगा, गिट्टी र बालुवा) को दोहन गर्न लगाएको, आफैले विद्यालय चलाएर शिक्षाका नाउँमा व्यापारिकरण गरेको लगायतका आरोप लगाएर कालो मोसो लगाइएको नेकपाको जिल्ला जनपरिषद्ले जनाएको छ । उनलाई आफ्नो पदबाट राजीनामा गर्न दवाव दिंदा पनि नदिएको र आफ्ना अनियमित कामहरू नरोकेकाले कारबाही गरिएको नेकपा जनपरिषद्ले जनाएको छ ।
(- जनधारणा साप्ताहिक)


















