काठमाडौं । विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादल खोई भनेर प्रश्न सोधेका थिए । कांग्रेस नेताहरुको प्रश्नको जवाफमा सभामुख कृष्णबहादुर महराले गृहमन्त्री ट्राफिक जाममा पर्नुभएको खबर सुनाएका थियो । सभामुखको जवाफ सुनेर संसदहलमा हाँसोको फोहोरा फुट्यो । संसदभित्र सभामुखले गृहमन्त्रीसमेत ट्राफिक जाममा परेको र आउन ढीलो भएको जवाफ दिनु एउटा मजाकजस्तै विषय हो । यसले काठमाडौंको सडकको बेथितिमात्रै देखाउँदैन, सडकको थेगो संसदभित्र छिरेको पनि अनुभव गर्न सकिन्छ ।
बहालवाला गृहमन्त्रीसँग सिंगो प्रहरी प्रशासनको कमाण्ड हुन्छ । उनी यताउता जाँदा अगुवा पछुवा हुन्छन् । उनीहरुले सुरक्षा प्रदान गर्नुका साथै बाटो अवरुद्ध भए पनि त्यसलाई पन्छाउँदै अघि बढ्छन् । गृहमन्त्री आएपछि जाम भएको बाटो पनि हतार हतार खुलाइन्छ ।
तर, तिनै गृहमन्त्री ट्राफिक जाममा परेको भनियो भने हाँसोको पात्र बनिन्छ । यस्तै हाँसोको पात्र बनेका थिए सभामुख कृष्णबहादुर महरा ।
सोमबारको प्रतिनिधिसभा बैठकमा गृहलगायत मन्त्रालयका लागि विनियोजित बजेटमा छलफल चलिरहेको थियो । तर गृहमन्त्री नै उपस्थित नभएको बैठकमा गृहमन्त्रालय माथि छलफलको औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्न उठायो । प्रश्नमात्रै उठाएन कांग्रेसका सबै सांसद आ–आफ्नो ठाउँबाट उठेपछि बैठक नै अवरुद्ध भयो ।
सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको भन्दै आसनग्रहण गर्न अनुरोध गरे तर, कांग्रेसका सांसदहरुले मानेनन् । सो क्रममा केहीबेर सभामुख र प्रतिपक्षी दलका सांसदबीच दोहोरो बहस भएको थियो । सभामुख महराले गृहमन्त्री ट्राफिक जाममा परेको र केहीबेरमै आइपुग्ने भनेपछि संसद हल हाँसोले गुन्जियो ।
तर प्रतिपक्षी दलका सांसदहरुले मन्त्रीविनाको मन्त्रालयगत बजेटमाथिको छलफलको औचित्य नहुने बताएपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । विभागीय मन्त्रीको अनुपस्थितिमा छलफल अवरुद्ध भएको यो दोश्रो पटक हो । यसअघि पनि मन्त्रीको उनुपस्थितिमा बैठकको छलफल प्रभावित भएको थियो ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफलको कार्यसूची तय गरिएको छ ।

















