सुदूरपश्चिमको सुझबुझपन सुन्दा

364

डा.दीपेन्द्र रोकाया
अघिल्लो हप्ता सुदुर पश्चिमका केही जिल्ला डिह्दा केही नयाँ कुराको अनुभव भयो । म धनगढी त धेरै पटक आउजाउ गरेको थिएँ, तर जहाजबाट धनगढी चाँहि पहिलो पटक गएको थिएँ । बुद्ध एअरले काठमाडौबाट एक घण्टा १० मिनेटमा पु¥यायो । सुर्खेत र धनगढीको हवाई दुरी एउटै रहेछ । सुनिएअनुसार धनगढी एअरपोर्ट अव छिट्टै राति पनि जहाजले अवतरण गर्ने गरी एअरपोर्टको विकास भईरहेको छ । सात नम्वर प्रदेशको वाजुरा कोल्टी बाहेक अन्त साफेबगर र दिपायलमा एअरर्पोट छन् तर चालु अवस्थामा छैनन् ।

 

यातायात पूर्वाधारको विकासले हरेक क्षेत्रमा पहुँच विस्तार गराउँदछ । सात नम्बर प्रदेशका सावै जिल्लामा मोटर बाटो पुगेको छ । चाह्यो भने काठमाडौबाट बाजुराको सदरमुकाम मार्तडीमा एकै दिन पुग्न सकिन्छ भन्ने अनुभव म आफैले गरेँ । हामीसँगै रहेका वाजुराका साथी दिनेशराज जैसीले सुदुर पश्चिमको विकास कर्नाली चिसापानी, भासु भीर र साँफेवगरजस्ता ठाउँका कारण केही ढिला भएको सन्दर्भहरू सुनाउनुभयो । भौगोलिक अवस्थाले पनि विकासलाई निकै ठुलो प्रभाव पार्ने गर्दछ ।

माथि उल्लेखित स्थानहरू पार गर्दै वाजुरा र त्यहाँबाट अछाम मंगलसेन पुगेर कर्नाली प्रदेश छिर्दासम्म सात नम्वर प्रदेशको बारेमा चासो राख्ने क्रम जारी राखेका थियौ । मसँग काठमाडौका साथी रोजन बज्राचार्य हुनुहुन्थ्यो । सुदुरपश्चिम सडक सञ्जालमा पुरै जोडिएको छ । यो देशका प्रधानमन्त्री तथा विभिन्न निकायका प्रमुख स्थानमा यस क्षेत्रका अगुवाहरूले प्रतिनिधित्व गरेको देखेका छौ । तर यहाँका आम जनमानसमा राज्यसँग जोडिएको अनुभव अझै भएको छैन । जसरी मधेशका नेता तथा त्यहाँका अगुवाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राज्यका महत्वपूर्ण निकायको नेतृत्व गर्ने तर त्यहाँका जनताले अहिले पनि असन्तुष्टि देखाइरहेको पाइने गरिएको छ ।

 

यो जनमनोविज्ञान हामी राजनीतिशास्त्र तथा राजनीतिक द्धन्द्ध व्यवस्थापनका विद्यार्थीहरूको लागि गहिरो चासोको विषय अवश्य हुने गर्दछ । सुदुर पश्चिममा परम्परा नै बनी सकेको छ कि साउनमा भारत छिर्ने र दशैमा घर फर्कने, अनि मंसिरमा भारत छिर्ने र चैतमा घर आउने । अधिकांश युवालाई पढेर के हुन्छ र ? आखिर कमाउन पर्ने पैसा नै हो भन्ने धारणाका कारण पढ्ने बेला भागेर भारत पस्ने अनि अलिअलि कमाउने, त्यो पैसा अनपेक्षित रूपमा प्राप्त भएको ठानी कुलतमा पनि फस्न पुग्नाले आर्थिक, सामाजिक र साँस्कतिक विकृति स्थापित हुन पुगेको छ ।

 

‘हामीलाई काठमाडौ टाढा लाग्छ, काठमाडौ पुग्न कम्तीमा पाँच हजार लाग्छ तर भारु एक हजार हुने हो भने हामी दिल्ली सजिलै पुग्न सक्छौ । पाँच हजार खर्च गरेर काठमाडौ पुग्यो, थप दश हजार खर्च गरेर पासपोर्ट बनाएर विदेश जानु भन्दा हाम्रो लागि यही सजिलो छ’ भन्ने बुझाई आम सुदुर पश्चिमका जनमानसमा बुझाई रहेको छ । यहाँका युवाहरू भारतका गल्लीहरूमा कुल्ली, चौकीदारी, होटलका वेटरजस्ता काममा व्यस्त छन् । घरमा बुढाबुढी, केटाकेटी र महिलाहरू छन् ।
युवाहरूको यो प्रवृत्तीले गर्दा घरमा रहेका बुढाबुढीले सम्मान पाएका छैनन्, बरु कृषि काम सकीनसकी धान्न परेको छ । अधिकांश महिलाहरू मानसिक रोगी बन्न परेको छ । उनीहरूका हरेक प्रकारका शारीरिक तथा भौतिक आवश्यकता पुरा नहुँदा मानसिक रोगले ग्रस्त बनेको पाइन्छ । भोलिका सन्ततीहरू विद्यालय त जान्छन्, तर उनीहरूलाई पढेर के हुन्छ र ? भन्ने स्थिति अधिकांश वालवालिकामा रहेको पाइन्छ । यो दुविधामा हुर्केको पुस्ताका लागि एउटा खालको प्रेरणा दिन आवश्यक छ । तर त्यो के बाट शुरु गर्ने ? सवाल गम्भीर बन्दै गएको छ ।

 

वाजुरा मार्तडीस्थित बडीमालिका नगरपालिकाका मेयर पदम वडुवालले माथिको हिल्सा र तलको धनगढीलाई आधार बनाएर बाजुरालाई ट्रान्जिट प्वाइन्टका रूपमा विकास गर्नपर्नेमा केन्द्रित भएको सुनाउनु भएको थियो । मंगलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहराले आफुले थाहा पाएसम्म अछामको पुरानो हाट भारतको खिरिल लाखिमपुरको सिघाई हो, जो त्रिकुने भावरभित्र पर्दछ । त्यो बजार सडकले गर्दा वर्दियाको राजापुर, धनगढी, कटासे, चौमाला, दिपायल, साँफेवगर हुँदै मंगलसेन पुगेको तर भोटको ताक्लाकोट बजार नजिक्याउन नसकेको विचार सुनाउनु भएको थियो ।
नजिक र टाढाको कुरा विचार र अपनत्वसँग सम्बन्धित हुने रहेछ । मान्छेले भौतिक परिवेशलाई पहिलो प्राथमिकता दिनु स्वभाविकै हो । हरेक रहनसहन तथा जिविकोपार्जनको आधार यतै छ भने हाम्रो नजिकको सम्बन्ध दिल्लीसँग छ भन्ने अधिकार सुदुरपश्चिमसँग छ । तर यहाँको कमाईले सिल्ली बनाएको छ भन्ने व्याख्या पनि त्यतैका नयाँ पुस्ताले गर्न थालेको देखियो । यद्यपि हरेक मोटरसाइकल धनीले यदि म भारत भएको भए एउटा कार चलाइरहेको हुन्थ्ये भनी सोच्नु अन्यथा मान्नु हुँदैन । यो सबै राज्य अभिभावक नभएको अनुभव हुनुले भइरहेको कुरा हो ।

 

बाजको व्यापार गर्ने क्षेत्रबाट स्थापित भएको वाजुरा र जुम्लाका राजाको छोरी विहे गरी विर्ता पाएर राज गर्न पाएकाले अच्चम पारेकाले अछाम नामाकरण भएको क्षेत्रका जनता, जनप्रतिनिधि र स्वतन्त्र साथीभाईहरूसँगका उठबसले के अनुभव भयो भने संघीयताले सिंहदरवारको अधिकार गाउँ गाउँ पुगेको छ । तर कानुन नबनेको र यसअघिका आदतहरूले अधिकार तल दिन डराइरहेका माथिल्ला सिंहदरवारहरूप्रति स्थानीय सिंहदरवारको आक्रोस यथावत छ । अझ द्धन्द्धकालमा गाउँमा विभिन्न सुधारका काम गर्ने माओवादी, सदरमुकाममा बसेर विभिन्न विल मिलाएर कागजी विकास देखाई खाने संघ÷संस्था तथा दलगत भागशान्ति मिलाउने राजनैतिक उपभोक्ता समितिले बिगारेका बानीका कारण विकासका योजनाहरू कुहिराको काग भइ उडिरहेकै देखियो ।

 

सुदुरपश्चिमको तुलना कर्नालीको नागरिक भएर गर्ने हो भने एउटा उखान याद आउँछ, ‘हाम्रो त न बाबु छ, न बाबुको समात्ने छ ।’ अर्थात् राज्यमा कर्नालीको पहुँच स्थापित भएकै छैन । संवैधानिक तहको नेतृत्व कर्नालीबाट कहिल्यै भएको छैन । राज्यसँग सडक सञ्जालमा अझै हुम्ला र डोल्पा जोडिएकै छैन । मुगुसम्म पुगेको सडकको स्तर उन्नती नहुनाले मृत्यु मार्गको नामाकरण भएको अवस्था छ । कर्नालीले धेरै कुराको अनुभव गर्न सकेको छैन । कर्नालीले भ्यागुते उफ्राई गर्नका लागि अवको प्रदेश सरकार र स्थानीय तहले आफ्नो मिसन तयार गर्न सक्नु पर्दछ । नरुने बच्चाले दुध खान पाउने रहेनछ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here