ओली र दाहालको सरकार दलालहरूको सरकार

160

हुकुमबहादुर सिंह

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले साँच्चै आफूलाई नेपालको तानाशाहहरूको रूपमा अगाडि बढाउन खोजेको संकेत मिलेको छ । कुनै पनि तानाशाहले गर्ने पहिलो काम भनेको आफ्नो विरुद्धमा लाग्नेहरूको बोल्ने, लेख्ने र घुमफिर गर्ने नागरिक स्वतन्त्रतामाथि बन्देज लगाउने हो र यो काम उनीहरूले अहिले नेपाली जनताको अभिव्यक्तिको स्वतन्त्रतामाथि ठाडै हस्तक्षेप गर्ने गरी गर्दै छन् । जनताले जनताका प्रतिनिधिहरूको सही आवाज सुन्ने र सुनाउने स्थानहरूमाथि प्रहरीका डण्डाहरूको प्रदर्शन गरेर र जनताका प्रतिनिधिहरूको सही आवाज सुन्ने र सुनाउने स्थानहरू जहा“ जनताले सुन्ने सम्भावना ज्यादै न्यून रहन्छ, त्यहा“ तोकिदिएका छन् । मानौं नेपालमा निरङ्कूश शासनको प्रादुभाव हु“दै छ ।

 

विकासका नाममा जनताका घरमाथि, उनीहरूका निजी सम्पत्तिमाथि उनीहरूको लागि कुनै विकल्प नदिईकन डोजर लगाएका छन् । गोविन्द केसी, जसले नेपालको शिक्षा क्षेत्र र खासगरी स्वास्थ्य क्षेत्रमा मौलाएको माफियातन्त्र र कमिशनखोरका लागि लामो समयदेखि एउटा सशक्त आन्दोलन गरेका थिए, उनलाई अहिले जुम्लामा कैदी बनाएर राखिएको छ । नेपाली जनताले परिणाम देख्न चाहेको सिण्डिकेटको अन्त्य र सुन तस्करहरूको जालो यो सरकारले च्यातचूत पारोस् भन्ने आशा गरेका थिए, अहिले सरकारले त्यसका लागि देखाएको तत्परता यति छिटो सेलाएर गएको छ । मानौं ती सब एउटा पानीका फोका थिए । नेपाली जनताले स्वास्थ्य अध्यादेश जो त्यही रूपमा संसद्बाट पास होस् भन्ने चाहन्थे, अहिले विभिन्न बहानामा त्यसलाई तुहाउने काम गरेको छ ।

 

झापाको एउटा अस्पताल, जसको नाइके प्रसाईं थरको नेपालको एउटा ठूलो डन हो र जसले पैसाको थैली ओली र दाहाललाई चढाएर आफ्नो विगतको दादागिरीलाई निरन्तरता दिन चाहिरहेको छ, त्यसलाई केन्द्रमा राखेर अहिले ओली र बादलले गोविन्द केसीमाथि दमन गर्न चाहन्छन् । त्यसैगरी नेकपा विप्लवको शान्तिपूर्ण कार्यक्रममाथि प्रहरी दमन गरेर उनीहरूले भन्ने गरेको उत्तम संविधान २०७२को स्वयम् खिल्ली उडाउँदै छन् । बादल जसले दोस्रो संविधानसभाको निर्वाचनको बहिष्कार गर्ने आह्वान गर्दै मतपेटिकालाई घनले हिर्काएका थिए, त्यो सबै उनका लागि एउटा नौटंकी रहेछ र सही मानेमा उनी अहिलेका ओलीका बफादार बादल रहेछन्, जसले तस्कर, माफिया, दलालहरूसित मिलेर ओली दाहालको निर्देशनमा देशलाई दलालीकरण गर्नतर्फ लैजान चाहन्छन् ।

 

यसै सन्दर्भमा नेपालको माओवादी आन्दोलनको वर्तमानको एक मात्र नेतृत्वदायी शक्ति नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले आफ्नो केन्द्रीय समितिको बैठक सम्पन्न गरी ओली बादलको यो कार्यलाई जनविरोधी र फासिवाद भनेको छ र यो नेपालका परिवर्तनकारी र क्रान्तिकारीहरूमाथि उनीहरूले गर्न खोजेको तानाशाही दमन हो र यिनीहरू राष्ट्रवादी शक्ति नभई दलाल तथा नोकरशाहाको हितमा काम गर्नेहरूको गठबन्धन हो भनेको छ । यिनीहरूको यो जनविरोधी र राष्ट्रविरोधी कार्यका विरुद्ध सबै देशभक्त तथा प्रगतिशील क्रान्तिकारीहरूको संयुक्त प्रयासको विकल्प छैन भनेर सबैलाई एकजुट भएर ओली दाहालले नेपाली जनताका विरुद्ध नेपालका तस्कर, दलाल तथा भ्ष्ट नोकरशाहाहरूलाई साथमा लिएर ‘समाजवाद’ र ‘समृद्धि’को जो नौटंकी गर्दै छन्, त्यसको भण्डाफोर गर्नका लागि आह्वान गरेको छ ।

संसद्वादमा फसेको दक्षिणपन्थी नवसंशोधनवादको चरित्र अहिले बाहिर आएको छ, त्यो भनेको तस्कर, माफिया, बिचौलीया, दलाल तथा नोकरशाहाहरूको प्रभावमा काम गर्ने हो र त्यही काम अहिले ओली सरकारले गर्न थालेको छ र यसका लागि उसको पहिलो काम त्यसको विरोध गर्ने शक्तिहरूको कलम र आवाजलाई के कसरी बन्देज गर्न सकिन्छ, त्यसमाथि बन्देज लगाउने हो र त्यही काम अहिले ओली बादलहरूले गरिरहेका छन् ।

 

संसद्वादमा फसेका यी दक्षिणपन्थी नवसंशोधनवादहरूले जनतामा बाँडेको ‘समृद्धि’ र ‘समाजवाद’को सपनाको खिल्ली त भर्खरै उनीहरूको अर्थमन्त्रीले संसद्मा पेश गरेको रामशरण महतको बासी बजेटबाटै स्पष्ट भइसकेको छ । यसले नै स्पष्ट पार्दै छ सही मानेमा ओली र दाहालको सरकार दलालहरूको सरकार रहेछ । ओलीको राष्ट्रवाद त नेपाली जनताको आँखामा छारो हालिदिने र चुनाव जित्ने केवल नौटंकी रहेछ । [email protected]

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here