कांग्रेसले यस्ता लगायो ओली सरकारलाई आरोप

117

काठमाडौं । सरकारले जनपक्षीय रूपमा काम गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गर्ने तयारी थालेको छ । कांग्रेसले सरकारविरुद्ध आक्रामक बन्दै पाँच ‘स’को नीति लिई विरोध गर्ने भएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पाँच ‘स’ अर्थात् सदन, सडक, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत सरकारमाथि कांग्रेसले दबाब सिर्जना गर्ने भएको जनाइएको छ ।

 

संसद्मा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचित बनेको कांग्रेसले यसबारे छलफल गर्न बुधबार संसदीय दलको बैठक आयोजना गरेको थियो । बैठकमा पार्टीका शीर्ष नेताहरूले सांसदहरूलाई प्रभावकारीरूपमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

 

कांग्रेसले बाढीपहिरोबाट जनधनको क्षति भइरहे पनि सरकार गम्भीर नबनेको, प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको पहल नगरेको, गंगामाया अधिकारीको मागलाई बेवास्ता गरेको, काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको, मूल्यवृद्धि नियन्त्रण नगरेको र प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएका प्रश्नलाई बेवास्ता गरेको आरोप लगाएका थिए । यही मुद्दालाई उठाएर कांग्रेसले सरकारको विरोध गर्ने भएको हो ।

त्यसका लागि सडकदेखि सदनसम्म सरकारको विरोध गर्ने जनाइएको छ । पछिल्लो समय कांग्रेस सरकारको पालामा बनेको चिकित्सा विधेयकलाई प्रतिस्थापन गर्ने वर्तमान सरकारको कदमविरुद्ध कांग्रेसले विरोध गर्दै आएको छ । कांग्रेसले सदनमा गरेको उक्त विरोधका कारण सरकार पनि पछि हटेको छ । सोही विषयमा अहिले डा. गोविन्द केसीसमेत अनशनमा रहेका छन् ।

कांग्रेसले पछिल्लो समय सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख देखिएको भन्दै विरोध गर्दै आएको छ । चिकित्सा विधेयकमा भएको हेरफेर पनि सरकारले नियतवश गरेको कांग्रेसको आरोप छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here