‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ उर्मिला चौधरी पाइन

36

काठमाडाैं ।  साढे ११ वर्ष कमलरी जीवन बिताएकी र मुक्त भएपछि कमलरी मुक्ति अभियानमा लागेकी दाङ गढवाकी उर्मिला चौधरीले ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ पाएकी छिन्।

अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको सन् २०२४ को ‘ग्लोबल एन्टि–रेसिज्म च्याम्पियन्स अवार्ड’ कमलरी अभियन्ता उर्मिला चौधरीले पाएकी छिन्।

अमेरिकामा सोमबार आयोजित एक कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरे। चौधरी सहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन्। अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन्।

यो अवार्ड गत वर्ष नेपालकै सरस्वती नेपालीले पाएकी थिइन्। सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा सीमान्तीकृत जाति, अपांगता भएका व्यक्ति र गरीबहरूको मानव अधिकारका लागि काम गरे बापत उनलाई अवार्ड दिइएको थियो।

अमेरिकी सरकारले सन् २०२३ मा स्थापना गरेको यो अवार्ड विश्वव्यापी रूपमा नागरिक समाजका व्यक्तिहरूलाई उनीहरूले गरेको उदाहरणीय र साहसिक कार्यका लागि दिइन्छ। बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै यो अवार्ड दिइएको हो।

“अवार्डले मलाई विपन्न र पछाडि पारिएका समुदायका बालबालिकाका लागि काम गर्न थप हौसला दिएको छ,” अमेरिकाबाट हिमालखबरसँग कुरा गर्दै उनले भनिन्, “यो अवार्ड म सम्पूर्ण नेपाली तथा मसँगै उद्धार भएका र कमलरी प्रथा उन्मूलनमा सहयात्रा गरेका सम्पूर्ण साथीलाई समर्पण गर्छु।”

विश्वकै शक्तिशाली देशले दिने अवार्ड पाउनु गौरवको कुरा भए पनि न्याय र समानताका लागि अझै धेरै काम गर्न बाँकी नै रहेको बताइन्। “सयौं मुक्त कमलरीको पुन:स्थापना हुन सकेको छैन, उनीहरूको पुन:स्थापना, न्याय र समानताका लागि लड्नु छ,” उनले भनिन्।

काठमाडौं स्कूल अफ लमा बीए एलएलबी अध्ययनरत चौधरीले पढाइ पूरा भएपछि आफू जस्तै विपन्न परिवारका बालबालिकालाई कानूनी सहायता दिने लक्ष्य रहेको सुनाइन्। “जसरी म दुःखपीडाबाट संघर्ष गरेर यहाँसम्म आएँ, म जस्तै कष्टपूर्ण जीवन बिताइरहेका कैयौं बालिकाको साथी बनेर काम गर्न चाहन्छु,” उनले भनिन्।

कमलरी प्रथा उन्मूलनमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत चौधरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धेरै अवार्ड पाएकी छन्। ६ वर्षअघि नेदरल्यान्ड्सले उर्मिलालाई ‘लउरियट फ्रीडम फ्रम फेयर अवार्ड २०१८’ बाट सम्मानित गरेको थियो। प्रत्येक दुई वर्षमा प्रदान गरिने यो अवार्ड यसअघि पाकिस्तानकी बाल अधिकार कार्यकर्ता मलाला युसुफजाई, आङ सान सुची, हुसेन इब्राहिम सलेह अल जस्ता व्यक्तिले पाएका थिए।

उनले अहिलेसम्म ६ वटा अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी छन्। संयुक्त राष्ट्र संघको यूथ करेज अवार्ड फर एजुकेशन, इन्टरन्याशनल ह्युमन राइट्स अवार्ड पनि उनले पाएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here