काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन्। असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै केही समय अगाडि काठमाडौंमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री दाहाल छोटो अवधिमा सबैभन्दा बढी समय विदेश जानेमा अग्रस्थानमा पर्छन्। एक वर्षको अवधिमा प्रधानमन्त्री दाहालले भारत, इटाली, अमेरिका, चीन र दुबईको भ्रमण गरिसकेका छन्। उनी केहिदिनमा स्विट्जरल्यान्ड उड्ने आन्तरिक तयारी भइरहेको छ। प्रधानमन्त्री दाहालले छिमेकी देश भारतबाट भ्रमण सुरु गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए। हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै दाहालले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरूप र यसले अर्बौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको साक्षी रहेको बताएका थिए।
असंलग्नताको मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए।


















