चौधरी, सुमार्गी र गुरुङको सम्पत्ति राष्ट्रियकरण गर्ने चेतावनी

345

काठमाडौँ / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दलाल पुजिपति वर्गले जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको आरोप लगाएका छन् । त्यस्ता दलाल पुँजीपति वर्गले जनताको पसिनाबाट लूट मच्चाएर जम्मा गरेको सम्पती आफूहरूले राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । नेता हेमन्त ओलीले दिएको चेतावनीले मुनाफाखोर व्यापारीहरूमा आतंक फैलिएको छ । नेता ओलीले एक अन्तर्वार्तामा बोल्दै विनोद चौधरी, अजय सुमार्गी र मिनबहादुर गुरुङजस्ता केही मुठिभर दलाल पुजिपतिहरूको सम्पती कब्जा गरेर राष्ट्रियकरण गरिने उद्घोष गरेका छन् । जनताको श्रम र पसिना चुसेर सम्पति थुपारेका कारण त्यस्ता लुटेराहरूको सम्पत्ति कब्जा गरेर जनताको सम्पती बनाउनु पर्ने ओलीले धारणा राखेका छन् । उनले आफूहरूको लडाइँ दलालहरूसँग भएको भन्दै दलालहरूको संरक्षण गर्ने शक्तिसँग पनि आपूmहरू लडाइँ जारी रहेको जनाएका छन् ।

 

नेता ओलीले दलाल व्यस्था र दलाल पुँजिपतिविरुद्ध जनताले संघर्ष गरिरहेको भन्दै त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने जनाएका छन् । दलालहरूले जनतालाई लुट्न नछोडे जनकारवाहीदेखि उच्चस्तरसम्मको कारवाही गरिने चेतावनी पनि नेता ओलीले दिएका छन् ।
विश्वको नेपाली अर्बपति सूचीमा परेका विनोद चौधरीले नेपालबाट सम्पत्ति विदेशतिर पलायन गर्दै नेपालबाट उत्पादन हुने चाउचाउ विदेशबाटै उत्पादन सुरु गरेर नेपालको राजनीतिमा हावी हुन खोजेको परिवेशलाई नेकपाले गम्भीरताका साथ लिएको बुझिएको छ । त्यसैगरी अजेय सुमार्गी र भाटभटेनी विस्तार अभियानमा लागेका मीनबहादुर गुरुङको सम्पत्ति अपारदर्शी भएको र सम्पत्तिको स्रोत उनीहरूबाट देखाउन नसकेकोप्रति पनि नेकपाले विशेष निगरानी गरेको बुझिएको छ ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भ्रष्टाचारमा संलग्न हुने गरेको दावी गर्दै नेता हेमन्त ओलीले भ्रष्टाचारीहरू जनकारवाहीको भागिदार हुने चेतावनी दिएका छन् । उनले नेपाल टेलिकमलगायतका संस्थाहरूमा हुने नियुक्तिमा पनि मन्त्रीले कमिसन खाने गरेको भन्दै नेपाल टेलिकमलाई कमजोर बनाएर विदेशी कम्पनी एनसेललाई बलियो बनाउने षड्यन्त्र भइरहेको आरोप पनि लगाएका छन् ।

 

एकअर्को प्रसंगमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना हुन्छ भनेर सिकाएको तर अहिले आफै निगमवालबाट किनिएको आरोप लगाए । उनले प्रचण्डलाई विनोद चौधरी, अजेय सुमार्गी, मीनबहादुर गुरुङ, एनसेल कम्पनीलगायतका भ्रष्ट व्यक्तिहरूको संरक्षण गरेको आरोप पनि लगाएका छन् । नेपाल आयल निगममा भएको भ्रष्टाचारबारे सरकार लाचार बनेको भन्दै नेता ओलीले वित्तीय कारोबार लागेका सहकारी संस्थाहरूले नयाँ सामन्तको रूपमा जनतालाई ठगिरहेको धारणा पनि राखेका छन् ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here