राज्यलक्ष्मी शाक्य
बिहान कार्यालय, विद्यालय वा अन्य कुनै जरुरी काम तथा कामका लागि घरबाट बाहिर निस्किँदा होस् वा साँझमा घर फर्किदा किन नहोस्, काठमाडौंबासीको प्रमुख समस्या भनेकै अहिलेको ट्राफिक जाम र अस्थव्यस्त सडकसँग जोडिएको छ । सडकमा हुने जामका कारण अहिले मानिसहरू घरबाट बाहिर निस्कन नसक्ने गरी समस्या देखिएको छ । १२ महीना नै देखिने यो समस्या बर्खायाममा भने झनै जटिल हुने गरेको छ । हिलाम्मे सडक हुँदा पैदल हिड्ने यात्रुहरूलाई निकै कष्ट हुने गरेको छ भने सडकमा पर्याप्त मात्रामा आकाशे पुल नहुँदा र जेव्राक्रसको स्थान स्पष्ट नुहँदा सर्वसाधारणहरू सडकमै डुब्ने अवस्था पनि देखिएको छ । हिउँद सिजनमा धुलाम्मे र बर्खामा हिलाम्ये हुने सडकसँग काठमाडौं उपत्यकाबासी उठबस हुँदै आएको छ । तर सम्बन्धित निकाय जवाफदेही नहुँदा यो समस्या अझै सुल्झन सकेको छैन ।
आम जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको सडक पूर्वाधार गुणस्तरीय र समयमै सम्पन्न नहुँदा आम सर्वसाधारणको दैनिकी नै कष्टकर भएको छ । काठमाडौं उपत्यकाका सडक विस्तार तथा मर्मतसम्भारका लागि बग्रेल्ती सरकारी निकायहरू भए पनि यसले सार्थकता पाउन सकेको छैन । भइरहेका सडकहरू साघुँरा भएको भन्दै विस्तार गरिएका सडकहरू पनि समयमै सम्पन्न हुन सकेका छैनन् । काठमाडौं उपत्यकाका सडकहरूलाई चौडा गरी व्यवस्थीत सडक विस्तारको उद्देश्य लिएर निर्माण सम्झौतामा गएका सडकहरूको सम्झौता अवधि सकिदासम्म आधा प्रतिशत पनि काम हुन नसकेको अवस्थामा छन् ।
काठमाडौं उपत्यकाका सडकहरू विस्तार गर्ने गरी ठेक्का प्रक्रियामा गएका विभिन्न १० सडकहरूमध्ये ४ ओटा सडक निर्माणको सम्झौता अवधी सकिएको छ । त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा, चावहिल–जोरपाटी–बागमती–साँखु, लगनखेल–सातदोबाटो, चक्रपथ–ज्ञानज्योति गणेश–विद्धतमार्ग सडक निर्माणको काम औषतमा ४० प्रतिशतसम्म मात्रै सम्पन्न भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका १० मध्ये चर्चामा रहेको त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तारको सम्झौता अवधि असोज महीनामा सम्पन्न भए पनि निर्माण कार्य भने सुस्त नै रहेको छ । काठमाडौं उपत्यकाका अधिकांश सडकहरू अहिले निर्माणाधिन अवस्थामा छन् । सर्वाेच्च अदालतको स्टे अडर, स्थानीयबासीको साङ्गठनिक विरोध र सडकको राइट अफ वे निर्धारणमा विरोध हुँदा काम अघि बढ्न सकेको छैन ।
मुलुकका सबै आयोजनाको काम सुस्त गतिमा अघि बढेको अवस्थामा काठमाडौंमै सञ्चालनमा आएका सडक आयोजनाहरू प्रगति अवस्था निकै कमजोर हुँदा यसको प्रत्यक्ष असर काठमाडौंबासीले दैनिक नै भोग्नु परेको छ । खासगरी त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी–बागमती–साँखु सडक समयमै सम्पन्न नहुँदा सरकारको विश्वासनीयतामाथि नै प्रश्न उब्जीएको छ । ठूला–ठूला आयोजनाहरू निर्माणका कुरा गर्दै आएको सरकारले अहिले भइरहेका र जनतासँग प्रत्यक्ष जोडिएको सडकको स्तरोन्नतीको कार्यान्वयनमा नै गम्भिरता देखाउन नसक्दा सरकारमाथि जनताको विश्वास नै हट्ने देखिएको छ ।
विभिन्न सडकमा सर्वाेच्च अदालतको स्टे अडर, राइट अफ वेमा देखिएको विवादले सडक सिमाङ्कनमा समस्या, सिमाङ्कन भएका ठाउँमा नयाँ र पुराना नापीको समस्याले घर भत्काउन समस्या, मुआब्जा वितरणमा ढिलाई, घर र जग्गा दुबैको मुआब्जा दिनुपर्ने दोहोर मुआब्जालगायतका कारण सडक विस्तारमा समस्या देखिदै आएको छ । यस्तै ठेकेदार पनि केही स्थानमा साइट क्लियर नभएको नाममा सडक विस्तार तथा स्तरोन्नतीको काममा विलम्ब गर्दै आएका छन् । अर्काे प्रमुख चुनौती भनेको अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयन नहुँदा सडक विस्तार र स्तरोन्नतीमा समस्या देखिँदै आएको छ ।
सडक विस्तार तथा स्तरोन्नति गर्दा बिजुली, खानेपानी, ढल, टेलिकमसँग पनि समन्वय गर्नुपर्ने अवस्था हुन्छ । तर, यी निकायबीच समन्वय नहुँदा र आफ्नो जिम्मेवारमा रहेको काम समयमै पुरा नगर्दा पनि समस्या देखिएको छ । अन्तर निकायबीच समन्वय र जवाफदेहीताको जिम्मेवारी नहुँदा पनि अनावश्यक रूपमा सडक विस्तार तथा स्तरोन्नतीको कामम लम्बीदैँ गएको छ । काठमाडौं उपत्यकाबासीले भोग्दै आएको सडकको समस्या समधानतर्फ सरकारले गम्भीर भएर सडक विस्तार र स्तरोन्नतिको कामलाई सम्पन्न गर्नतर्फ अग्रसर हुनु अत्यावश्यक भइसकेको छ ।
rajyalaxmishakya@gmail.com
(- जनधारणा साप्ताहिक)
















