शिक्षक सेवा आयोगमा आह्वान गरेको झण्डै १३ हजारको कोटामा दुई लाख २५ हजारभन्दा बढी आवेदन परेको छ । आयोगले झण्डै छ वर्षपछि खुल्ला प्रतियोगिताबाट पदपूर्तिको तयारी गरेको हो ।
सरकारले खुलाएको आयोगको विधानमा भएको व्यवस्थाअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका गरी १२ हजार ७३९ दरबन्दीमा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
आगामी असोज ११ गतेबाट तीन दिनसम्म हुने परीक्षामा प्राथमिक तहको रिक्त दरबन्दी ९ हजार ९ सय ९६ रहेको छ । त्यसैगरी निमावि तहमा १ हजार ६ सय ३५ र मावि तहका १ हजार १ सय ८ जना पद खाली छन् । शिक्षा शास्त्र विषय पढेर शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) प्राप्त व्यक्तिले प्रतिस्पर्धा गर्न पाउँछन् । आयोगको तथ्यांकअनुसार कार्यरतसहित सात लाख जनाले लाइसेन्स प्राप्त गरेका छन् ।
आयोगले अस्थायी शिक्षकलाई आन्तरिक खुल्ला पदपूर्ति गर्नका लागि परीक्षा गत असार २९ र ३० गते लिएको थियो । उक्त परीक्षा चार पटकसम्म रोकिएको थियो । करिब २५ हजार रिक्त दरबन्दी मध्ये २२ हजार ७६ शिक्षकले परीक्षा दिएका छन् । धेरैपटक परीक्षा स्थगित भएकाले सबै तहमा परीक्षार्थी संख्या पुग्न नसकेको आयोगले जनाएको छ ।


















