परीक्षामा कसरी राम्रो नतिजा हासिल गर्ने ? अपनाउनुस सामान्य अध्ययनविधि

369

परीक्षा नजिकिँदै जाँदा विद्यार्थीहरू कसरी पढ्ने भन्ने सन्दर्भमा अन्योलमा हुन्छन, तर यो छोटो समयमा पनि सामान्य अध्ययनविधि अपनाउँदा धेरै फाइदा लिन सकिन्छ । सबै विषयलाई आवश्यकताअनुसार कम–बढी समय छुट्याएर नियमित अध्ययन गर्नुपर्छ । आफूलाई गाह्रो लाग्ने विषयलाई प्राथमिकता दिएर अध्ययन गर्नुपर्छ ।

अध्ययन गरेको विषय स्मरण गर्न बेग्लै समय छुट्याउनुपर्छ, जसका लागि सरसर्ती नोट अथवा किताब हेर्नुपर्छ । योजनाबद्ध र नियमित अध्ययन गर्ने विद्यार्थीले परीक्षाको समयमा पाठ घोक्ने होइन, आफूले अध्ययन गरेको विषय एवं पाठका सम्बन्धमा चिन्तन गर्नुपर्छ ।

कसरी राम्रो नतिजा हासिल गर्ने भन्नेबारे धेरै विद्याथीहरु नतिजाको दौडमा लाग्दा तनावमा रहन्छन् । तर तनावमा रहनुभन्दा पनि विद्यार्थीमा आत्मविश्वास हुनु निकै नै आवश्यक छ । जस्तोसुकै कठिन प्रश्न सोधिए पनि, अप्ठ्यारो अवस्था आए पनि त्यसलाई समाधान गर्छु भन्ने आत्मविश्वास परीक्षार्थीमा हुनुपर्छ । कतिपय विद्यार्थीमा आफूलाई आएको उत्तर पनि लेख्न नसक्ने र अरूको हेर्ने बानी हुन्छ, त्यसले थप अन्यौल सिर्जना गर्छ । यस्तो बानी त्याग्नुपर्छ । कुनै–कुनै विद्यार्थी परीक्षा हलमा पुगेपछि आफूले जानेको कुरा पनि बिर्सन्छन्, डरले काम्ने, चिढ्चिढाउने प्रवृत्ति हुन्छ । यस्तो समस्या आत्मविश्वासको कमीले हुन्छ ।

जब परीक्षा आउँछ, विद्यार्थीलाई चिन्ताले सताउन थाल्छ । राम्रा विद्यार्थी कम नम्बर आउने हो कि भनेर चिन्ता गर्छन् भने मध्यम खालका विद्यार्थी उत्तीर्ण हुन नसकिएला कि भन्ने चिन्तामा हुन्छन् । आफूलाई कमजोर मान्ने विद्यार्थी कसरी परीक्षामा सामेल हुने विषयमै चिन्तित हुन्छन्, तर यसरी परीक्षाको घडीमा चिन्ता लिँदा सिकेको र जानेको कुरा पनि लेख्न नसकिने हुन्छ । तसर्थ सिकेको र जानेको कुरालाई नयाँ ढंगले प्रस्तुत गर्ने सोच बनाउनुपर्छ । त्यसले चिन्तालाई केही हदसम्म कम गर्छ । तनाव कम गर्दै कसरी परीक्षामा राम्रो अंक ल्याउने भन्नेतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । सकारात्मक सोच एवं परिश्रमको फल मीठो हुन्छ भन्ने भावना मनमा जगाउनुपर्छ ।

अभ्यासले मानिसलाई परीक्षाको तयारी गर्न सहज एंव सफल बनाउँछ । नयाँ–नयाँ कुरा खोज्न प्रेरित गरेझै अभ्यासले त्यो कुरालाई पूर्ण बनाउन मद्दत गर्छ । विशेष गरी गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बारम्बार अभ्यासले परीक्षामा सहज बनाउँछ । परीक्षा नजिकिँदै जाँदा पाठ्यपुस्तकभन्दा पनि विगतका परीक्षामा सोधिएका प्रश्नपत्रहरूको संकलन गरी अभ्यास गर्नु फलदायी हुन्छ । आफूले अध्ययन गरिसकेपछि ती विषयको अभ्यासलाई पटक–पटक दोर्होयाउनु लाभदायक हुन्छ । यी सम्पूर्ण कुराहरुमा ध्यान दिएमा मात्रै परीक्षामा सफल हुन सकिन्छ ।

घोकेर पढ्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ ।

लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने बिधी अपनाउनु सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्माविश्वास पनि बढ्छ । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

परीक्षा तयारीका लागि केहि उपाय

– उत्तर लेख्ने भन्दा पनि प्रश्न बनाउने अभ्यास गर्न सकिन्छ । आफैले प्रश्न बनाएर त्यसको हल गर्ने अभ्यास गरौ ।

– सामूहिक पठन बिधी पनि प्रभावकारी हुन्छ । मिल्ने साथीहरुको समूह बनाएर सम्बन्धित बिषयमा तर्क(बितर्क गर्ने अभ्यास गरौं । यसरी प्राप्त गरेको ज्ञान दीगो पनि हुन्छ ।

– पाठ घोक्ने प्रयास नगरौं । बरु पढेको कुरालाई बुझ्ने वा स्मरण गर्ने अभ्यास गरौं ।

– आफुलाई अप्ठ्यारो लाग्ने बिषयमा बढी समय दिनुपर्छ र मिहेनत पनि गर्नुपर्छ । तर, त्यसका लागि चिन्तित हुनुपर्दैन । आफुले बुझेको र जानेको कुरालाई राम्ररी प्रस्तुत गर्न सकियो भने काफी हुन्छ ।

– आत्माविश्वासले तपाईको परीक्षामा ठूलो उर्जा मिल्छ । परीक्षासँग डराउने वा हतास हुने होइन, परीक्षालाई अवसरको रुपमा लिनुपर्छ ।

कसरी लेख्दा राम्रो अंक प्राप्त हुन्छ ?

प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढ्नुपर्छ । अतः त्यसमध्ये आफुलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्नुपर्छ । यसले आफुमा आत्माविश्वास बढ्छ । बिर्सिएका कति कुराहरु पनि स्मरण हुन्छ । प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट बिद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी अंक प्राप्त हुन्छ । उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यतीमात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here