ट्राफिक प्रहरीलाई सुँघेरै मापसे जाँच गर्नुपर्ने बाध्यता

320

बाँके / ट्राफिक प्रहरीलाई मादक पदार्थ सेवन (मापसे) जाँच गर्न समस्या भएको छ । मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।

प्रदेश नं ५ ट्राफिक कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकी ब्रेथलाइजर मेशिन नहुँदा सुँघेरै जाँच्नुपर्ने अवस्था रहेको बताउनुहुनछ । उहाँले भन्नुभयो, “ब्रेथलाइजर मेशिन अभावमा ट्राफिक प्रहरी र नागरिकबीच वैमनस्यता सिर्जना हुने गरेको छ । मापसे नगरेका सर्वसाधारण अनावश्यक दुःख दिएको भन्दै ट्राफिक प्रहरीसँग रिसाउने गरेका छन् ।”

सुँघेर जाँच गर्नुगर्दा मापसे गरे पनि नगरेको भनेर सर्वसाधारणले जिद्दी गरेपछि ट्राफिक प्रहरीले थप समस्या झेल्नुपरेको छ ।

मुख नजिकै नाकले सुँघ्नुपर्दा यदि चालकलाई घातक सरुवा रोग लागेको भए मारमा पर्ने जोखिम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकाया बताउनुहुन्छ ।

“ब्रेथलाइजर मेशिन नहुँदा सधैँ नागरिकसँग विवाद हुने गरेको छ । जाँचका क्रममा सुँघ्न खोज्दा सवारीसाधनको चालकले विवाद गर्ने भएका कारण समस्या भएको छ,” रोकायाले भन्नुभयो, “जाँचका क्रममा जबर्जस्ती गर्न मिल्दैन ।”

सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीको स्वास्थ्यसमेत जोखिममा पर्ने गरेको उहाँको भनाइ छ । “जाँचमा खटिएका ट्राफिक प्रहरीलाई सरुवा रोगको जोखिम छ,” रोकायाले भन्नुभयो । स्वाश बाहिर फाल्न लगाएर सुँघ्नुपर्ने भएकाले सरुवा रोग सर्ने सम्भावना अत्यधिक रहन्छ । सुँघेर मापसे जाँच गर्दा सरुवा रोग लाग्न सक्ने डर हुँदाहुँदै पनि पर्याप्त प्रविधि नभएका कारण जोखिम मोल्न ट्राफिक प्रहरी बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here