डा.दीपेन्द्र रोकाया
हिजो आज सामाजिक सञ्जालमा सरकारबारे निराशा उत्पन्न गर्ने विचारहरू प्रवाह भइरहेका देखिन्छन् । हो मा हो मिलाउँदै लाइक गर्ने र कमेन्ट थप्नेहरूको हुुल पनि बढ्दो छ । यसो नहुनुपर्ने हो । किनकि यिनै प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली जनतालाई भूकम्पले भन्दा पनि ठुलो शास्ती खेप्न परेको नाकाबन्दी थियो । त्यो नाकाबन्दीमा प्रधानमन्त्री ओलीले राष्ट्रियताप्रति अडान लिएका कारण नेपाली जनताले सास्ती खेपेर बसे, अझ भनौ प्रधानमन्त्री ओलीको लोकप्रियता निकै बढ्यो । संकटका बेला बढेको लोकप्रियताका आधारमा आम निर्वाचनमा जनताबाट बहुमत पनि प्राप्त भयो । यसलाई अप्ठेरोको बेला बढेको राजनैतिक उचाईको रूपमा हेर्न सकिन्छ ।
यतिखेर नेपालमा दुईतिहाइ बहुमत प्राप्त सरकार छ । संसारको अगाडि नेपालमा कम्युनिष्ट सरकार छ भन्ने छ, तर नेपाली जनताको नजरमा कम्युनिष्ट सरकार छ जस्तो बोध नभईरहेको अनुभव सुन्न परिरहेको छ । यो अवस्थामा राज्य प्रदत्त अधिकारलाई हेर्दा प्राप्त अधिकार संसारमा यति धेरै कहाँ प्राप्त होला जस्तो भान हुन्छ । तर व्यावहारिक रूपमा पुराना सम्बन्ध र आदतले नेपालमा चल्दै आएका मान्यताहरूले निरन्तरता पाएका छन् । गाउँ गाउँसम्म सिंहदरवार पुग्यो भनेको त भ्रष्टाचारीहरू बढाउने संरचना बन्यो भन्न थालिएको छ । हुन त नेपाली समाज नकारात्मक भावनाबाट ग्रसित हुनाले पनि यसो भएको होला ! अर्को कुरा नेपालको मिडियाले पनि यस्तै नकारात्मक विषय मात्र समाचार हुन् भन्ने बुझाइराखेको पाउनाले समाजमा सकारात्मक कुराभन्दा नकारात्मक कुरा बढी प्रचारमा आइरहेका छन् ।
नेपाली समाज सामन्ती धरातलभन्दा माथि उठेको छैन । यसो हुनाले ठुलाबडाले भनेपछि जस्तो सुकै काम सम्भव हुन्छ तर त्यही कुरा श्रमजीवीहरूले जति मिहेनतका साथ गरे पनि सम्भव हुँदैन । यहाँ सिप र क्षमता राम्रा हुनपर्नेमा हाम्रा मात्र राम्रा हुने जमाना छ । यसैले गर्दा पनि यसो हुन गएको होला ! वास्तवमा यसैले पनि यहाँ भन्नलाई मात्र कम्युनिष्ट सरकार हो भन्न थालिनु दुःखको विषय हो । यसै हप्तै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको निर्माणमा महान नेता किम इल सुङद्धारा अघि सारिएको जुछे विचारबारे गरिएको एक कार्यक्रममा सहभागी हुँदा अनुभव भयो कि देशका नेताहरूले के गरेमा देश बन्न सक्तछ ?
सन् १९०५ देखि जापानको औपनिवेशिक अवस्थामा रहेको मुलुकलाई किम इल सुङको नेतृत्वदायी भूमिकाका कारण देशले सन् १५ अगष्ट १९४५ मा जापानी उपनिवेशबाट स्वतन्त्र हुन पाएको थियो । त्यसबेला उत्तरमा सोभियत सेना र दक्षिणमा अमेरिकी सेनाको उपस्थितिले गर्दा एउटा कोरिया दुई देशमा विभाजित हुनु परेको थियो । त्यतिबेला दक्षिण कोरियामा छिरेको अमेरिकी साम्राज्यवादी फौज आजका दिनसम्म छ र यसले गर्दा कोरिया प्रायःद्विपमा तनाव उत्पन्न गराइरहेको छ । एकै कोरियाका दाजुभाइ तथा दिदीबहिनी छुटिएर बस्न परेको छ । किम इल सुङले त्यतिबेलै कोरिया एकीकरणको प्रस्ताव अगाडि सार्नु भएको थियो । त्यसको लामो समयपछि आएर उत्तर–दक्षिणको वार्ता भएको देख्न पाएका छौ ।
त्यसो त सन् १९५० देखि १९५३ सम्म भएको कोरिया युद्धमा अमेरिकी साम्राज्यवादी फौजले सिंगो उत्तर कोरियालाई ध्वस्तै पारेको थियो । सुनिएअनुसार त्यतिखेर उत्तर कोरियाको राजधानी प्याङयोङको एक घर मात्र बचेको थियो । नेता किम इल सुङले साम्राज्यवादीहरूका खुनी नङ्ग्राले चिथोरेको देशलाई एउटा संकल्पका साथ पुनर्निर्माण गर्नतिर लाग्नुभयो । यही क्रममा विकास भएको वैचारिक हतियार जुछे विचारधारा हो । कोरियामा श्रमिक पार्टीले आफ्नो देशको विशेषताअनुसार प्रत्येक क्षेत्रमा आत्मनिर्भर हुने नीति अपनाउने क्रममा यो नीतिको विकास गरेको पाइन्छ । वास्तवमा देशमा कसरी विकास गर्न सकिन्छ र आफ्नो समृिद्ध कहाँबाट हुन सक्छ भन्ने विचार नै जुछे विचारधारा हो । यो स्वावलम्बी बन्ने अभियान पनि हो ।
यसै अभियानका कारण आज प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले विश्वमा दादागिरी मच्चाइरहेको अमेरिकी शक्तिका अगाडि चौतर्फी घेराबन्दीका बीचमा पनि कोरियाका जनताले आफ्नो खुट्टामा आफै उभिएर बोल्न सकिरहेको छ । जुछे विचार भनेकै मानिसलाई केन्द्रमा राखेर विकास भएको कोरियाली प्रारूपको माक्र्सवादी विचारधारा हो । यसले आम किसान, मजदुर र बुद्धिजीवीको एकतामा जोड दिने गरेको छ । यसै विचारधाराको जगमा प्रजातान्त्रिक जन–गणतन्त्र कोरियामा तीव्र गतिमा विकासको वायुपंखी घोडा दौडाउन सफल भएको हो भन्ने कुरा कोरियनहरूले भन्दै आएको पाइन्छ । । यसै धरातलमा उभिएर विकास गरिएको संगुन नीतिका कारण केही महिना अघि मार्शल किम जोङ ऊनले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै बसेर वार्ता गर्ने अवस्था आयो ।
यहाँ मैले यी सन्दर्भहरू उल्लेख गरिरहँदा के बोध हुन्छ भने देशको नेतृत्व जनताप्रति जवाफदेही भयो भने चौतफी घेराबन्दी भए पनि टिकाउन सकिन्छ । जनताले साथ दिन्छन् । यतिबेला सरकारको आलोचना सुन्नपर्ने अवस्था आउनु भनेको बहुमतको घमण्डले फुल्नु र एकातिर कामकाज गर्न स्थायी सरकारको दम्भ देखाउनु अर्कातिर अर्कर्मण्यतामा फसी सरकारले नयाँ रफ्तार लिन नसकेपछि यस्ता आलोचना आउने गरेको देखिन्छ । अझै पनि केही बितेको छैन । यो सरकारले गर्ने कामको प्राथमिकता र पुनर्संरचनाको अभ्यास सही तरिकाले गर्न हिम्मतका साथ अघि बढ्न पर्दछ । यदि त्यस प्रकारको स्प्रीड कायम गर्न सकिएन भने अप्ठेरो बेलामा पाएको लोकप्रियता सजिलो बेलामा गुम्न सक्छ । यतिबेलाका गतिविधिहरूले यही संकेत गरेकाले विभिन्न पक्षबाट द्वन्द्व सिर्जना गराउने प्रयास भए पनि सरकारले जनताप्रति उत्तरदायी भई दिदा पुग्छ ।
जनधारणा साप्ताहिक


















