२०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेबमोजिम एनआरएनले नागरिकता पाउने व्यवस्था गरिएको छ ।
सरकारका तर्फबाट गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका (गृहमन्त्री रामबहादुर थापा बादल विदेश भ्रमणमा रहेकाले) उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बुधबार संसदमा दर्ता गराएको नागरिकता सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयकमा एनआरएनले नागरिकता पाउने व्यवस्था गरिएको हो। विधेयकमा उक्त व्यवस्था गरिएको हो।
नेपालको संविधानले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चितताका आधारमा ल्याइएको ‘नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।
गैर आवासीय नेपाली नागरिकले पाउने केही अधिकार भने प्राप्त गर्न सक्ने छैनन्। गैर आवासीय नागरिकताबारे गरिएको व्यवस्थामा लेखिएको छ, “विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।”
गैर आवासीय नागरिकता लिन चाहने व्यक्तिले बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र गृहमन्त्रालयसमक्ष पेश गर्नुपर्ने हुन्छ। यी प्रमाण पुगेपछि मन्त्रालयले एनआरएनलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको छ।
आमाको नामबाट वंशजका आधारमा नागरिकता नेपाली नागरिक महिलाबाट जन्मेको व्यक्तिको बाबु पहिचान हुन नसकेको अवस्थामा उक्त व्यक्तिले आमाको नामबाट वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। तर, पछि गएर बाबु विदेशी हो भन्ने पहिचान भएमा भने उक्त व्यक्तिले वंशजको आधारमा प्राप्त गरेको नागरिकता खारेज हुनेछ। त्यसपछि उक्त व्यक्तिले बाबुको नामबाट विदेशी नागरिकता नलिएको भनि स्वघोषणा गरेमा अंगिकृत नागरिकता लिन सक्नेछ।
सरकारले नागरिकता सम्बन्धि गर्न लागेको नयाँ व्यवस्था अनुसार बसाइँ सर्ने व्यक्तिले नयाँ ठाउँको पहिचानमा नागरिकता लिन पाउने छ। यस्तो अवस्थामा पहिले पुरानो ठाउँबाट लिएको नागरिकता भने सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ। नयाँ ठाउँको नागरिकता लिँदाका बखत पुरानो ठाउँको नागरिकता फिर्ता गर्नुपर्ने हुन्छ। बसाइँ सरेर नयाँ ठाउँमा जानेहरूले नयाँ ठाउँको पनि नागरिकता लिने र पुरानो ठाउँको नागरिकता पनि साथमै राख्ने कार्यलाई हतोत्साही गर्नका लागि यस्तो व्यवस्था गर्न लागिएको सरकारले प्रष्ट पारेको छ।

















