‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका सहकार्य गर्दै

521

झापा/ फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् ।

झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गर्दै कुहिने फोहर, प्लास्टिकजन्य फोहर, कागज र धातुजन्य फोहर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहरबाट बायोग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ ।

बायोग्यास उत्पादनका लागि चार हजार घनमिटर क्षमताको प्लान्ट स्थापना गरिने भएको छ । सो कार्यका लागि रु १६ करोडको लागत लाग्ने र विश्व बैंकले ४० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ६० प्रतिशत नगरपालिका र स्थानीयवासीबाट लगानी गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

प्लान्ट स्थापनाका लागि कनकाई नगरपालिका–२ मा तीन बिगाहा जग्गासमेत व्यवस्थापन गरिएको छ । कुहिने फोहरबाट मिथेन ग्यास निकालेर सिलिण्डर वा पाइललाइनमार्फत घरघरमा पु¥याइने ती नगरपालिकको योजना छ ।

कुहिने फोहर हप्तामा दुई पटकसम्म सङ्कलन गरिने र त्यसका लागि टोलस्तरीय कमिटी गठन गरिएको छ । कनकाई नगरपालिकामा २३ वटा समिति गठन गरिएको छ भने बिर्तामोड र अर्जुनधारामा गठन प्रक्रियामा रहेको छ ।

बढ्दो शहरीकरणसँगै फोहरमैला चुनौतीका रुपमा देखिएकाले त्यसको दीर्घकालीन व्यवस्थापन गर्न सहकार्य गरेर अघि बढ्न लागेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले जनाउनुभयो ।

प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्नका लागि रु तीन करोडको लागतमा प्लान्ट स्थापना गरिने भएको छ । जसका लागि प्रदेश नं १ सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । पाइरोलाइसिस प्रविधिबाट एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।

फोहर व्यवस्थापनका लागि आफूहरुले अघि सारेको योजना कति प्रभावकारी हुन सक्छ भन्ने विषयमा अध्ययन गर्न आबद्ध नगरपालिकाको एक टोली अध्ययन गर्न चीन वा भारत जाने तयारीमा रहेको छ ।

लगानी खेर जान्छ कि जाँदैन, उत्पादनले बजार पाउँछ पाउँदैन, अरु देशमा यसको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न टोली चीन वा भारत जाने तयारीमा रहेको कनकाई नगरप्रमुख पोखरेलले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here