महङ्गी विरुद्ध मोहन वैद्य आक्रोशित

502

काठमाडौं । सरकारद्वारा जनविरोधी क्रियाकलाप गरिएको आरोप लगाउँदै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रेस वक्तव्य मार्फत विरोध जनाउनु भएको छ । वैद्यले जारी गर्नुभएको प्रेस वक्तव्यमा भन्नुभएको छ – ‘ सरकारद्वारा एकातिर सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउने, अनि समृद्ध तथा सुखी नेपाली बनाउने नारा लगाइएको छ भने अर्कोतिर जनतालाई दिइनु पर्ने आवश्यक सेवा सुविधाबाट पनि बञ्चित गरिएको छ । राजस्व तथा कर उठाउनेबारे संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकारलाई प्रष्ट पार्ने र त्यस सम्बन्धी आवश्यक ऐन, कानुन तथा नियमावली निर्माण गर्ने काममा खासै ध्यान दिइएको छैन । त्यतिमात्र होइन देशमा महंगी दिनप्रतिदिन बढ्दै गएको छ, बरोजगारीको समस्या अत्यन्तै विकराल र भयावह बन्दै गएका छन्, महिलाहरुको हत्या हिंसा र बलात्कारका घटना अत्यन्तै तीव्र रुपमा बढिरहेका छन् । मजदुरहरुको बेतन मागलाई अत्यन्तै न्यून बनाइएको छ र उनीहरुलाई आवश्यक सुविधाबाट पनि बञ्चित गरिएको छ । आफूलाई वाम बताउने सरकार यस प्रकारका समस्याहरुलाई गम्भीरतापूर्वक लिई समाधानतर्फ होइन बल्झाउने तर्फ उद्दत भइरहेको छ । हाम्रो पार्टी सरकारका यसप्रकारका जनविरोधी क्रियाकलापको दृढ विरोध गर्दछ । ‘

वक्तव्यको अन्त्यमा भनिएको छ – ‘हाम्रो पार्टी उत्पीडित वर्ग र जनतामाथि असैह्य तथा धान्नै नसकिने गरी लगाइएको राजस्व तथा करभार हटाउन र संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन, महंगी नियन्त्रण गर्न, बेरोजगारीहरुलाई रोजगारी र बेरोजगार भत्ता दिन, महिलाहरुमाथि हुँदै आएका हत्या, हिंसा तथा बलात्कारका जघन्य अपराध रोक्न तथा दोषीहरुमाथि कडा सजाय दिन, मजदुरहरुको बेतन वृद्धि तथा उनीहरुका मागलाई सम्बोधन गर्न सरकारसित विशेष माग गर्दछ । साथै, उक्त विषयहरुलाई लिई आन्दोलन संगठित गर्नका लागि हाम्रो पार्टी देशभक्त, जनवादी तथा वामपन्थीहरुसित विशेष अनुरोध गर्दछ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here