काठमाडौँ/ राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा सूचनाको हकको विषयमा कानुनी प्रक्रियाको अनुसरण गरी सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्।
‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरातर्फ समेत सजग गराउँछु।’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्दै सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तव्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् ।
सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित विषयमा सूचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
‘सुशासनलाई मजबुत बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको मूल ध्येयलाई साकार तुल्याउन सरकार अघि बढेको छ।’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।

















