इटहरी/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा वल्डवाइड टेक्निकल संस्थाले नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गर्ने जनाएको छ ।
वल्डवाइडले सन् २०१४ देखि २०१९ भित्रमा श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी)को सहकार्यमा भइरहेको सीप विकास परियोजना कार्यक्रमका विषयमा शनिबार इटहरीमा सम्बन्धित सरोकार भएकासँग एकदिने अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
नेपाली श्रम बजारमा रोजगारीको अवसर छ तर दक्ष जनशक्तिको आपूर्तिको अभाव छ भन्ने विषयसँग तालमेल गर्दै आपसमा रोजगार प्रवद्र्धनमा कसरी सँगसँगै मिलेर काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्न उक्त अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
अन्तक्र्रिया कार्यक्रममा वल्डवाइड संस्थाका अध्यक्ष नारायणबाबु श्रेष्ठले सीप भएका दक्ष जनशक्ति उत्पादन गर्दै सेवा प्रदायक संस्थाबीचमा सहकार्य गरेर नेपालको श्रम बजारलाई मजबुद बनाउनका लागि आपसी सहकार्य हुन जरुरी रहेको जनाए ।
अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएका सुनसरी, मोरङ र झापा जिल्लाका सेवा प्रदायक निजी संस्थाले सीपसहितको दक्ष जनशक्ति आपूर्तिकर्ता संस्थाबीच आवश्यकताको सिद्धान्तमा आधारित रहेर सीपयुक्त दक्ष जनशक्ति उत्पादनको पाठ्यक्रम हुनुपर्नेमा जोड दिएका थिए ।

















