देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

111

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरि, शिवपुरी, नगरकोटलगायत अग्ला डाँडामा हिमपात भएको छ।

काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले शुक्रबार निकै जाडो महसुस गरिएको छ। शुक्रबार काठमाडौँको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्रिसेल्सियस रहेको छ।

शुक्रबार सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ। त्यस्तै, घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ। शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, मधेस, बागमाती र गण्डकी प्रदेशका केही स्थानमा मेघगजर्न/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here