काठमाडौं / पर्यटक भिसा मात्र होइन बिजनेस भिसामा नेपालमा बस्ने विदेशीसमेत धर्म प्रचारमा संलग्न भएको पाइएको अध्यागमन विभागले जनाएको छ ।
ललितपुरको पुल्चोकमा सिङ–मा फुड कोर्टका सञ्चालक र कर्मचारीसमेत धर्म प्रचारमा लागेको खुलेको थियो । त्यही रेस्टुरेन्टको नाममा भिसा लिएकी इन्डोनेसियाकी महिला रिता गोंगा र उनका फिलिपिनी श्रीमान् दी भेरा रिचार्ड नेपालमा क्रिस्चियन धर्म प्रचारमा संलग्न रहेको खुलेको थियो ।
उनीहरूले कुमारीपाटीमा ‘एभ्री नेसन चर्च’ चलाउँदै आएका थिए । विभागको अनुसन्धानमा उनीहरू धर्म परिवर्तनकै लागि नेपालमा बसेको खुलेपछि जरिवान गरी गत असारमा निष्कासन गरिएको थियो । नेपालमा बिजनेस भिसामा बस्दै आएका सयभन्दा धेरै व्यक्ति इसाई धर्मको प्रचार तथा धर्म परिवर्तनको ‘धन्दा’मा सक्रिय रहेको विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
रेस्टुरेन्टका साथै भाषा प्रशिक्षण केन्द्रजस्ता साना लगानीका कम्पनी खोलेर विदेशीहरू नेपालको अध्यागमन कानुनविपरीत अवैध गतिविधिमा संलग्न छन् । विदेशी नागरिकमाथि प्रभावकारी अनुगमन हुन नसक्दा यस्ता अवैध गतिविधि बढ्दो छ । नेपालमा दुई हजारभन्दा धेरै विदेशी बिजनेस भिसा लिएर बसेको तथ्यांक अध्यागमन विभागसँग छ ।
बिजनेस भिसा लिन नेपालमा कम्तीमा ५० लाख रुपैयाँबराबरको लगानी गर्नुपर्छ र त्यसरी लगानी गरेको कम्पनीमा अनुगमन गरेपछि मात्र बिजनेस भिसा दिन सकिने प्रावधान छ । तर, भिसाका लागि सिफारिस गर्ने उद्योग विभाग र भिसा दिने अध्यागमन विभागले विस्तृत अध्ययन र अनुगमन नगर्दा धर्म प्रचारको विकृति बढेको अधिकारीहरू बताउँछन् ।
अनुगमन तीव्र बनाउने तयारी
सरकारले हालै विदेशीहरूको नियमनका लागि निर्देशिका बनाएको छ । गृह मन्त्रालयले ‘विदेशी नागरिक अनुगमन निर्देशिका, २०७५’ केही महिनाअघि ल्याएको हो । निर्देशिकाअनुसार विदेशी नागरिकमाथि नियमनमा कडाइ गर्न लागिएको विभागका प्रवक्ता विष्णुहरि उपाध्यायले बताए । विभागले हालै विदेशीले सञ्चालन गरेका केही कारखानामा अनुगमनसमेत गरेको छ । निर्देशिकाले अध्यागमन अधिकारीले छापा हान्न सक्ने र पक्राउ पुर्जीसमेत दिन सक्ने अधिकार दिएको छ ।
तान्त्रिकको भेषमा विदेशी जोडी, हिरासतमै सुत्केरी
नेपालमा तीन वर्षदेखि अवैध रूपमा बस्दै जर्मन नागरिक अर्ने बेन्जामिन र उनकी चिनियाँ श्रीमती साइमेन झाओ अहिले अध्यागमन विभागको हिरासतमा छन् । उनीहरूलाई निष्कासनको तयारी हुँदै गर्दा झाओ एक साताअघि अध्यागमनको हिरासतमै सुत्केरी भएकी छिन् । ३५ दिनदेखि हिरासतमा रहेको यो जोडी विनाभिसा चार वर्षदेखि नेपालमा रहेको खुलेको छ ।
तीन वर्षअघि स्पेनमा भेट भएपछि उनीहरू प्रेममा परेका थिए । त्यसपछि झाओलाई लिएर नेपाल भित्रिएका बेन्जामिन आफूलाई तान्त्रिक बताउँदै विभिन्न ठाउँ घुम्दै आएका थिए । उनीहरू २४ असोजमा काठमाडौंमा पक्राउ परेका हुन् । बेन्जामिनलाई चार लाख ९८ हजार तथा झाओलाई चार लाख ४१ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जर्मन युवकसँग बिहे गरेकाले आफू जर्मनी नै जाने झाको चाहना भए पनि जर्मन दूतावासले ट्राभल डकुमेन्ट नदिएपछि उनले स्वदेश फर्किन चिनियाँ दूतावासमा निवेदन दिएकी छिन् । दूतावासबाट निर्णय नहुँदा उनको हिरासत बसाइ लम्बिएको हो । नयाँ पत्रिका
















