काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद् बैठक २३ मंसिरका लागि बोलाएका छन् । यसअघि स्थगित भएको परिषद् बैठक मंसिर महिनाभित्र सम्पन्न हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सञ्चारमाध्यमलाई जनाएका छन्।
प्रधानमन्त्रीले यसअघि २१ भदौमा पोखरामा बसेको मुख्यमन्त्रीहरूको भेलामा गृहकार्य नपुगेको भन्दै बैठक रोकेका थिए । मुख्यमन्त्रीहरूले त्यसबेला केन्द्र सरकारले असहयोग गरेको भन्दै खुलेर आलोचना गरेपछि रुष्ट प्रधानमन्त्रीले अकस्मात् परिषद् बैठक स्थगित गरेका थिए । त्यसयता मुख्यमन्त्रीहरूले कर्मचारी, बजेट व्यवस्थापनमा असहयोग गरेको भन्दै केन्द्रको झन् आलोचना गरेका छन् ।
संविधानको धारा २३४ मा अन्तरप्रदेश परिषद् गठन हुने व्यवस्था छ । संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच उत्पन्न हुने राजनीतिक विवाद समाधान गर्न परिषद् गठन गर्ने व्यवस्था राखिएको हो । यसको अध्यक्षता प्रधानमन्त्रीले गर्नेछन् । परिषद्मा केन्द्र सरकारका गृह र अर्थमन्त्री तथा मुख्यमन्त्रीहरू सदस्य रहने व्यवस्था छ । आवश्यकताअनुसार बैठक बस्ने उल्लेख छ ।


















