सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई भदौ २४ देखि लागु हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रधनसेनापति राजेन्द्र क्षत्री कार्यकाल सकिनु अघि एक महिना बिदामा बसेपछि थापाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका छन् । साउन १० मा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई साउन २४ देखि लागु हुने गरी कामु प्रधानसेनापतिमा नियुक्त गरेको थियो । प्रधानसेनापति क्षत्री साउन २४ बाट बिदामा बसेका छन् ।
नवनियुक्त प्रधानसेनापति थापा वि।सं।२०१७ साल भदौ २५ गते लमजुङको गाउंशहरमा जन्मिएका हुन् । उनी वि.सं २०३६ सालबाट अधिकृत क्याडेटमा भर्ना भई वि।सं।२०३७ साल मंसिर २७ गते गोरख बहादुर गणबाट सहायक सेनानीहुँदै नेपाली सेनामा प्रवेश गरेका थिए । द्वन्दकालमा पश्चिम पृतना हेडक्वार्टरको सह चिफ अफ स्टाफ (अपरेशन) को महत्वपुर्ण तथा चुनौतिपुर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।
सैनिक परिवेक्षकको रुपमा १९९४ मा पूर्व युगोस्लाभाकिया स्थित यूएनपिआरओएफओआरमा कार्यरत रहेका थिए । संयुक्त राष्ट्र संघको नेपाल स्थित अनमिन मिशन रहंदा त्यस अन्तर्गतको संयुक्त सुपरिवेक्षक समन्वय समितीमा नेपाल सरकार तथा नेपाली सेनाको प्रतिनिधीत्व गर्ने सह–अध्यक्षको भुमिका निर्वाह गरेका उनले २०७१ साल माघ २५ गतेदेखि २०७२ माघ २४ सम्म संयुक्त राष्ट्र संघको मध्यपूर्व स्थित ईजरायल तथा सिरियाको सिमानास्थित गोलन हाइटमा यूएनडिओएफ मिसनको हेड अफ मिसन तथा फोर्स कमाण्डर जस्तो महत्वपुर्ण जिम्मेवारी सम्हालेका थिए ।


















