काठमाडौं/ काभ्रे जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई म्याद थप गरिएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले २४ घन्टा भित्रै सर्वोच्चमा उपस्थित गराउन सरकारका नाममा आदेश गरेको छ ।
आज सोमबार माननीय न्यायाधीश इश्वर खतिवडाको इजलासले यस्तो आदेश गरेको हो । चन्दा उठाएको आरोपमा अपराधी ठहर गर्दै गृह मन्त्रीको आदेशमा अत्यन्त अपमानजनक ढङ्गले प्रहरीबाट पक्राउ गरिएका प्रकाण्डलाई सर्वोच्च अदालतले चन्दा उठाएको आधार प्रमाण प्रहरीले पेश गर्न नसकेको ठहर गरि थुनाबाट मुक्त गर्न गत शुक्रबार आदेश गरेको थियो ।
सर्वोच्चको आदेश लगत्तै छुटेका प्रकाण्डलाई राष्ट्रिय मानव अधिकार आयोगले जिम्मा लिन खोज्दा पनि पहरीले नमानेर जबरजस्ती सर्वोच्च परिसरबाटै पून ः गिरफ्तार गरि लगेको थियो ।
सर्वोच्चबाट थुनामुक्त गरिएका प्रकाण्डलाई काभ्रे जिल्ला अदालतमा म्याद थप गर्न आइतबार प्रहरीले लगेको थियो । काभ्रे जिल्ला अदालतले प्रकाण्डलाई थप ३ दिन थुनामा राखी अनुशन्धान गर्न आदेश गरेको थियो । काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको बनावटी आरोप प्रकाण्डलाई लगाइएको नेकपा सूत्रले जनाएको छ ।


















